ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रसुवामा लोठसल्ला रोपणको तयारी

२०७७ माघ, ८  
वाग्मती प्रदेश
NA

रसुवा । निजी स्वामित्वको खाली जमीनमा लोठसल्लाका बिरुवा रोपण गराउन जागरण कार्य अगाडि बढाइएको छ । हिमाली क्षेत्रमा बाँझो बसेका र लगाएका खेती जनावरले नोक्सान पुर्‍याउने जंगल छेउका जमीनमा लोठसल्लाको खेती गर्दा उपयुक्त हुने वन प्राविधिकले सुझावसमेत दिएका छन् ।    
 
रोपण गरेको सात/आठ वर्षदेखि लोठसल्लाको पातले निरन्तर आम्दानी दिन थाल्ने र कामको खोजीमा अन्यत्र जानुभन्दा घरमै बसेर राम्रो आम्दानी लिन सकिने भएकाले रोपणकार्यमा सहभागी हुन आग्रह गरिएको डिभिजन वन अधिकृत रामकृष्ण केसीले बताए ।     

क्यान्सर रोगको औषधोपचारका लागि प्रयोग हुने लोठसल्लाको पात विक्रीबाट प्रतिकेजी २५० देखि २७५ रुपैयाँसम्म आम्दानी हुने र एकपटक रोपेको बिरुवाले निरन्तर आम्दानी दिइरहने डिभिजन कार्यालय रसुवाले बताएको छ । समुद्री सतहबाट एक हजार ३०० देखि २ हजार २०० मिटरको उचाइसम्म रोपण गर्न सकिने लोठसल्लाको प्रतिबोटले १० केजीसम्म पात उत्पादन गर्ने र एक रोपनीमा ७० बिरुवा लगाउन सकिने बताइएको छ ।

लोठसल्लाको बिरुवा रोपण, संरक्षणको तौरतरिका सिकाउने प्राविधिक ज्ञान डिभिजन वन कार्यालय रसुवामै भएकाले आफ्ना निजी जमीनमा रोप्न इच्छुक व्यक्तिले सम्पर्क राख्नसमेत आग्रह गरिएको छ ।    

यस्तै टिमुर तथा तेजपातको खेतीले पनि राम्रो आम्दानी लिन सकिने भन्दै डिभिजन वन अधिकृत केसीले यस्ता बिरुवा रोपणमा प्राथमिकता दिइने बताए । टिमुरबाट प्रतिकेजी ६०० र तेजपातबाट प्रतिकेजी ६० रुपैयाँ आम्दानी लिन सकिने भएकाले रोपण कार्यमा क्रमशः जागरण बढ्दै जाने अपेक्षा राखिएको वन कार्यालयले बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्