ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ब्याज अनुदान कार्यक्रम : धितो राख्न नसक्दा वञ्चित भए किसान

२०७७ माघ, ८  
कर्णाली प्रदेश
NA
author avatar आकाश तारा बयक

सुर्खेत । कर्णाली सरकारले किसानका लागि ल्याएको ब्याज अनुदान कार्यक्रमबाट निम्न वर्गका कृषकले लाभ लिन सकिरहेका छैनन् । अधिकांश किसानले धितो राख्न नसक्दा ब्याजमा अनुदान कार्यक्रम प्रभावकारी बन्न सकेको छैन । किसानलार्ई अनुदानको रकम लिन प्रक्रियागत झन्झट, प्राविधिक ज्ञानको कमी लगायत समस्याले कठिनाइ हुने गरेको छ ।

ऋण लिन बैंकमा अनिर्वाय रूपमा धितो राख्नुपर्ने भएपछि यसको लाभ आफूहरूले भन्दा पनि धनी र हुनेखाने व्यक्तिले मात्रै लिने गरेको गुनासो किसानहरूको छ । ‘सरकारले ब्याजमा सहुलियत दिए पनि हामी धितो राखेर ऋण लिन सक्दैनौं,’ वीरेन्द्रनगर–लाटिकोइलीका कृषक सुमित्रा चौधरीले भनिन्, ‘त्यसैले सरकारले ल्याएको ब्याजमा अनुदान कार्यक्रमबाट अधिकांश ठूला लगानीकर्ताले मात्रै फाइदा लिन्छन् ।’ किसानसँग धितो राख्ने सम्पत्ति नहुने भएकाले ऋण लिएर कृषि व्यवसाय प्रवर्द्धन गर्न नसकिएको उनको भनाइ छ । उनका अनुसार कतिपय किसानले अनुदान पाए पनि कागजात मिलाउन नसक्दा अप्ठ्यारोमा परेका छन् । नाम मात्रको कृषि व्यवसाय गरेका कतिपयले शहर बजारका घरघडेरी, जग्गा धितो राखेर सहुलियत ब्याजको ऋण सजिलै लिने गरेको उनको भनाइ छ ।

यद्यपि सोझै अनुदान दिँदा रकम दुरुपयोग भएको पाइएपछि वास्तविक किसानले नपाउने अवस्थाको अन्त्य गर्न कृषिका लागि ऋणमा ब्याज अनुदान दिने कार्यक्रम ल्याइएको कर्णाली प्रदेश सरकारले बताएको छ । उक्त कार्यक्रम अन्तर्गत किसानले आफ्नो व्यवसाय प्रवद्र्धन गर्न कृषि विकास बैंकबाट एक करोड रुपैयाँसम्मको ऋण लिँदा लाग्ने ९ प्रतिशत ब्याजमध्ये ७ प्रतिशत प्रदेश सरकारले तिरिदिन्छ भने किसानले २ प्रतिशत मात्रै तिरे पुग्छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अढाई अर्ब रुपैयाँ ऋण लगानी गर्दा ब्याज तिर्न पुग्नेगरी यो वर्ष ७ करोड रुपैयाँ विनियोजन गरेको बताएको छ ।

धितो राख्न नसक्ने किसानका लागि धितोविना नै ऋण पाउनेगरी केही न केही कार्यक्रम ल्याइने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले बताए । ‘यो कार्यक्रमले साना तथा विपन्न किसानलाई नसमेट्ने भएकोले चाँडै सहुलियतपूर्ण ब्याजमा विनाधितो ऋण पाउने नयाँ प्याकेज ल्याउँछौं,’ उनले भने । अनुदानमा ब्याज कार्यक्रमले कृषि क्षेत्रमा केही गर्न चाहने खासगरी युवा किसानलाई पूँजी र प्रविधिका लागि निकै सहयोग पुग्ने दाबी उनले गरे । व्यावसायिक रूपमा धान, गहुँ, मकै र तोरीको बीउ उत्पादन गर्दै आएका किसान देव राना धितो राख्न नसक्ने किसानका लागि गाउँका समूह र सहकारी जमानीमा बसेर ऋण दिने व्यवस्था गर्नुपर्ने बताउँछन् । धरैजसो किसानले कृषिको नाममा लिएको पैसा अरू क्षेत्रमा लगाउन सक्ने भएकाले सहुलियतपूर्ण कर्जा अरू व्यवसायमा लगाएको भेटिए तुरुन्तै अनुदान रोकिने मन्त्रालयका सचिव मिश्रले बताए ।

ऋण लिएर व्यवसाय गर्ने चाहना भएका तर धितो राख्न नसक्ने किसानलाई पनि यो कार्यक्रमले समेट्नुपर्ने किसान ज्ञानु भुसालले बताइन् । अनुदानका लागि मात्रै कृषि पेशा अँगालेका व्यक्तिले ब्याज अनुदान कार्यक्रमबाट बढी फाइदा उठाउन सक्ने आशंका उनको छ । यस्तै कृषिविज्ञ छविलाल पौडेल ब्याज अनुदानमा ठूलो रकम ऋण लिएर जग्गा किन्नेदेखि अरू व्यवसायमा पनि लगाउन सक्ने सम्भावना रहने भन्दै यसको दुरुपयोग रोक्नुपर्नेमा जोड दिन्छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्