ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुर्खेतको यातायात कार्यालयले उठायो ६ महिनामा साढे ९ करोड राजस्व

२०७७ माघ, ८  
कर्णाली प्रदेश
Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतमा राजस्व संकलन बढेको छ । कोरोना महामारीको सन्त्रास कम भएपछि कर बुझाउने सेवाग्राही बढेसँगै सवारी साधनको संख्या वृद्धिले यातायातको राजस्व बढेको हो ।

कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो ६ महिना (साउनदेखि पुस मसान्तसम्म) ९ करोड ५२ लाख ९ हजार रुपैयाँ राजस्व संकलन भएको बताएको छ । यो अघिल्लो आर्थिक वर्ष ०७६÷७७ को सोही अवधिको तुलनामा ४९ दशमलव ३ प्रतिशत बढी हो ।

उक्त आवको सोही अवधिमा कार्यालयले ६ करोड ३७ लाख ६६ हजार ४ सय रुपैयाँ राजस्व संकलन गरेको कार्यालयका लेखा अधिकृत रामप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार चालू आव ०७७÷७८ मा सबैभन्दा बढी कर सवारी साधनबाट ७ करोड ६९ लाख २३ हजार ८ सय रुपैयाँ असुली भएको छ ।

त्यस्तै, सवारी चालक अनुमतिपत्र सवारी दर्तातर्फ १ करोड ४७ लाख ७६  हजार ४ सय रुपैयाँ संकलन भएको छ भने यातायात क्षेत्रको आम्दानीतर्फ २५ लाख ८ हजार ६ सय रुपैयाँ राजस्व संकलन भएको दाहालले बताए । उनका अनुसार कार्यालयले गत वर्ष कुल १० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

कार्यालय प्रमुख आनन्द चपाईले गत वर्ष कोरोना महामारीका कारण सवारी कर तिर्न नसकेका सेवाग्राहीले चालू आवमा सुर्खेतबाटै सहज रूपले कर बुझाएपछि राजस्व बढेको जानकारी दिए ।

यसअघि कर्णालीका धेरैजसो सेवाग्रहीले लुम्बिनी प्रदेशको बाँकेस्थित नेपालगञ्जबाट सेवा लिने गरे पनि गत आवदेखि सुर्खेतबाटै सुरु भएपछि सेवाग्राहीलाई सहज भएको छ ।

‘कोरोना महामारीका कारण गत वर्ष चैत ९ गतेदेखि सरकारले नै कार्यालयबाट अत्यावश्यकीय सेवाबाहेकका काम बन्द गर्न निर्देशन दिएपछि नयाँ लाइसेन्सको आवेदन, सवारीसाधन दर्ता, नवीकरण, नामसारीलगायतका सेवा पूर्ण रूपमा बन्द थिए,’ उनले भने, ‘गत आवमा राजस्व बुझाउन नसकेका सेवाग्रहीले चालू आवमा कर बुझाउनुका साथै सवारीसाधन वृद्धि हुनुले राजस्व संकलन बढेको हो ।’

उनले प्रदेशमा सडक विस्तारसँगै यातायातको पहुँच बढ्दै गएकाले दुईपांग्रे मोटरसाइकल, स्कुटी,  कार, जीप, कृषियोग्य जमिनमा प्रयोग गरिने ट्याक्टरलगायत बाटो बनाउने डोजर, एक्साभेटरको संख्यामा समेत वृद्धि भएकाले राजस्व बढ्दै गएको उनको भनाइ छ ।

कार्यालयका प्रशासन अधिकृत तिलकराम अधिकारी वर्षैपिछे सवारीसाधनको वृद्धिसँगै कार्यालयले सेवाग्राहीको सेवालाई चुस्त पारेपछि संख्या पनि बढ्दै गएको बताउँछन् । हाल दैनिक दुई सयभन्दा बढी सेवाग्राहीले यातायात कार्यालयबाट सेवा लिने गरेका छन् । कार्यालयको नियम अनुसार सवारी कर ढिलो बुझाए ३२ प्रतिशतसम्म जरिवाना लाग्ने र ५ वर्षसम्मको कर अग्रिम बुझाउँदा १० प्रतिशतसम्म छुटको व्यवस्था भएकाले पनि कर संकलनमा वृद्धि हुँदै गएको छ ।

सवारीसाधन दुर्घटना भई क्षति भए क्षतिको बीमा दाबी गर्न र मानवीय क्षति भए सवारी नवीकरण कागजात सम्बन्धित निकायमा बुझाउनुपर्ने प्रावधानले सेवाग्राही सचेत भएर समयमै कर बुझाउँदा राजस्व संकलन बढेको हो । कार्यालयले जाँचपास, पटके सेवा, अस्थायी अनुमति सेवासमेत दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्