ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शेयरबजार अर्थतन्त्रको ऐना हो त ?

२०७७ माघ, ९  
पाठक विचार
NA

कोरोनाका कारण समग्र अर्थतन्त्र खस्किएको अवस्थामा किन शेयरबजार मूल्य निरन्तर बढिरहेको छ भन्ने धेरैको प्रश्न उठेको पाइन्छ ।

कोभिड–१९ भ्याक्सिनहरूको सफल प्रयोग र उपचार विकल्पका बारेमा मानिसहरू आशावादी भएको कारणले शेयरबजार बढेको हुन सक्छ । बन्दाबन्दीका कारण सीमित र संकुचित रहेको पूँजी बजारले गति लिएको देखिन्छ ।

राजनीतिक अस्थिरताका बेला पनि शेयरबजारले हरेक दिन नयाँ उचाइ लिँदै छ । नेप्से सूचाकंका र रकमसमेत बढ्दै गएको छ । ऋणको माग नबढ्दा ब्याजदर घटेको छ । धितोपत्र बोर्डलगायतको तालमेलबाट सृजित सकारात्मक वातावरणले पनि शेयरबजारमा उत्साह ल्याएको छ । राजनीतिक अस्थिरताबाट लगानीकर्ता आपूmलाई निरपेक्ष देखाउँदै पछिल्ला महीनामा शेयरमा लगानी बढाइरहेका छन् ।

शेयरबजारको आफ्नै प्राविधिक समस्याहरू भए पनि शेयरबजारमा हरियाली छाएको छ । शेयरबजार बढ्नुमा बैंकहरूले निक्षेपमा न्यून वा शून्यको नजीक ब्याज दिनु पनि प्रमुख कारण हुन सक्छ । शेयर धितोकर्जा सहज र कम ब्याजदरमा उपलब्ध हुँदा पनि शेयरबजार बढेको हो ।

बैँक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिएको छ । कर्जाको ब्याजदर पनि सस्तो भएको छ । ब्याजदर बढ्दा शेयरबजार घट्ने तथा ब्याजदर घट्दा शेयरबजार बढ्ने हुनाले ब्याजदर तथा शेयरबजारको सम्बन्ध उल्टो रहेको पाइन्छ ।

अर्थव्यवस्थामा समस्या देखिँदा पनि शेयरको मूल्य बढ्नुमा माथिका केही तथ्य कारण रहेको सहजै बुझ्न सकिन्छ । तर, कोरोनाका कारण तल्लो वर्गका मानिसहरू निकै प्रभावित भएका छन् । धेरै मानिसले रोजगार गुमाएको वा कम तलबमा काम गर्नुपरेको अवस्था छ । यस्तोमा अनलाइन कारोबार प्रणालीकै कारण धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागिता बढेको हो । ८५ प्रतिशत लगानीकर्ताले अनलाइन कारोबार गररहेको पाइन्छ । डिम्याट खाताको संख्या २१ लाख ८० हजार रहेको छ, जुन कुल जनासंख्याको करीब ७ दशमलव २५ प्रतिशत रहेको छ ।

पूँजी बजारले नयाँ कीर्तिमान बनाइरहँदा लगानीकर्तालाई सजग भई लगानी गर्न आग्रह गरेको पनि पाइन्छ । बजारमा हल्ला र अनुमानको लगानी गर्ने लगानीकर्ता नै फस्ने सम्भावना बढी हुन्छ । कम्पनीहरूको विश्लेषण गरेर लगानी गर्ने तथा आफ्नो जोखिम वहन गर्ने क्षमताअनुसार लगानी गर्ने व्यक्ति आत्तिनुपर्दैन । तर, अरूले कमाएको देखेर ऋण लिएर जथाभावी लगानी गर्नेहरू आत्तिएर शेयर बेच्दै ठूलो घाटा खाने गरेका छन् । केही लगानीकर्ता नोक्सान बेहोर्न नसक्दा आत्महत्या गरेरको समाचारसमेत आउने गरेको पाइन्छ । कम्पनीहरूको आधारभूत तथा प्राविधिक पक्षका विश्लेषण गर्नुका साथै ऐन नियमको पालनाको अवस्था पनि हेरेर लगानी गर्नुपर्ने हुन्छ । कम्पनीहरूको समग्र वित्तीय तथा आर्थिक परिसूचकलगायत विवरणहरूको विश्लेषण गरेपछि मात्रै लगानीकर्ताले लगानीसम्बन्धी निर्णय लिनुपर्ने छ ।

कोरोनाले आर्थिक गतिविधि शिथिल भएको छ । पछिल्ला करीब ९ महीनादेखि अर्थतन्त्र संकुचित हुँदै गएको छ । विगतका आर्थिक वर्षहरूमा आर्थिक वृद्धि उत्साहजनक हुँदा पनि शेयरबजार ओरालो लागेको पाइन्छ । यसपटक आर्थिक वृद्धि न्यून हुने प्रक्षेपण हुँदा शेयरबजारले उचाइ लिएको छ । यसले नेपालका शेयरबजार अर्थतन्त्रको ऐना हो भन्न देखिँदैन ।

सोमप्रसाद अधिकारी
कलंकी, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्