ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पुल मर्मतका लागि तातोपानी नाका बन्द

२०७७ माघ, ९  
वाग्मती प्रदेश
NA
author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक । पटक–पटक बन्द हुँदै खुल्दै आएको तातोपानी नाका पुनः बन्द भएको छ । बाढीले क्षति पु¥याएको मितेरी पुल मर्मतका लागि बुधबारदेखि नाका बन्द गरिएको हो ।

सीमामा रहेको मितेरी पुल मर्मत बिहीवारदेखि नै शुरू भएको छ । चीनको तियान सुन रोड एन्ड ब्रिज कम्पनीले पुलको मर्मत शुरू गरेको हो । ‘मर्मत कार्य शुरू भइसकेको छ,’ तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले भने, ‘चीनका २०० मजदूरले पुलको मर्मत गरिरहेका छन् ।’ पुल मर्मतका लागि भन्दै एक साताअघि चिनियाँ पक्षले नाका बन्द गर्नेबारे लिखित जानकारी गराएको खत्रीले बताए ।

जाङ्बु प्रशासनले पठाएको पत्रमा २० दिनभित्र मर्मत सक्ने उल्लेख भएको भन्सार कार्यालयले बताएको छ । ‘समयसीमामै काम सक्ने जानकारी आएको छ,’ भन्सार प्रमुख खत्रीले भने, ‘त्यसपछि पूर्ववत् रूपमा नाका सञ्चालन हुन्छ ।’ नाका बन्द गर्नुअघि चिनियाँ क्षेत्रमा थन्किएर बसेका व्यापारीको सामान नेपाल भिœयाउन जाङ्बु प्रशासनले सहयोग गरेको थियो ।

‘चीनमा अड्किएर बसेकामध्ये ८० कन्टेनर सामग्री नेपाल भित्रिएको छ,’ हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले भने । चिनियाँ क्षेत्रमा अड्किएर बसेका १०० भन्दा बढी कन्टेर भने समय अभावका कारण ल्याउन नसकिएको उनले बताए । पुल मर्मत सक्नेबित्तिकै ती कन्टेनर नेपाल ल्याउन प्रयत्न गरिने उनको भनाइ छ । ‘हामीलाई जनवरी ८ मा मात्रै नाका बन्द गर्ने जानकारी आएको थियो,’ पौडेलले भने, ‘छोटो समयमा सबै कन्टेनर ल्याउन सम्भव भएन ।’

भूकम्पपछि अस्थिर रहेको नाका हाल पछिल्लो पटक कात्तिक १२ गतेदेखि सञ्चालन गरिएको भए पनि पुल मर्मत नगरे जुनसुकै बेला दुर्घटना हुन सक्ने भयका कारण चिनियाँ पक्षले नाका बन्द गरेर पुल मर्मत शुरू गरेको हो । गएको बर्खाको बाढी र स्वशासित क्षेत्र तिब्बतको न्यालममा रहेको विभिन्न तालमा जमेको पानी खोल्दा बढेको भोटेकोशीको बहावले मितेरी पुलमा क्षति पु¥याएको थियो । बाढीले क्षति पुर्‍याएको मितेरी पुलको जग बलियो बनाउन सिन्धुपाल्चोक प्रशासनले पटकपटक चीन सरकारलाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्