माघ १०, सिड्नी (अष्ट्रेलिया) । अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गूगलले अष्ट्रेलियाबाट सर्च इञ्जिन हटाउने चेतावनी दिएको छ ।
ठूला बहुराष्ट्रिय प्रविधि कम्पनीहरुबाट समाचार प्रकाशकहरुलाई रोयल्टी दिलाउने प्रयासको विरोध गर्दै कम्पनीले शुक्रवार सो चेतावनी दिएको छ । अष्ट्रेलियाले गूगल, फेसबूक र अन्य ठूला प्रविधि कम्पनीहरुले समाचार प्रयोग गरेबापत् सम्बन्धित सञ्चार माध्यमहरुलाई भुक्तानी गर्नुपर्ने कानून ल्याउँदैछ ।
विश्वमै यस्तो खालको यो पहिलो कानून हो । तर अमेरिकी कम्पनीहरुले भने आफ्ना केही सेवा अष्ट्रेलियामा बन्द गर्ने चेतावनी दिइरहेका छन् । नीतिनिर्माताहरु त्यस्ता चेतावनीसामु नझुक्ने अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले बताएका थिए । अष्ट्रेलिया गूगलको ठूलो बजार होइन । तर त्यहाँ ल्याउन लागिएको कानूनले अन्यत्र पनि प्रभाव पार्ने चिन्ता कम्पनीको छ ।
फ्रान्सलगायत अन्य देशमा पनि समाचार संस्थाहरुले तयार पारेको सामाग्री प्रयोगका लागि शूल्क तिर्नु पर्ने दबाबमा पछिल्लो समय प्रविधि कम्पनीहरु छन् । एजेन्सी