ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कृषिमा आधुनिक प्रविधि अपनाउँदै दिक्तेलका युवा किसान 

२०७७ माघ, ११  
प्रदेश ०१
Image Not Found
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित खोटाङ कृषि फार्ममा हाइटेक प्रविधि अपनाएर निर्माण गरिएको प्लाष्टिक टनेल

माघ ११, दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गंगाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गरेका छन् । परम्परागत कृषि पेशालाई निरुत्साहित गर्दै गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले उनले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गरेका हुन् ।

खोटाङ कृषि फार्म स्थापना गरेर व्यावसायिकरूपमा कृषि पेशा अपनाउँदै आएका विश्वकर्माले उच्च गुणस्तर भएका तरकारी उत्पादन गर्ने उद्देश्यले रू. ४२ लाखको लागतमा एकैसाथ चारओटा हाइटेक टनेल निर्माण गरेका छन् । 

प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्र खोटाङको रू. ३२ लाख र खोटाङ कृषि फार्मको रू. १० लाखमा फरक–फरक आकारको चारओटा हाइटेक टनेल एकैसाथ निर्माण गरेर व्यावसायिक तरकारी खेती शुरु गरेका हुन् ।

नगरपालिकाले शुरु गरेको प्रांगारिक कृषि अभियान कार्यक्रमअन्तर्गत तरकारी, नर्सरी तथा च्याउ उत्पादन गर्ने गरी फरक–फरक आकारमा चार ओटा हाइटेक टनेल निर्माण गरिएको फार्मका प्रबन्धक विश्वकर्माले बताए । जिआइ पाइप र युवी प्लाष्टिक प्रयोग गरेर बनाइएको हाइटेक टनेलमा उत्पादित तरकारी र च्याउ दिक्तेलबजारलगायत राजधानी काठमाडौंमा समेत खपत गराउने लक्ष्य छ ।

पाँच वर्षभित्र ‘अग्र्यानिक’ नगर बनाउने अभियान चलाइरहेको नगरपालिकामा युवा किसान विश्वकर्माले गोलभेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाँजरलगायत विभिन्न प्रजातिका तरकारी खेती शुरु गरेका छन् । प्रांगारिक कृषि अभियान कार्यक्रमअन्तर्गत विश्वकर्माले आधुनिक बंगुर खोर तथा भकारो सुधार, च्याउको ब्रोइलर मेसिनसहितको घर निर्माण गरेका छन् ।

विश्वकर्माले आफ्नै फार्ममा गँड्यौला मल र जैविक विषादी उत्पादनको तयारीसमेत गरेका छन् । ‘अन्य मलको तुलनामा गँड्यौला मलले बढी उत्पादन दिनुका साथै गुणस्तरीयसमेत हुन्छ’, विश्वकर्माले भने, ‘आधुनिक प्रविधि अपनाएर कृषि पेशा गर्दा कम मेहेनतमा बढी आम्दानी लिन सकिन्छ ।’ 

यसअघि सोही नगरपालिकाको वडा नं ८ दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले पनि हाइटेक प्रविधि अपनाएर व्यावसायिक तरकारी खेती शुरु गरेका थिए । बुवालुङस्थित सुम्नीमा मेरुङ कृषि समूहमा आबद्ध युवा किसानले प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ विराटनगरको रू. १९ लाख तथा कृषि समूहको रू. आठ लाख ३३ हजार २३६ लागतमा हाइटेक निर्माण गरेर व्यावसायिक खेती शुरु गरेका हुन् ।

कृषि पेशामा ‘पूर्णकालीन’ बनेर सामूहिकरूपमा कृषिको व्यवसायीकरणमा जुटेका दोर्पाचिउरीडाँडास्थित बुवासुङका युवाले अलैँची, आलु, अदुवा, अम्रिसो, बेसार, तीतेकरेला, अकबरे खुर्सानी, लसुन, जापानिज नास्पाती, किबी, एभोकाडो, माछा, सुँगुर तथा तरकारी खेती गर्दै आएका छन् । विसं २०७० देखि व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएका १५ जना युवाले घरजग्गा छाडेर तराई बसिरहेका आफन्तको जग्गा भाडामा लिएर सामूहिक खेती शुरु गरेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्