माघ ११, काठमाडौं । आइतवार कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक ४६ दशमलव शून्य ७ अंकले बढेर २ हजार ४२० दशमलव ७१ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक १ दशमलव ९४ प्रतिशतले बढेको हो ।
दोस्रो घण्टाको अवधिमा २०३ ओटा कम्पनीको रू. ४ अर्ब ९४ करोड ५५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको दोस्रो घण्टामा मिथिला लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै गुराँस लघुवित्त, नागरिक लगानी कोष, एनसीसी बैंक, रिडी हाइड्रोपावर, प्रभु लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्स र माउन्टेन इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार र म्युचुअल फण्ड समूहको परिसूचक २ दशमलव १५ र शून्य दशमलव ५१ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।
यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३४ करोड ६८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ८६५ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजार ५७० मा रू. २० करोड ४३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।