माघ ११, काठमाडौं । विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले पर्वतको कुश्मास्थित आफ्नै रिसोर्ट परिसरमा नेपालमै नयाँ खेल जर्ब बल सञ्चालनमा ल्याएको छ।
द क्लिफका अनुसार यस बलमा एक पटकमा दुई जना बसेर मज्जा लिन सकिनेछ । बलभित्र हार्नेसको सहायतामा बसिसकेपछि बललाई खुल्ला ठाउँ वा चौरमा रोल गरेर मज्जा लिइने क्लिफका अध्यक्ष राजु कार्कीले बताए ।
नेपालमै पहिलो पटक यो खेल क्लिफले सञ्चालन गरेको समेत कार्कीले दाबी गरे । पहिलो पटक र सुरुवाती चरण भएकोले प्रतिव्यक्ति २५० रुपियाँ लिइरहेको क्लिफले बताएको छ । ग्राहकले ४ देखि ५ मिनेटसम्म जर्ब बलभित्र बसेर मज्जा लिन सक्ने कम्पनीले बताएको छ ।
द क्लिफले कालीगण्डकी नदीको खोंचमा बन्जी, विश्वकै अग्लो स्विङ, गुलेली शैलीको पिङ र स्काई साइक्लीङसमेत निर्माण गरेको छ । यस क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थप्ने योजना रहेको उनले बताए।