माघ १२, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली विद्युतीय इलेक्ट्रोनिक्स निर्माता कम्पनी सामसुङका प्रमुख ली जे योङ्गले घूस काण्डमा दोषी ठहर गर्दै अदालतले सुनाएको जेल सजाय विरुद्ध अपिल नगर्ने भएका छन् ।
त्यहाँको उच्च अदालतले गत हप्ता घूस कान्डमा उनलाई साढे २ वर्ष जेल सजाय सुनाएको थियो । अदालतको फैसला कम्पनीले विनम्रता पूर्वक स्वीकार गर्ने सोमवार लिका वकिलले बताए । उक्त अभियोगमा लिले एक वर्ष जेलमा बिताइसकेका छन् ।
जेल सजाय थप्नु पर्ने अभियोजनकर्ताहरुको माग पूरा भएन भने लि डेढ वर्ष मात्रै जेल बस्नु पर्ने र छिटोमा सेप्टेम्बरमै पेरोलका लागि योग्य हुने बताइएको छ । लीले तत्कालीन राष्ट्रपति पार्क गेउन हइलाई पटक–पटक घूस दिएका र कम्पनीको नेतृत्व हस्तान्तरणलाई सहज बनाउन कार्यकारी अधिकार प्रयोग गरिदिन समेत आग्रह गरेको उच्च अदालतले आफ्नो फैसलामा भनेको छ ।
यही घूस काण्डमा फसेर पार्कले सन् २०१७ मा राष्ट्रपति पद गुमाएकी थिइन् । एजेन्सी