ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकी अर्थमन्त्री येलेनलाई सिनेटद्वारा अनुमोदन    

२०७७ माघ, १३  
अन्तरराष्ट्रिय
Image Not Found

माघ १३, वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनद्वारा अर्थमन्त्रीमा मनोनित जेनेट येलेनलाई अनुमोदन गरेको छ । उनी अमेरिकी अर्थमन्त्रीको पद सम्हाल्ने पहिलो महिला पनि हुनेछिन् ।     
     
अर्थमन्त्री येलेनमाथि कोभिड–१९ सँग सम्बन्धित विशाल आर्थिक प्याकेजमा तल्लो सदन कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने ठूलो चुनौती छ ।     
     
येलेनले यसअघि अमेरिकी केन्द्रीय बैंकको पनि सन् २०१४ देखि २०१८ सम्म पहिलो महिलाका रुपमा नेतृत्व गरिसकेकि छन् । उनीसँग विगतमा ह्वाइट हाउसको आर्थिक सल्लाहकार परिषदमा रहेर पनि काम गरेको अनुभव छ ।     
     
राष्ट्रपति जो बाइडेनले कोभिड–१९ का कारण अमेरिकी अर्थतन्त्रमा परेको असर न्यून गर्न भन्दै अघि सारेको १९ खर्ब डलरको आर्थिक पुनरुत्थान प्याकेजलाई कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने येलेनसामु पहिलो चुनौती छ ।     
     
सिनेटको वित्त समितिमा भएको सुनुवाईका क्रममा येलेनले ब्याजदरमा निकै गिरावट आएकाले बाइडेन प्रशासनले ठूलै आर्थिक प्याकेज घोषणा गर्नु सकारात्मक कदम हुने बताएकि थिइन् ।    
     
सोमवार राष्ट्रपति बाइडेनले पनि राहत योजना अघि बढाउँदा अमेरिकी कङ्ग्रेसका दुबै दलबीच सहमति जुटाउन पहल गर्ने बताएका छन् ।उनले अहिले लगानी नगरे कोभिड–१९ बाट सृजित आर्थिक चुनौती अझ व्यापक हुने र पछि त्यसलाई सम्बोधन गर्दा अझ ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ भनेका छन् ।

सिनेटमा सुनुवाईका क्रममा वित्त समितिका अध्यक्ष सिनेटर रोन वाइडेनले अर्थमन्त्रीमा प्रस्तावित येलेन प्रतिभाशाली अर्थशास्त्री रहेको चर्चा गर्दै अहिलेको विषम परिस्थितिमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न उनी उपयुक्त र योग्य व्यक्ति रहेको बताएका छन् ।     
     
रिपब्लीकनका तर्फबाट सिनेटमा अल्पमतका नेता मिच म्याक्कोनेलले आफ्नै पार्टीका एक दर्जनभन्दा बढी सदस्यले बिरोध गरे पनि येलेनको अनुमोदनलाई समर्थन गरेका थिए ।
     
अमेरिकामा कोभिड–१९ बाट संक्रमितको संख्या अढाई करोड पुगिसकेको छ भने संक्रमितमध्ये चार लाख २० हजारभन्दा बढीको ज्यान गइसकेको छ । रासस/ एएफपी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्