माघ १४, न्यूयोर्क (अमेरिका) । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक तथा वित्तीय सेवा प्रदायक कम्पनी गोल्डम्यान श्याख्सका प्रमुख कार्यकारी डेभिड सोलोमोनको तलब सुविधा १ करोड डलर घटाइने भएको छ ।
मलेशियाको रणनीतिक विकास कम्पनी १ मलेशिया डेभलपमेन्ट बहर्द (१एमबीडी) मा भएको भ्रष्टाचार घोटालामा बैंकको संलग्नताका कारण उनको तलब कटौती गरिएको हो । १एमबीडी मलेशिया सरकारको लगानी कोष हो । यसमा भएको भ्रष्टाचार गतिविधिका कारण मलेशियाली सरकारले अर्बौ डलर गुमाएको थियो ।
यही कान्डमा मलेशियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई १२ वर्ष जेल सजाय सुनाइएको छ । घोटालामा आफ्नो संलग्नतालाई गोल्डम्यान श्याख्सले संस्थागत असफलता बताएको छ । कम्पनीले लगानीकर्ताहरूलाई ऋणपत्र बेच्न सघाएर १एमडीबीका लागि साढे ६ अर्ब डलर उठाउन सहयोग गरेको थियो ।
सन् २०१२ र सन् २०१३ मा ऋणपत्र विक्री व्यवस्थापन गरेबापत बैंकले करीब ६० करोड डलर लिएको थियो । तर ऋणपत्रबाट उठेकोमध्ये अधिकांश रकम अपचलन भयो । १एमडीबीमा ठगीको संकेतलाई गोल्डम्यानका कार्यकारीहरुले वेवास्ता गरेको आरोप अभियोजनकर्ताहरुले लगाएका छन् ।
यस घोटालामा गोल्डम्यानका दुई बैंकरमाथि फौजदारी मुद्दा लगाइएको छ । सन् २०२० मा सोलोमनले तलब सुविधा घटेर १ करोड ७५ लाख डलरमा आएको बताइएको छ । उनको तलब सुविधामा न्यूनतम् नगद तलब २० लाख डलर, नगद बोनश ४६ लाख ५० हजार डलर र शेयरमा आधारित भत्ता बापत १ करोड ८ लाख ५० हजार डलर रहेको थियो ।
१एमडीबी घोटालामा गोल्डम्यानले अक्टोबरमा ४ ओटा देशका अधिकारीहरुसँग करीब ३ अर्ब डलर भुक्तानी गर्ने सहमति गरेको थियो ।
१एमडीबीमा आफ्नो संलग्नताका कारण वर्षौदेखि अमेरिका, बेलायत, सिंगापुर, मलेशिया र हङकङ लगायत विविध देशका नियामकहरुले कम्पनीमाथि अनुसन्धान गरेका थिए । १एमडीबीमा संलग्नताकै कारण बैंकलाई ५ अर्ब डलरभन्दा बढीको घाटा समेत भइसकेको छ । एजेन्सी