पम्प स्टोरेज जलविद्युत् आयोजना विशिष्ट खालको आयोजना मानिन्छ । दुईओटा जलाशय तथा अन्य जलविद्युत् आयोजनाका भन्दा फरक किसिमका उपकरण प्रयोग हुनु यस्ता आयोजनाका विशेषता हुन् ।
विद्युत् प्रणालीमा विद्युत्को माग बढी भएको बेला माथिल्लो जलाशयबाट तल्लो जलाशयको नजिक रहने विद्युत्गृहमा पानी खसालेर विशेष खालका टर्वाइन (पम्प–टर्वाइन) र जेनेरेटर (मोटर–जेनेरेटर)बाट विद्युत् उत्पादन गरिन्छ । विद्युत् उत्पादन गरिसकेपछि सो पानी तल्लो जलाशयमा सञ्चित गरेर राखिन्छ । प्रणालीमा विद्युत् बढी भएको बेला तल्लो जलाशयमा रहेको पानी त्यही पम्प–टर्वाइनले पुनः माथिल्लो जलाशयमा पुर्याइन्छ । र, माग बढ्दा विद्युत् उत्पादन गर्न पुनः तल झारिन्छ । एवं रीतले तल्लो र माथिल्लो जलाशयमा रहेको पानी तथा विद्युत्गृहमा रहेका उपकरण आवश्यकता अनुसार प्रयोग गरेर विद्युत् उत्पादन गरिन्छ ।
नेपालका लागि पम्प स्टोरेज जलविद्युत् बिल्कुलै नयाँ प्रविधि हो । नेपाल विद्युत् प्राधिकरणले पहिलो पम्प स्टोरेज आयोजनाको विकास गर्न कास्कीमा बेगनास–रूपा पम्प स्टोरेज आयोजनाको इजाजत २०७४ सालमा लिएर अध्ययन गर्दै आएको छ । १४ अर्ब रुपैयाँ लाग्ने यो आयोजनाबाट दैनिक माग अधिक भएको ४ घण्टा विद्युत् उत्पादनका लागि माग कम भएको बेला पानी पम्प गरेर रूपा तालबाट बेगनास तालसम्म पठाइनेछ । बेगनास तालबाट करीब ६० मिटर कम उचाइमा रहेको रूपा तालसम्म पानी झार्दा ४ घण्टा करीब १५० मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखिएको छ । यो आयोजनाको अध्ययनका लागि नेपालमा प्राविधिक जनशक्ति नभएकाले प्राधिकरणले जापानी सहयोग नियोग (जाइका)को सहयोग लिएको बुझिएको छ । पोखरा महानगरपालिका नजिक रहेको यो आयोजनाका लागि धेरै पूर्वाधारको विकास गर्नुपर्ने छैन । पृथ्वी राजमार्गको छेउमा रहेको यो आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न करीब १० किमीको प्रसारणलाइन निर्माण गर्नुपर्ने हुन्छ । आयोजनाका संरचना निर्माण गर्न केही थप पहुँचमार्ग भने बनाउनुपर्ने हुन्छ । आयोजनाको वातावरणीय अध्ययन र प्राविधिक सम्भाव्यता अध्ययनको काम जारी रहेको बुझिएको छ । आयोजनाको निर्माणका लागि रूपाताल संरक्षण एकीकृत विकास परियोजनासँग समन्वय गर्नुपर्ने देखिएको छ ।
प्राधिकरणले आँटेको यो आयोजना बन्छ/बन्दैन वा अनुमानित समय र लागतमा सम्पन्न हुन्छ/हुँदैन, भविष्यले बताउँछ । तर पम्प स्टोरेज आयोजना हाम्रो जस्तो वर्षाको अधिक प्रभाव हुने खोलाहरूमा आधारित विद्युत् प्रणालीका लागि विशेष महत्त्वका हुन्छन् । यस्ता आयोजनाले हिउँद वा वर्षामा अत्यावश्यक भएको बेला विद्युत् उत्पादन गर्ने क्षमता प्रदान गर्दछन् । साथै नेपालमा विद्युत्को पर्याप्त बजार नभएर बढी विद्युत् उत्पादन गर्न उत्साहित हुन नसकिरहेको सन्दर्भमा खेर जाने बिजुली यी आयोजनाको तल्लो जलाशयबाट माथिल्लो जलाशयसम्म पानी पम्पिङमा उपयोग गरी थप विद्युत् उत्पादन गर्न सक्ने क्षमता सृजना हुन सक्छ ।
पम्प स्टोरेज आयोजना निर्माण गर्ने नगर्ने भन्ने विद्युत्को बजारले तय गर्दछ । बजारमुखी अर्थतन्त्र अनुसार कुनै पनि वस्तुको मूल्य बजारले निर्धारण गर्दछ । बजारमा कुनै वस्तुको उपलब्धता बढी भएको बेला वस्तुको मूल्य घट्ने र बजारमा कुनै वस्तुको अभाव बढी हुँदा भाउ बढ्ने सामान्य र सर्वस्वीकृत मान्यता हुन् । बिजुलीको सन्दर्भमा पनि यो नियम लागू हुन्छ । विद्युत्को माग कम भएको मध्यरातको समयमा सस्तोमा विद्युत् खरीद गरी पानी पम्प गरेर विद्युत्को माग अधिक भएको समयमा (स्वतः विद्युत्को भाउ पनि बढी भएको बेला) विद्युत् उत्पादन गरी विक्री गर्दा उत्पादकले फाइदा लिन सक्छन् । यो प्रक्रियाबाट आर्थिक फाइदा उठाउन सकिने सम्भावना एकातिर छ भने प्रणालीको सन्तुलनमा पनि यसले ठूलो सहयोग पुर्याउँछ ।
त्यसैले यी आयोजनाको सम्भाव्यता अध्ययन गर्दा आर्थिक तथा प्राविधिक पक्ष, प्रणालीको आवश्यकता, तथा विद्युत्को बजारको अध्ययन गरी निष्कर्षमा पुग्नु पर्दछ । यो प्रविधिबाट उत्पादित विद्युत् अन्य अरू प्रविधिबाट उत्पादित विद्युत्सँग प्रतिस्पर्धी हुनुपर्ने नै हुन्छ । माग कम हुँदा विद्युत्को न्यूनतम मूल्य तथा माग अधिक हुँदा विक्री मूल्य कति हुने, आयोजनाको निर्माण गर्दा लाग्ने पूँजीगत खर्च, जलाशयको आयु, लगानीकर्ताले आयोजना सञ्चालन गर्न पाउने अवधि आदि सबै पक्षको अध्ययनबाट मात्र आयोजनाको आर्थिक सम्भाव्यता कायम गर्न सकिन्छ । नेपालमा यस प्रकारको आयोजनाको अध्ययन पहिले नभएकाले बेगनास–रूपा पम्प स्टोरेज आयोजनाको कार्यान्वयनपछि प्राविधिक–आर्थिक लगायत पक्षमा धेरै स्पष्टता प्राप्त गर्न सकिन्छ । यस्ता आयोजना अन्य अरू स्थानहरूमा पनि बनाउन सम्भव हुन सक्छ । तर एउटा आयोजना सञ्चालन गरेर त्यसले हाम्रो विद्युतीय प्रणालीमा पुर्याउन सक्ने फाइदा, उक्त आयोजनाले लगानीकर्तालाई प्रदान गर्ने आर्थिक लाभको सुनिश्चितता र अन्त्यमा उपभोक्ताले सुलभ मूल्यमा विद्युत् उपभोग गर्न आवश्यक सहुलियत तथा सहजीकरणका लागि नीतिनियम तर्जुमा गरी अगाडि बढ्न सके देशको पानीका स्रोत तथा भू–बनोटबाट अधिकतम लाभ लिन सकिन्छ ।