ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

महिला उद्यमशीलताका समस्या हल गर्न पहल गर्नेछु : राष्ट्रपति

२०७७ माघ, १८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला उद्यमशील बन्न सहज नभएको र उनीहरूले भोग्नुपरेका समस्या हल गर्न आफूले पहल गर्ने बताउनुभएको छ ।

न्यू बिजनेश एजको ‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्ड’बाट सम्मानित महिला उद्यमीहरूसँगको शनिवार भएको भेटमा उहाँले महिला उद्यमीलाई परेका समस्या लिखित रूपमा आपूmलाई जानकारी गराए त्यसको समाधान गर्न सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘महिलालाई उद्यमशील बन्न चुनौती छ, मैले पनि बुझेकी छु, हिम्मत हार्नु हुँदैन, अघि बढ्दै जानुपर्छ । उद्यमीहरूलाई सहयोग गर्न सरकारले विभिन्न प्रकारका कार्य गर्दै आएको जानकारी पाएकी छु, अरू समस्या के-के छन् लेखेर दिनुभयो भने म हल गर्न पहल गर्नेछु,’ उहाँले भन्नुभयो ।

न्यू बिजनेश एजले देशभरका महिला उद्यमीलाई तालीम दिई सम्मान गर्ने काम गरेकोमा आफूलाई धेरै नै खुशी लागेको भन्दै उहाँले आयोजकलाई धन्यवादसमेत दिनुभयो ।

यसैबीच, न्यू बिजनेश एजले काठमाडौंमा आयोजना गरेको ‘न्यू बिज बिजनेश वुमन समिट एन्ड अवार्ड’को शुक्रवार उद्घाटन गदै अर्थमन्त्री विष्णु पौडेलले महिला उद्यमशीलता प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले महिला उद्यमशीलता प्रवद्र्धन गर्न सरकारले सहुलियत पूर्ण कर्जादेखि विभिन्न शीपमूलक तालीमहरूको प्रबन्ध गरेको जिकीर गरे । पौडेलका अनुसार सरकारले लागू गरेको उक्त कर्जा गत असारसम्ममा ६ हजार ६ सय ८२ महिला उद्यमीले लिएका थिए । तर, मङ्सिरसम्म आइपुग्दा अहिले यो संख्या बढेर २० हजार पुगेको उनको भनाइ छ ।

मन्त्री पौडेलले महिला उद्यमीका लागि ६ प्रतिशत ब्याज अनुदानको समेत व्यवस्था गरेको बताए । आगामी दिनमा थप कार्यक्रम लिएर महिला उद्यमशीलता प्रवर्द्धन गर्न सरकार अघि बढ्ने मन्त्री पौडेलले बताए । उनका अनुसार महिला र पुरुषबीचको विभेदलाई संविधानले अन्त्य गरेको भए पनि व्यावहारिक रूपमा अभैm अन्त्य हुन सकेको छैन ।

‘न्यू बिजनेश एजले गरेको यस्तो प्रयासले महिला र पुरुषबीचको विभेद समाप्त गर्ने शिलशिलामा महिलाहरूको सम्मान र स्वाभिमान अभिवृद्धि गर्न, महिलाहरूमा अन्तरनिहित शीप, क्षमता अभिवृद्धि गर्न धेरै नै उपयोगी रहेको छ,’ उनले भने । अब महिलालाई आर्थिक र सामाजिक रूपमा थप बलियो बनाउन जरुरी रहेको पौडेलको भनाइ थियो ।

‘संविधानले व्यवस्था गरेको समानतालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने चुनौती राज्य र निजीक्षेत्रसामु रहेको छ । सबैको समन्वयमा पूरा गर्नुपर्छ,’ उनले भने । कार्यक्रममा नेपालका लागि यूरोपेली संघकी राजदूत नोना डेप्रेजले कोभिडबाट थलिएको अर्थतन्त्रलाई माथि उठाउनु नै अहिलेको मुख्य चुनौती रहेको बताइन् ।

‘महिला उद्यमीको उत्थान गर्न कोरोनाले अवरोध सृजना गरेको छ । चुनौतीलाई अवसरमा बदल्नुपर्छ,’ उनले भनिन् । अर्थतन्त्रको पुनरुत्थान गर्दा महिलालाई नै केन्द्रमा राखिनुपर्ने उनको भनाइ थियो । महिलालाई समाज, समुदाय र विश्वसामु अझ राम्रो बनाउन उनीहरूको सशक्तीकरण हुनुपर्नेमा राजदूत डेप्रेजले जोड दिइन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालकी अध्यक्ष एवं स्ट्यान्डर्ड चार्टर्ड इन्डियाकी सीईओ जरिन दारुवालाले दिगो आर्थिक विकासका लागि महिला उद्यमीहरूले महत्त्वपूर्ण भूमिका खेल्न थालिसकेको बताइन् । ‘सहज वित्तीय पहुँच, राम्रो प्रविधि र उचित बजारीकरण एवं वितरणको रणनीतिले महिला व्यवसायीलाई आफ्नो व्यवसाय फस्टाउन सहयोग पुग्नेछ,’ उनले भिडियो मार्फत् बताइन् ।

नेपालमा राष्ट्र बैंकको ६ प्रतिशतसम्मको ब्याज अनुदानको नीति कार्यक्रमअनुरूप स्ट्यान्डर्ड चार्टर्ड बैैंकको त्यस्तो कर्जा वितरण २०१९ को तुलनामा २०२० मा १६ गुणाले वृद्धि भएको उनले बताइन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले कोभिडपछि नेपालको अर्थतन्त्र शिथिल बनेको र त्यसमा पनि महिला उद्यमीलाई झन् समस्यामा पारेको बताइन् ।

‘कोभिडसँगै हाम्रो सानो अर्थतन्त्रमा महिलालाई माथि उठ्न अझ चुनौती छ । महिला उद्यमीहरूलाई अघि बढाउन सरकारले अझ बढी कदमहरू चाल्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

कार्यक्रममा न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले उद्यम क्षेत्रमा महिला आउने क्रम रहे पनि तीव्रता भने आउन नसकेको बताए ।

‘सरकार, बैंक, निजीक्षेत्रहरूले महिलालाई सहयोग, प्रोत्साहन गर्ने योजना अघि सारे पनि जुन गतिमा तीव्रताका साथ महिलाको सहभागिता उद्यम क्षेत्रमा बढ्नुपर्ने हो, त्यो हुनसकेको छैन,’ उनले भने ।

यस क्षेत्रमा रहेका महिलाहरूले धेरै चुनौतीहरू भोग्नुपरेको बताए । उनका अनुसार महिला उद्यमीले भोग्नुपरेको समस्यालाई विस्तृत छलफलमा ल्याएर समाधानको उपाय खोज्न सहयोग गर्ने र कोभिडले सृजना गरेको कठिन परिस्थितिमा पनि सफलताका साथ उद्यम, व्यवसाय सञ्चालन गर्ने महिलालाई सम्मान गरेर अन्य इच्छुकलाई प्रोत्साहन गर्ने हिसाबले न्यू बिज बिजनेश वुमन समिट एन्ड अवार्ड आयोजना गरिएको बताए ।

न्यू बिजनेश एजले गतवर्षको मार्चमा नै यो कार्यक्रम गर्ने तयारी गरेको थियो । तर, कोरोना महामारीका कारण त्यसबेला यो कार्यक्रम स्थगित गरिएको थियो । यो कार्यक्रम दुई भाग गरी सञ्चालन गरिएको थियो । यसको पहिलो चरणको कार्यक्रम भने गतवर्ष नै सम्पन्न भइसकेको थियो । दोस्रो चरणको कार्यक्रम मात्र कोरोनाका कारण स्थगित गरिएको हो । पहिलो चरणको कार्यक्रमअन्तर्गत देशका विभिन्न भागका व्यावसायिक महिलाहरूका लागि पूर्ण दिन प्रशिक्षण कार्यक्रम गरेको गरिएको थियो । विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, बुटवल, सुर्खेत, धनगढीमा उद्यमशीलता र वित्तीय साक्षरतामा आयोजित प्रशिक्षण गरिएको थियो । कार्यक्रममा करीब २ हजार व्यक्ति सहभागी भएका थिए ।

यी कार्यक्रममा महिला उद्यमीहरूले ती स्थानहरूमा कार्यरत विभिन्न बैंक र वित्तीय संस्थाका प्रतिनिधिहरू, व्यवसाय क्षेत्रसँग सम्बद्ध नियमन प्राधिकरणका प्रतिनिधिहरू र स्थानीय सरकारी निकायका प्रतिनिधिहरूसँग कुराकानी गर्ने अवसर पनि पाएका थिए ।

शुक्रवारको कार्यक्रम भने दोस्रो चरणअन्तर्गतको कार्यक्रम हो । अन्तिम कार्यक्रमको पहिलो भागमा महिला समिट आयोजित गरिएको थियो । त्यसमा विभिन्न क्षेत्रका अग्रणी व्यावसायिक महिला र व्यक्तित्वहरूको महिला उद्यमशीलता प्रवद्र्धन, नीति र अभ्याससम्बन्धी शीर्षकको प्यानलमा छलफल पनि भएको थियो । अर्को अंश पुरस्कार वितरण समारोह हो ।

सोही कार्यक्रममा नै उत्कृष्ट महिला उद्यमीलाई अवार्ड दिइएको हो । कोरोना जोखिम कायमै रहेका कारण स्वास्थ्य सुरक्षा मापदण्डहरू पालना गरेर उक्त कार्यक्रम गरिएको हो ।

न्यू बिजले यसअघि पनि कर्पोरेट अवार्ड र बी स्कूल अवार्ड कार्यक्रम गर्दै आएको छ । महिला उद्यमशीलतालाई लिएर न्यू बिजले गरेको यो पहिलो कार्यक्रम हो । यस कार्यक्रमलाई स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले प्रायोजक गरेको थियो । साथै, मुक्तिनाथ विकास बैंकको सहयोगमा आयोजित यस कार्यक्रममा मेडिकल पार्टनरका रूपमा स्टार अस्पताल रहेको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), महिला उद्यमी संघ नेपाल (एफडब्ल्यूईईएन) र नेपाल राष्ट्र बैंक (एनआरबी) का सहयोगी साझेदारका रूपमा उपस्थित थिए । यस्तै, निम्बस समूह (व्यञ्जन), सीताराम गोकुल मिल्क्स, प्रोग्रेसिभ फाइनान्स, रिलायबल लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, मेरिगोल्ड ज्वेलर्स र अग्नि ग्रूपले पनि उक्त कार्यक्रमलाई सहयोग गरेका थिए ।

कार्यक्रमलाई १० ओटा जिल्लाका चेम्बर तथा उद्योगहरूले पनि सहयोग गरेका थिए । कार्यक्रमको अफिसियल टीभीका रूपमा डिसहोम रहेको आयोजकले जानकारी दिए ।

सबै नेपालीलाई निःशुल्क खोप
अर्थमन्त्री विष्णु पौडेलले सरकारले कोभिड उपचारको सम्पूर्ण जिम्मा लिएको र सबै नेपालीलाई निःशुल्क खोपको व्यवस्था गर्ने बताए । उनका अनुसार कोभिडविरुद्धको भ्याक्सिनको खोजी भइरहेको र विश्वसनीय भ्याक्सिन ल्याई देशभर खोप अभियान सञ्चालन गरिनेछ ।

‘हामी विश्वसनीय भ्याक्सिन ल्याई सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउनेछौं । खोप सेवा अभियान बीचमा स्थगित नगरीकनै अघि बढाइनेछ । यस प्रकारको प्रयासमा सरकार छ,’ उनले भने । खोपको प्रभावकारी प्रयोगसँगै आर्थिक–सामाजिक क्रियाकलापलाई अब पुरानै लयमा फर्काउन सरकारले निरन्तर प्रयत्न गरिरहेको उनको भनाइ थियो । ‘भ्याक्सिनसँगै हाम्रो अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सक्नेछौं र आर्थिक समृद्धिको दिशामा मुलुकलाई अघि बढाउनबाट अब कसैले रोक्न सक्ने छैन,’ उनले भने ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्