माघ २४, काठमाडौं । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनका लागि नेपालका आठ जना क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ ।
आईपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले बताएको छ ।
यीमध्ये लामिछानेले यसअघि आईपीएल खेलिसकेका छन् । यसपटक क्यानमार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आईपीएलका लागि दर्ता गराएका हुन् ।
आईपीएलका लागि छनोट हुने वा नहुनेबारे आगामी फागुन ६ गते टुङ्गो लाग्ने छ । उक्त छनोट भारतको चेन्नइमा हुनेछ । आईपीएलका लागि नेपालका आठसहित १५ देशका १ हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन् । नाम दर्ता गराउनेमा भारतका ८१४ खेलाडी छन् ।
आईपीएलका लागि अफागानिस्तानका ३०, अष्ट्रेलियाका ४२, बङ्गलादेशका ५, बेलायतका २१, आयरल्याण्डका दुई, नेदरल्याण्डका एक, न्यूजिल्याण्डका २९, स्कटल्याण्डका सात, दक्षिण अफ्रिकाका ३८, श्रीलङ्काका ३१, युनाइटेड अरब इमिरेट्स (यूएई) का नौ, अमेरिकाका दुई, वेष्टइन्डिजका ५६ तथा जिम्बाम्बेका दुई जना खेलाडीले नाम दर्ता गराएका छन् । रासस