ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आईपीओपछि पौने ४ अर्ब हाराहारी लगानी बढाउन सक्छौं

२०७७ माघ, २७  
अन्तरवार्ता
Image Not Found

महिला लघुवित्त वित्तीय संस्थाले माघ ३० गतेदेखि ४ करोड बराबरको ४ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्दै छ । निष्कासन गर्ने कुल शेयरमध्ये जारी पुँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् । यसै सेरोफेरोमा रहेर संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद न्यौपानेसँग अभियान संवाददाता ममता थापाको कुराकानी :

बजारमा सक्रिय लगानीकर्ता करिब १५ लाखसम्म रहेका छन् । तपाईंहरूले सर्वसाधारणका लागि निष्कासन गर्ने ३ लाख ७५ हजार कित्ता शेयर लुछाचुँडी हुने भयो त ?
लघुवित्त क्षेत्रको आईपीओमा असाध्यै माग छ । समग्रमा हाम्रो वित्तीय विवरण राम्रो छ किनभने पुस मसान्तसम्मको रिपोर्ट पनि ग्रोथमा छ । यसैले पनि हाम्रोमा धेरै आवेदन पर्न सक्छ । पूर्वदेखि पश्चिमसम्मका महिला ग्राहक भएकाले कर्मचारीमार्फत उनीहरू सबैलाई जानकारी भइसकेको छ ।

कम्पनीले ४ करोड रूपैंयाँ बराबरको ४ लाख कित्ता शेयर बिक्री गर्दै छ । यो जारीपछि लगानी पुँजीको क्षमता कति होला ?
आईपीओअघि हामीसँग ६ करोड रुपैयाँको चुक्ता पुँजी छ । अब ४ करोड रुपैयाँ थपिएपछि हामीसँग रु १० करोड रुपैयाँको चुक्ता पुँजी हुन्छ । पुससम्म हामीसँग १८ करोड रुपैयाँको रिजर्भ बचतमै छ । त्यसो गर्दा २४ करोड ४६ लाख रिजर्वमा हुन्छ । आईपीओपछि भने लगानी क्षमता बढेर २८ करोड ४६ लाख रुपैयाँ पुग्छ । अहिलेसम्म २ अर्ब ९४ करोड रुपैयाँ बराबरको पुँजी लगानीमा रहेको छ ।

क्षमता वृद्धि भएपछि लगानीका क्षेत्र पनि थपिएलान् नि ?
हामीले लगानीको क्षेत्रगत दायरा बढाउँछौं । विशेषतः हामीले कृषि, साना तथा मझौला उद्योग र विभिन्न सेवा क्षेत्रलाई लक्षित गर्दै आएका छौं । अहिले कृषिमा ३६ प्रतिशत अर्थात् १ अर्ब ६ करोड रुपैयाँ लगानी छ । साना तथा घरेलु उद्योगमा ४२ प्रतिशत अर्थात् १ अर्ब २३ करोड रुपैयाँ लगानीमा छ । सेवामा १७ प्रतिशत अर्थात् ५१ करोड रुपैयाँ र अन्यमा ४ प्रतिशत अर्थात् १२ करोड हाराहारी लगानी छ । सामूहिक र व्यक्तिगत आधारमा लगानी गरिरहेका छौं । लघुवित्तहरूलाई एउटा सदस्य बराबर १५ लाख रुपैयाँसम्मको सीमा तोकिएको छ । सोहीअनुसार मूल्यांकनको आधार हेरेर धितो कर्जा स्वीकृत गर्छौं । हामीले समावेशीका आधारमा सबैलाई कर्जा प्रवाह गरेका छौं ।

संस्थाको ३ वर्षदेखिको यात्रामा वित्तीय परिसूचकको अवस्था कस्तो रह्यो ?
सुरुमा यो संस्था नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको काम गर्ने गैरसरकारी संस्थाको रूपमा दर्ता भई स्थापना भएको हो । यसले वित्तीय सीमित बैंकिङ कारोबार गर्न पाउँथ्यो । त्यसपछि राष्ट्र बैंकले वित्तीय मध्यस्थकर्ताको रूपमा काम गरेको संस्थालाई खारेज गरेर घ वर्गको वित्तीय संस्थाको रूपमा परिणत गर्न निर्देशन दिएपछि २०७५ असोज २२ गते इजाजत पाएर कात्तिक १ गतेबाट कारोबार सुरु ग¥यौं । यसले गर्दा पनि कारोबारमा सहज भयो । त्यहाँ पनि हामी करिब ४ करोड रुपैयाँजति बचतमै थियौं । पहिलाको संंस्थाको खुद नाफालाई यता सारेर पुँजी मजबुत बनायौं ।

कारोबार सारेर यो संस्था स्थापना गरेदेखि ३ आर्थिक वर्षमा वित्तीय अवस्था बलियो नै छ । बीचमा राष्ट्र बैंकको निर्देशनले ३ प्रतिशत ब्याजदर पनि घटाइयो र कोभिडले गर्दा पनि समग्र मुलुक प्रभावित बनेकाले हामीले सोचेजस्तो नाफा बढी हुन सकेन । तर, हामीले अर्को संस्थाबाट सापटी लिएका छौं ।

यसरी सापट लिएको ब्याज, ग्राहकबाट लिनुपने र दिनुपर्ने ब्याज अन्तरमा लाग्ने लागत (कस्ट अफ फन्ड) आधा घटाउन सफल भयौं । यसले गर्दा पनि नाफा बढेको हो । करिब १ अर्ब ९३ करोडको सापटी अर्को बैंकबाट पैसा लिएर अन्यत्र लगानी गरेका छौं । यसअघि कस्ट अफ फन्डमा साढे ११ प्रतिशत थियो भने अहिले ६ दशमलव ३४ प्रतिशत हाराहारी राख्न सक्यौं । यसले नाफाको आकार बढाउन मद्दत गर्‍यो ।

हाम्रो लगानी, सदस्य, शाखा सञ्जाल र कर्जा प्रवाह पनि बढ्यो । अहिलेसम्म सात प्रदेशमा ५८ वटा शाखा कार्यालयबाट कारोबार हुन्छ । हामी सातै प्रदेशका ३१ जिल्ला र २ सय २८ पालिकामा पुगेका छौं । हामीसँग ४ हजार ३९ वटा केन्द्र छन् भने ५१ हजार २ सय ७० महिला समूहमा सदस्य छन् । ऋणी सदस्य ३३ हजार छन् ।

यसैगरी २ अर्ब ९४ करोड रुपैयाँ कर्जा सातै प्रदेशमा लगानीमा रहेको छ । हामीले धितोमा आधारित र बिनाधितो दुवै खाले कर्जा लगानी गरेका छौं । यसमा समूह र व्यक्तिगत दुवै पर्छन् ।

कोभिड हुँदा पनि निरन्तर खटिएर ग्राहक सदस्यको अवस्थालाई नजिकबाट हे¥यौं । ग्राहकलाई राहत दिएरै भए पनि कार्यक्रमलाई जोगायौं । गत आर्थिक वर्षमा पनि हामीले कर तिरेर पनि खुद नाफा ३ करोड ४७ लाख प्राप्त ग¥यौं । चालू आवको दोस्रो त्रैमाससम्म पनि ५ करोड ४३ लाख ७९ हजार रुपैयाँ बराबरको खुद नाफा गर्न सफल भएका छौं । अझ आईपीओ वितरणपछि लगानीमा मद्दत पुग्छ ।

कर्जा लगानीमा अप्ठेरो र निक्षेप रकम भुक्तानीमा समस्या पर्नेजस्ता जोखिम व्यवस्थापन कसरी गर्दै आउनुभएको छ ?
अहिले कर्जा र बचत अनुपात करिब २८ प्रतिशतको हाराहारी छ । यस हिसाबले अब हामीले बचतलाई प्रोत्साहित गर्नुपर्छ भनेर बचत स्किम गरिरहेका छौं । समूहको बचत अनिवार्य हुन्छ । हरेक महिना महिला सदस्यहरूले १ सय रुपैयाँ राख्थे भने यसलाई बढाएर ३ देखि ४ सय रुपैयाँसम्म बढाउन लगाएका छौं । सातै प्रदेशमा निरीक्षण तथा सुपरिवेक्षण कार्यालय छ । फागुनमा आईपीओको काम सकिएपछि पुजी वृद्धि भएसँगै लगानीको दायरा पनि बढ्न सक्छ । त्यसका लागि कार्यक्षेत्र हेरिसकेका छौं । बोर्डबाट स्वीकृति लिएका छौं । यस वर्ष १२ शाखा खोल्नुपर्नेमा ५ वटा खोलिसकेका छौं भने थप ७ वटा शाखा खुल्दै छन् । चालू आवमा साढे ४ अर्ब रुपैयाँको पोर्टफोलियो पु¥याउनुपर्नेछ । यसमा अघि बढेका छौं ।

अहिलेसम्म समग्रमा संस्थाको मुख्य परिसूचक राम्रै देखिन्छन् । आगामी दिनमा लाभांश वितरण गर्ने क्षमता अनुमानित कति हुन सक्ला ?
अर्को पटकसम्म हामी लाभांश वितरणको निर्णयमा पुग्छौं । सूचकांंकको आधारमै भन्ने हो भने हामीले ४० देखि ४५ प्रतिशतको बीचमा लाभांश दिन सक्ने क्षमता हुन सक्छ ।    

नेप्से परिसूचकमा पनि अरूको तुलनामा अधिकांश लघुवित्तको प्रतिशेयर आम्दानी उत्कृष्ट देखिनुको कारण केलाई मान्नुहुन्छ ?
आम्दानी बढाउने र खर्च कम गर्ने मामलामा लघुवित्तहरू अगाडि नै छन् । हामीले अनावश्यक खर्चलाई केही हदसम्म न्यूनीकरण गर्न खोजिरहेका हुन्छौं । यसले गर्दा पनि बैंक तथा विकास बैंकको भन्दा लघुवित्तहरूको ईपीएसको प्रतिशत केही उच्च हुन्छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यअर रेटिङ डबल बी प्रदान गरेको छ । उक्त रेटिङले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लघुवित्तमा ग्राहक सदस्य दोहोरिने सम्भावना धेरै थियो । अहिले कर्जा सूचना केन्द्र (सीआईबी) मा सूचीकृत हुने व्यवस्थाले कत्तिको नियन्त्रण गरेको छ ?
यो वास्तविक हो । संस्था–संस्थाबीच नै ऋणी सदस्य दोहोरिने समस्या थियो तर कर्जा सूचना केन्द्रमा आबद्ध भएपछि त्यहाँको रिपोर्टले यसलाई पारदर्शी बनाइदिएको छ । साथै, राष्ट्र बैंकबाट एकल ग्राहकको सिस्टम पनि राखेको छ । सबै संस्थाले एकल ग्राहकको सीमामा रहेर कर्जा प्रवाह गरे ऋणी सदस्य दोहोरिने समस्या कम हुन सक्छ । यसबाहेक ग्राहकलाई वित्तीय साक्षरता दिन जरुरी छ, जुन केन्द्रीय बैंकले पनि भनिरहेको छ । हामीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मार्फत काम गर्न खोजिरहेका छौं ।

धेरै संस्था भए दोहोरिने सम्भावना हुने हो । अहिले धेरै संस्था मर्जरमा पनि गएका छन् । कम संस्थामा दोहोरिने सम्भावना कम होला । पछिल्लो समय राष्ट्र बैंकले एजीएमका लागि स्वीकृति गर्न जाँदा सीआईबीको क्लियरिङ नभएसम्म नगर्ने भनेको छ ।

लघुवित्तहरू धमाधम मर्जर तथा प्राप्तिमा गइरहेका छन् । महिला लघुवित्तको पनि कुरा चलेको थियो । यसबारे अबको योजना के छ ?
मर्जरबारे संस्थाहरूबीच व्यापक छलफल गरेका छौं । पहिल्यै मर्जर कमिटी पनि बनाइसकेका छौं । केही चरणको कुराकानी अघि पनि बढाइसकेको हो । नेपाल धितोपत्र बोर्डमा आईपीओका लागि दर्ता गरेर इस्यु म्यानेजर तोकेपछि मर्जर गर्दा फेरि रद्द हुने कारणले अहिलेलाई मर्जर स्थगित गरेका हौं । अब आईपीओबाट क्लियर भइसकेपछि मर्जरमा जाने योजना छ । मोटामोटी राष्ट्रिय स्तर र प्रदेश स्तरका दुइटा लघुवित्त वित्तीय संस्थाहरूसँग मर्जर गर्ने योजना छ ।

बिनाधितो कर्जा धेरै खराब कर्जामा जाने जोखिम हुने बताइन्छ । यस्ताखाले जोखिमको व्यवस्थापन कसरी गर्दै आउनुभएको छ ?
लघुवित्तका कार्यक्रम ग्रामीण मोडलमा आधारित हुन्छ । यसो हुदा हाम्रो अनुभवमा सामूहिक जमानीमा लगानी गरेको कर्जामा धेरै जोखिम हुँदैन । बरु धितोमै लगानी गर्ने कर्जामा जोखिम हुन सक्छ । राष्ट्र बैंकको निर्देशनअनुसार कुल लगानीको ३३ प्रतिशत धितोमा लगानी गर्न सकिने व्यवस्था छ । तर, हामीले १५ प्रतिशत लगानी मात्रै धितोमा आधारित गरेका छौं । अझ धितोमा लगानी गर्ने ठाउँ छ तर बिनाधितोको कर्जा सामूहिक जमानीमा लगानी हुने भएकाले जोखिम छैन ।

कोभिडका कारण व्यवसायमा प्रभाव परेपछि असुलीमा कस्ता समस्या आए ?
कोभिडका बेला अलि आत्तिए पनि अब केही सामान्य हुँदै छ । चैतसम्म हामी सबैखाले कर्जालाई सामान्य अवस्थामा ल्याइसक्छौं । त्यसका लागि रणनीति पनि बनाएका छौं । यसबारे व्यवस्थापनसँग छलफल गरेर शाखाहरूमा परिपत्र जारी गरेका छौं ।

भावी योजना के–के छन् ?
नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्न अब प्राविधिक विषयमा जोड दिनुपर्छ । सर्वसाधारणका लागि अझै वित्तीय साक्षरता अघि बढाउनुपर्नेछ । कर्मचारीलाई पनि प्राविधिक रुपमा त्यत्तिकै दक्ष बनाउनुपर्ने चुनौती छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीजस्तो विश्वास दिलाउन लघुवित्तमा पनि अब मोबाइल बैंकिङ पहुँच पुर्‍याउनुपर्छ । हामी नयाँ प्रविधिमा अब अघि बढ्दै छौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्