ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एक किलोग्राम कमलको जराको मूल्य ५ सय रुपैयाँ

२०७७ माघ, २९  
प्रदेश ०५
Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटमा रहेको कमल दहबाट कमलको डाँठ निकालेर बिक्री गर्न थालिएको छ । गाउँपालिकाले यो वर्षका लागि कमलका डाँठ निकाल्ने ठेक्का आह्वान गरेको थियो ।

स्थानीय रमितकुमार शाहले अधिकतम रकम कबोलेर यो ठेक्का लिएका हुन् ।

गाउँपालिकाले न्यूनतम एक लाख रुपैयाँ तोकेर ठेक्का आह्वान गरेकामा शाहले एक लाख १५ हजार एक सय रुपैयाँमा डाँठ निकाल्ने जिम्मा पाएका हुन् ।

यो वर्ष कमलको डाँठ बिक्री वितरणको मूल्यसमेत निर्धारण गरिएको छ । प्रतिकिलो ५ सयका दरले कमलको डाँठ बिक्री गर्ने गरी सम्झौता भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिए ।

यसअघि मनपरी भएको गुनासो आएपछि ठेकेदारसित प्रतिकिलो ५ सय रुपैयाँका कमलको डाँठ बिक्री गर्ने गरी सम्झौता भएको दाहालले बताए ।

कमल निकाल्नेहरूको दर पनि कायम गरिएको छ । कमल दहको बीचबीचमा गएर कमलको डाँठ निकाल्ने पुरुषले एक दिनको ६ सय, छेउछाउमा निकाल्ने पुरुषले ५ सय र महिलाका लागि ४ सय रुपैयाँ कायम गरिएको छ ।

माघ १८ गतेदेखि सुरु गरिएको डाँठ निकाल्ने काम चैत १७ गतेसम्म चल्ने गरी गाउँपालिका र ठेकेदारबीच सम्झौता भएको छ ।

कमलको डाँठबाट अचार बनाउने गरिएको छ । स्वास्थ्यवद्र्धक मानिने यसबाट जन्डिस लागेकालाई फाइदा हुने स्वास्थ्यकर्मी बताउँछन् ।

यहाँ हरेक वर्षको एकपल्ट कमलको डाँठ निकाल्ने प्रचलन छ । स्थानीय तह गठन भएपछि सिस्ने गाउँपालिकाले कमलको डाँठ निकाल्ने र बिक्री गर्दै आएको छ ।

कमलको डाँठको स्वदेशका विभिन्न ठाउँ र विदेशबाट समेत माग हुने गर्दछ । स्थानीय तथा जिल्लाबासीले देशका विभिन्न ठाउँका साथै विदेशमा समेत यसलाई कोसेलीका रूपमा पठाउने गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्