केही जलविद्युत् कम्पनीले वार्षिक साधारणसभा नगरेको तथा त्यसको विवरण नबुझाएको भनी तिनको किनबेच गर्न नेप्सेमा रोक लगाइयो । यसबाट लगानीकर्ता मर्कामा परेका छन् ।
धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूले केही शर्तहरू पूरा गर्नैपर्छ । तर, तीमध्ये कतिपय समूहका कम्पनीलाई नियमन गर्ने निकायको अभाव छ । जलविद्युत् क्षेत्र यस्तै क्षेत्र हो । त्यसैले यस क्षेत्रमा साधारणसभा नगर्ने, अडिट रिपोर्ट पनि विश्वास गर्न नसकिने खालेका हुने जस्ता समस्या छन् । प्रवद्र्धकहरूबीचको विवादले कम्पनी नै समस्यामा परेको समेत पाइन्छ । यस्तोमा ती कम्पनीहरूलाई निमयनको दायरामा ल्याउन आवश्यक छ । तर, शेयर कारोबार रोक्का गर्दा साना लगानीकर्ता मर्कामा परेका छन् । शेयर बेचेर आफ्ना व्यवहार मिलाउँला भनी तयार लगानीकर्ता अहिले बिचल्लीमा परेका छन् ।
शेयर कारोबार रोक्का गरिएका कम्पनीहरूको कारोबार कहिले खुल्छ हामी लगानीकर्ताको चासो हो । यी कम्पनीले आर्थिक वर्ष ७५/७६ लेखापरीक्षण गरिएको विवरण बोर्ड, नेप्सेमा बुझाएर आफ्नो वेबसाइटमा लगानीकर्ताको जानकारीको लागि राखेपछि मात्र कारोबार खुला गरिनेछ । विवरण नबुझाए उनीहरूको कारोबार खुलाउन ढिला हुन देखिन्छ । आफ्नो आम्दानीको ठूलो अंश यसमै लगानी गर्ने लगानीकर्ताहरू पनि छन् । साधारण सदस्यले कम्पनीलाई यस्तो विवरण बुझाउन दबाब दिन सक्दैनन् । कम्पनी कार्यालयमा सम्पर्क गर्दा गोलमटोल जवाफ दिने गरिएको छ । लगानीकर्ता संगठित छैनन् । त्यसो हुँदा एकदुई जनाको विरोधलाई सञ्चालकहरूले सुन्दै सुन्दैनन् । शेयरधनीमा अधिकार छ भनिए पनि त्यो उपयोग गर्न त्यति सहज छैन । त्यसैले कम्पनीका सञ्चालकहरूलाई चेतावनी दिने, आर्थिक कारबाही गर्नेलगायत काम गर्नु आवश्यक छ । एकैचोटि कारोबार बन्द गर्दा लगानीकर्ता मर्कामा परेको कुरोमा धितोपत्र बोर्ड र नेप्सेको ध्यान जानु जरुरी छ ।
मुकेश काफ्ले
एक लगानीकर्ता