बैतडी । देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसहित थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० ओटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन् ।
स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरू छनोट भएका हुन् । छनोट भएकाहरूले १०० दिनको रोजगारी पाउने बताइएको छ । बैतडीमा रहेका स्थानीय तहमध्ये सुर्नया गाउँपालिकामा सबैभन्दा बढी ८३३ ले रोजगारी पाउने भएका छन् । गाउँपालिकामा ४ हजार २०० ले आवेदन दिएकोमा उक्त संख्यामा छनोट भएको रोजगार संयोजक सुरेन्द्र धामीले जानकारी दिए । ‘उक्त कार्यक्रमका लागि चार करोड ३३ लाख निकासा भएको छ,’ उनले भने ।
जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका छन् भने पाटन नगरपालिकामा ७६२ छनोट भएका छन् । पाटनमा सात हजार आवेदन परेको थियो । पाटनमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन करोड ९६ लाख बजेट निकासा भएको छ ।
यस्तै मेलौली नगरपालिकामा आवेदन दिएका एक हजार २४ मध्ये २७१ छनोट भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मेलौलीमा एक करोड ४४ लाख निकासा भएको छ । दशरथचन्द नगरपालिकामा एक हजार ६८२ ले आवेदन दिएकामा ४०० ले रोजगारी पाउने भएका छन् । दशरथचन्द नगरपालिकामा सो कार्यक्रमका लागि दुई करोड बजेट निकासा भएको छ ।
डिलाशैनी गाउँपालिकामा ३३४ ले रोजगारी पाउने भएका छन् । यसका लागि एक करोड ७२ लाख ६८ हजार निकासा भएको छ । यस्तै एक करोड ३९ लाख ५७ हजारको निकासा भएको दोगडाकेदार गाउँपालिकामा २७० ले रोजगारी पाउने भएका छन् । पञ्चेश्वर गाउँपालिकामा ५३८ प्रधानमन्त्री रोजागार कार्यक्रम अन्तर्गत छनोट भएका छन् । सिगास गाउँपालिकामा ४५१ ले रोजगारी पाउनेछन् । यहाँ दुई करोड १५ लाख ८६ हजार निकासा भएको छ । शिवनाथ गाउँपालिकामा ४२३ ले रोजगारी पाउनेछन्, जसका लागि २ करोड १८ लाख बजेट निकासा भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत केही पालिकाले काम शुरू गरिसकेका छन् भने केही पालिकाले योजना छनोट गरिरहेको बताइएको छ । कोरोना महामारीका कारण रोजगार गुमाएर जीविकोपार्जनमा समस्या भएका नागरिकलाई छनोट गरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगारी दिइएको स्थानीय तहहरूले बताएका छन् । रासस
अगरबत्ती काम छ