ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

फर्निचर तथा फर्निसिङको व्यापार ५० प्रतिशतले घट्यो

२०७७ माघ, ३०  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । घर तथा कार्यालयमा प्रयोग हुने फर्निचर र फर्निसिङका सामग्रीको व्यापार ५० प्रतिशतले घटेको छ । महामारीको प्रभावका कारण व्यापारमा कमी आएको हो । बन्दाबन्दीपछि व्यापार केही सुध्रिएजस्तो देखिए पनि पूर्ण रूपमा व्यापारले लय समातिनसकेको सरोकारवालाहरू बताउँछन् ।

महामारीको प्रभावले गर्दा उपभोक्ताको आम्दानी घट्न गई अत्यावश्यक उपभोगका वस्तु मात्र खरिद गरिँदा यस्ता सामग्रीको माग घटेको हो । यसले गर्दा व्यापार खस्किएको हो । एकातिर उपभोक्ताको आम्दानी घट्नाले घर निर्माणका कार्य कम भएको र अर्कातिर स्कुल, कलेज तथा कार्यालसमेत पूर्ण रूपमा नखुलेको अवस्थाले गर्दा व्यापारले लय समात्न नसकेको नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधानले बताए ।

उनका अनुसार बन्दाबन्दीपछि करिब ७० प्रतिशत फर्निचर उद्योग मात्र सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका उद्योगहरू पनि व्यापार राम्रो नभएका कारण पूर्ण क्षमतामा चल्न सकेका छैनन् ।

‘सामान्य अवस्थामा दुई सिफ्ट चल्ने फर्निचर उद्योगहरू अहिले एक सिफ्ट मात्रै चलेका छन् । व्यापार घटेकाले बन्दाबन्दीको समय घर गएका कामदारलाई अहिलेसम्म बोलाउन सकिएको छैन,’ उनले भने ।

वार्षिक ४० अर्ब रुपैयाँको कारोबार रहेको यस उद्योगमा २ लाखभन्दा बढीले रोजगारी पाएका छन् भने १२ हजार व्यवसायी आबद्ध छन् । यद्यपि नेपाल फर्निचर तथा फर्निसिङका सामग्रीमा आत्मनिर्भर भने भइसकेको छैन ।

अहिले पनि नेपालको फनिर्चर व्यवसाय ५० प्रतिशत आयातमै निर्भर रहनुपर्ने अवस्था छ ।

वार्षिक रूपमा कारोबार हुने कुल ४० अर्बमा करिब २० अर्ब रुपैयाँ बरावरको कच्चा पदार्थ तथा तयारी सामान भारत, चीन, मलेसिया, इन्डोनेसियालगायत अन्य विभिन्न युरोपियन देशबाट आयात गरिने संघले जनाएको छ । विशेषगरी घर तथा विभिन्न कार्यालयमा प्रयोग हुने कुर्सी, टेवल, बेन्च, सोफा, पलङ, गलैंचा, डोरम्याटलगायत सबै प्रकारका सामानको उत्पादन संघमा आबद्ध उद्योगहरूले गर्दै आएका छन् ।

विदेशवाट आयात भएका तयारी सामान बढी आकर्षक र मूल्य पनि कम हुने भएकाले नेपालमै उत्पादन भएका स्वदेशी फर्निचरका सामानप्रति उपभोक्ताले खासै रुचि देखाउँदैनन् । यसले गर्दा उत्पादनमा विविधता ल्याउनुका साथै उपभोक्ताको रोजाइलाई परिवर्तन गर्न सक्ने खालका उत्पादनतर्फ जोड दिनुपर्ने चुनौती रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्