ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

विद्युत् विकासको जग बसाल्ने आयोजना : फर्पिङ जलविद्युत्

२०७७ माघ, ३०  
विकास
Image Not Found

नेपालको पहिलो र एशियाको दोस्रो जलविद्युत् आयोजना भनेर चिनिएको फर्पिङ जलविद्युत् आयोजनाको १९६८ जेठ ९ गते तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट साँझ साढे ६ बजेतिर टुँडीखेलमा बत्ती बालेर उद्घाटन भएको थियो । प्रधानमन्त्री चन्द्रशमशेर जबराको कार्यकालमा निर्मित उक्त जलविद्युत् आयोजनाको नाम चन्द्रज्योति राखिएको थियो । करीब ४ वर्ष लगाएर निर्माण गरिएको यो आयोजनाको लागत सो समयमा ७ लाख १३ हजार २७३ रुपैयाँ ८२ पैसा परेको बुझिन्छ ।

बेलायती उपकरण र प्राविधिकहरूको उपयोग गरेर बनाइएको यो आयोजनाले सत्मुले र शेष नारायण क्षेत्रका मूलहरूबाट पानी संकलन गरी सो पानी करीब २०० मिटर झारेर ५०० किलोवाट विद्युत् उत्पादन गरिएको थियो । उत्पादित विद्युत् करीब १२ किलोमिटर वर रहेको काठमाडौं शहरका विशेषगरी राणा परिवार र हुनेखाने नगरवासीलाई वितरण गरियो ।

त्यतिबेला विद्युत् संसारमै नौलो प्रविधि थियो । यद्यपि नेपालमा बेलायतीहरूको सहयोगमा सो प्रविधि भित्र्याइएको हो । यो चुनौतीपूर्ण कामको कार्यान्वयन गर्न तत्कालीन सरकारले राणा परिवारका वरिष्ठ सदस्यहरू नै परिचालन गरेको देखिन्छ । पद्मशमशेर राणा सो आयोजना प्रमुख थिए भने मोहनशमशेर र केशवशमशेरले मेशिनेरी सामानको ढुवानीको जिम्मा लिएका थिए । किशोर नरसिंह राणा कार्यकारी इन्जिनियर र कुमार नरसिंह राणा सुपरिटेण्डिङ इञ्जिनीयरको हैसियतमा कार्यरत थिए । लप्टन देवीबहादुर र सुवेदार हर्ष बहादुरलाई प्रसारण लाइनको जिम्मेवारी सुम्पेको थियो । यसरी राणा परिवारले यो आयोजनालाई उच्च प्राथमिकता दिई आफ्ना वरिष्ठ सदस्यहरूलाई संलग्न गराई आउने समस्याहरू सल्टाएर काम अगाडि बढाएको देखिन्छ । त्यतिबेला नेपालमा सञ्चार, बाटो, दक्ष प्राविधिक, सबैको अभावमा पनि यो आयोजना आँटेर निर्माण गर्नु कुनै सानो कुरा भने पक्कै थिएन । आश्चर्यको विषय त जलविद्युत् आयोजना निर्माणमा १२० वर्षअघि र अहिले उस्तै प्रकृतिका चुनौती देखिन्छन् । त्यतिखेर राणा परिवार नै लागेर सहजीकरण गरेका सामान ढुवानी, प्रसारण लाइन, प्राविधिक र दक्ष जनशक्तिको अभावले दिएका समस्या अहिलेका पनि चुनौती हुन् ।

निर्माण सम्पन्न भएको ११५ वर्षभन्दा बढी भइसक्दा पनि यो आयोजनाले अझै पनि विद्युत् उत्पादन गर्न सक्दछ । तर सो स्थानमा बढेको शहरीकरण र त्यसले खानेपानीको आपूर्तिमा पारेको चापको कारण सो जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्न प्रयोग भएको पानी स्थानीय बासिन्दाको उपभोगका लागि प्रयोग गर्न थालिएको छ । यसको कारण विद्युत् उत्पादन गर्ने काम बन्द भएको छ । यो आयोजना क्षेत्रमा वैज्ञानिक अनुसन्धान केन्द्र निर्माण गर्ने, वायु सौर्य तथा जलविद्युत् सबैको प्रयोग गरी नमूना विद्युत् केन्द्र निर्माण गरी जीवति ऊर्जा संग्रहालयको रूपमा विकास गर्ने कार्यक्रम तय गरिएको छ । यो काम कहिले सम्पन्न गरिने भन्ने टुंगो छैन ।

राणाकालमा रैतीहरू साँझमा टुँडीखेलमा बत्ती बलेको हेरेर घर जाने र आफ्नो झुपडीमा टुकी वा दियालोको उज्यालोमा रात काट्नुपर्ने अवस्था थियो । फर्पिङबाट उत्पादित विद्युत् तत्कालीन हुनेखानेका लागि थप सम्पन्नता प्रदर्शन गर्ने माध्यम बन्यो । त्यसबेला विद्युत्बाट उद्योग वा कलकारखाना सञ्चालन गर्ने सोच नै भएन । बिजुलीको उपयोगमा हामीले शुरूदेखि नै गलत अभ्यास गरिरहेका छौं । र, त्यसलाई निरन्तरता दिइनै रहेका छौं । हाम्रा नीति तर्जुमा गर्नेहरूले विद्युत्लाई उपभोग्य वस्तुको रूपमा मात्र बढावा दिएको पाइन्छ, जब कि हामीले यसलाई एउटा उत्पादनको माध्यम बनाउनु आवश्यक थियो र छ । अहिले पनि हामीले हाम्रो अर्थतन्त्रको कुन क्षेत्रमा कति विद्युत् खपत बढाउने भनेर यकिन गर्न सकिरहेका छैनौं । हाम्रो कृषि, पर्यटन, उद्योग, पारवाहन, सबैलाई विद्युत्को उपयोगबाट आधुनिक गराउनुपर्छ र उत्पादकत्व बढाउनुपर्छ भन्ने सोचलाई सार्थक बनाउन नीतिनियम बन्न सकेका छैनन् । हामीमध्ये कति त देशलाई बिजुली पर्याप्त भइसकेको भनेर थप विद्युत् उत्पादन गर्न नहुने तर्क अघि सारिरहेका छौं । यी तर्क र निष्क्रियता विद्युत्को सन्दर्भमा राणाकालीन सोचभन्दा फरक छैनन् ।

हामी आज विद्युत् अन्तरराष्ट्रिय बजारमा बेच्न पनि सक्छौं । हाम्रा छिमेकीहरूले हाम्रो सफा जलविद्युत् आयात गरेर उनीहरू समृद्घ बन्न सक्ने सपना देखिसकेका छन् । तर हामी न विद्युत् उत्पादन गरेर अफ्नो खपत बढाउन केन्द्रित भएर लाग्न सकेका छौं, न त निर्यातका लागि सस्तो र भरपर्दो विद्युत् उत्पादन गर्न आवश्यक नीतिनियम तथा पूर्वाधार विकास गर्न सकिरहेका छौं । हामी अझै पनि चन्द्रशमशेरकै पालामा जस्तो पहुँचमार्ग, प्रसारण लाइन तथा दक्ष प्राविधिकको अभाव छ भन्दै आफ्नो देशको जलस्रोतको विकास गर्न विदेशी गुहार्न तल्लीन छौं ।

फर्पिङ जलविद्युत् आयोजनाले पूर्वाधार विकास, विशेषगरी जलविद्युत् विकासबारे पनि राम्रो पाठ सिकाएको छ । जलविद्युत् केन्द्रहरू भनेका सामान्य मर्मतसम्भारको भरमा, सयौं वर्षसम्म सुविधा उपलब्ध गराउन सक्ने सेवा प्रदायक संरचना हुन् । त्यसैले यस्ता आयोजनाको छनोट गर्दा यसले समाजमा दीर्घकालसम्म पुर्‍याउन सक्ने असरहरूको गहन अध्ययन गरिनुपर्छ । पूर्वाधार आयोजनाको आर्थिक मूल्यांकन र उत्पादनको मूल्य निर्धारण पनि यसको आयुलाई विचार गरेर गरिनु पर्दछ । यसो गरियो भने उपभोक्तालाई विद्युत्को भाउ सस्तो पर्छ । फर्पिङ जलविद्युत् आयोजना जस्ता पूर्वाधारहरू राष्ट्रका सम्पत्ति हुन् । यिनीहरूले प्रदान गर्न सक्ने सेवा तथा उत्पादन खेर जान नदिई सदुपयोग गर्दा राष्ट्रलाई नै फाइदा हुन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्