ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मौद्रिक नीतिको प्रभाव : शेयरबजार परिसूचक हालसम्मकै उचाइमा

२०७७ फागुन, ४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । शेयर धितो कर्जामा कडाइ हुने आकलन गरेर आइतवार घटेको शेयबजार नेपाल राष्ट्र बैंकको मौद्रिक समीक्षाले यस्तो कडाइ नगरेपछि सोमवारको शेयरबजार ऐतिहासिक उचाइमा पुगेको छ ।

सोमवार बजार ३ दशमलव ७१ प्रतिशत बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यस दिन बजार २ हजार ५८६ दशमलव शून्य १ विन्दुमा पुगेर बन्द भयो । गत माघ २६ गते बजार २ हजार ५६१ विन्दुमा पुगेको थियो । उक्त दिनको ऐतिहासिक विन्दुलाई सोमवारको बजारले पार गरेको हो । २ हजार ५१७ दशमलव ४६ विन्दुदेखि खुलेको सोमवारको बजार अघिल्लो कारोबार दिनको तुलनामा ९२ दशमलव ४२ अंकले बढेको थियो । आइतवार ३३ दशमलव ३३ अंकले घटेर बजार २ हजार ४९३ दशमलव ५९ विन्दुमा बन्द भएको थियो ।

सोमवार कुल बजार पूँजीकरण रू. ३५ खर्ब ६३ अर्ब ३९ करोड ६० लाख २७ हजार कायम भएको छ । आइतवार यो रकम रू. ३३ खर्ब ६१ अर्ब २५ करोड १० लाख ३१ हजार थियो । एकै दिन कुल बजार पूँजीकरण रकम रू. २ खर्ब २ अर्ब १४ करोड ४० लाख बढेको छ ।

आइतवार साझ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो । यसअघि अर्धवार्षिक समीक्षामार्फत शेयर धितोकर्जाको सीमालाई घटाउने हल्लाले बजार प्रभावित बनेको थियो । तर, राष्ट्र बैंकले विद्यमान ७० प्रतिशतको शेयर धितोकर्जाको सीमालाई यथावत् राखेसँगै लगानीकर्ताहरू उत्साहित भएकाले सोमवारको बजार सकारात्मक देखिएको हो ।

सोमवार रू. १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार बराबरको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता शेयर कारोबार भएको छ । २०५ कम्पनीको ६८ हजार ३१९ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । कुल कारोबारमा सर्वाधिक अंश यो दिन निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ओगटेको छ । कम्पनीको रू. ७० करोड ४८ लाख ४९ हजार बराबरको शेयर कारोबार भएको हो । नेप्सेले उच्च विन्दु कायम गरेको दिन पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ४ दशमलव शून्य ३ विन्दुले घटेको छ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ ले घटेर अन्तिम मूल्य रू. १४३ कायम भएको हो ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई माध्यम बनाएर बजार घटाउने खेलमा लागेका व्यक्तिहरू असफल भएको प्रतिक्रिया दिए । वाणिज्य बैंकहरूले लघुवित्त कम्पनीहरूलाई प्रवाह गर्दै आएको कर्जा सापटी कटौती र मार्जिन कर्जाको सीमा घटाउने विषय मौद्रिक नीतिको समीक्षामा समेटिने हल्लाका कारण कतिपय लगानीकर्ताहरू आत्तिएकाले गत सातादेखि नै बजार प्रभावित बनेको उनी बताउँछन् । तर, नीतिले यसबारे केही परिवर्तन नगरेपछि बजारले सकारात्मक गतिलाई अघि बढाएको रौनियारको भनाइ छ । यस दिन नेप्से परिसूचकसँगै ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १५ दशमलव ३३ अंक अर्थात् ३ दशमलव ३७ प्रतिशत बढेर ४६९ दशमलव ४४ विन्दुमा पुगेको छ । सोमवारको बजारबाट लघुवित्त समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । यस दिन लघुवित्त समूहको परिसूचक ८ दशमलव ७४ प्रतिशतले बढेको छ । ११ लघुवित्त कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यो दिन ३७ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि हुँदा ३३ लघुवित्त कम्पनी रहेका छन् । लघुवित्तबाहेक नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालयन उर्जा विकास कम्पनी, एशियन लाइफ इन्स्योरेन्स र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।

दश प्रतिशत शेयरमूल्य बढ्ने कम्पनीहरूमा छिमेक लघुवित्त, ग्रामीण विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त , एनएमबी माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त, सामुदायिक लघुवित्त, आशा लघुवित्त र स्वाभिमान लघुुवित्त रहेका छन् ।

यस दिन लघुवित्त समूहसँगै कारोबारमा आएका १२ समूहकै परिसूचक बढेको छ । यस दिन बैंकिङको ३ दशमलव २१ प्रतिशत, व्यापारिकको २ दशमलव ४८ प्रतिशत, होटल्सको १ दशमलव १७ प्रतिशत, विकास बैंकको १ दशमलव ९१ प्रतिशत, जलविद्युत्को ३ दशमलव ३९ प्रतिशत, वित्तको २ दशमलव ९६ प्रतिशत, निर्जीवन बीमाको ३ दशमलव ४५ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ७७ प्रतिशत, अन्यको ३ दशमलव १५ प्रतिशत, जीवन बीमाको ३ दशमलव ८६ प्रतिशत र म्युचुअल फन्डको १ दशमलव ४५ प्रतिशत परिसूचक बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्