ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गण्डकी प्रदेशमा ९ खेलकुद पूर्वाधार निर्माणको सम्झौता

२०७७ फागुन, ४  
गण्डकी प्रदेश
NA

कास्की । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा ९ खेलकुद पूर्वाधार निर्माणका लागि सम्झौता गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिका बीचमा आइतवार पोखरामा सम्झौता भएको हो । बजेट कार्यक्रममा परेका पूर्वाधार निर्माणका लागि यसअघि संघीय राजधानी गएर सम्झौता गर्नुपर्नेमा यसपटक सम्बन्धित प्रदेशमै निर्माण सम्झौता कार्यक्रम गरिएकाले उपभोक्ता समितिलाई सहज भएको राखेपले बताएको छ ।

कास्कीसहित पर्वत, लमजुङ, तनहुँ, म्याग्दी, गोर्खालगायत जिल्लामा ९ ओटा पूर्वाधार निर्माणका लागि स्थानीय उपभोक्ता समितिसँग एक करोड ९५ लाख बराबरको सम्झौता गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए । पोखराको ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ६३ हजार ८६ लागत अनुमान रहेकोमा बाँकी रकम समितिले बेहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।  

लमजुङको राइनास नगरपालिका–६ स्थित गौलीटार रंगशाला निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । सो रंगशालाको लागत अनुमान ५५ लाख ९२ हजार १६१ रुपैयाँ रहेको छ । लमजुङको कभर्डहल निर्माणका लागि १० लाख, म्याग्दीको बेनी रंगशाला निर्माणका लागि १० लाख, पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि १० लाख, तनहुँको चिन्टुटार रंगशाला निर्माणका लागि १० लाख, म्याग्दीको रत्नेचौर बहुउद्देश्यीय खेल मैदानका लागि १० लाख, बागलुङमा मदन भण्डारी कभर्डहल निर्माणका लागि १० लाख र गोरखा रंगशाला स्तरोन्नतिका लागि १० लाख उपलब्ध गराउने गरी सम्झौता गरिएको छ । सम्झौताका अनुसार सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम आगामी २०७८ वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

यसैबीच, राखेपको आयोजनामा गण्डकी प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम आइतवारदेखि पोखरामा शुरू भएको छ । कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन, अन्तरराष्ट्रिय पदक विजेता खेलाडी, भेट्रान खेलाडी र स्थानीय खेल संघका प्रतिनिधि गरी १४९ को सहभागिता छ । कार्यक्रममा सदस्यसचिव सिलवालले गण्डकी प्रदेशलाई खेलकुद पर्यटनको शहरका रूपमा विकास गर्ने योजनाअनुसार पूर्वाधार निर्माणमा लगानी वृद्धि गरिएको बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्