ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

काठ आपूर्ति सहज भएपछि निर्माण अघि बढ्यो

२०७७ फागुन, ४  
वाग्मती प्रदेश
NA

काठमाडौं । सहजरूपमा काठ आउन थालेपछि विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं दरबार क्षेत्र (हनुमानढोका क्षेत्र)का ऐतिहासिक सम्पदा पुनर्निर्माणले गति लिएको छ । निर्माण भइरहेका एतिहासिक सम्पदाको काम काठ अभाव हुँदा अघि बढ्न सकेको थिएन ।

विगत दुई हप्ताअघिदेखि काठ आयात सहज भएपछि निर्माणले पुनः गति लिएको हो । ठूला र लामो काठको अभावमा यस क्षेत्रको नौतले दरबार र दश अवतार मन्दिरको काम अवरुद्ध भएको थियो । अहिले ती दुवै सम्पदाको निर्माणको काम तीव्ररूपमा भइरहेको छ । यी दुवै सम्पदा निर्माणका लागि १० फिटभन्दा लामा काठ आवश्यक परेको थियो ।     

निर्माणको चरणमा रहेको ऐतिहासिक नौतले दरबारको निर्माणको काम ८० प्रतिशत र दश अवतार मन्दिरको ७० प्रतिशत काम सम्पन्न भएको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । यस क्षेत्रका २७ सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् । यहाँ रहेका ७० सम्पदामध्ये १२ ओटामा भूकम्पले क्षति गरेको थिएन । भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये ११ ओटाको पुनर्निर्माण भइरहेको अड्डाले बताएको छ ।  प्रमुख खनालका अनुसार अहिले बनिरहेका सम्पदाको काम नसकी काम शुरू गर्न नमिल्ने भएकाले २० सम्पदाको काम अझै हुन सकेको छैन । हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार चीन सरकारको अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ । कोरोना महामारीका कारण नौतले दरबार पुनर्निर्माणमा केही ढिलाइ भएको छ । नौतले दरबार सन् २०२२ सम्ममा सक्नेगरी सम्झौता भएको अड्डाले जानकारी दिएको छ । यसैगरी गद्दी बैठक अमेरिकाको सहयोगमा पुनर्निर्माण सम्पन्न भइसकेको छ । जगन्नाथ र गोपीनाथ मन्दिर बागमती प्रदेश पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पुनर्निर्माण भइरहेको छ । नासलचोक पश्चिमको राणाकालीन सेतो भवन र नासलचोक तथा गद्दी बैठकबीचको भवन पनि हनुमानढोका दरबार संग्रहालय विकास समितिमार्फत पुनर्निर्माण भइरहेको छ । आगम्छे घर र शिव मन्दिर जापानी सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको बताइएको छ । मोनकाली चोक, मूलचोक, नासल चोकलगायत यहाँका अन्य महŒवपूर्ण सम्पदा हुन् । भूकम्पका कारण क्षति भएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खोलिने भएको छ । पुनर्निर्माणपछि तत्काल खोल्ने भनिए पनि केही आन्तरिक तयारी गर्नुपर्ने भएकाले अझै केही समय लाग्ने बताइएको छ । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक २०७५ असारमै नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उद्घाटन गर्नुभएको थियो ।     

विदेशीलाई स्वागत गर्न विशिष्ट किसिमको छुट्टै बैठक कक्षको आवश्यकता महसूस गरेर तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा १९६५ सालमा वसन्तपुर दरबारमा यूरोपेली वास्तु शैलीमा बेलायती बैठक (गद्दी बैठक) निर्माण गरिएको थियो । शुरूमा यो भवनमा विदेशी पाहुनासँग राजाको औपचारिक भेटघाट आयोजना हुन्थ्यो । राजा नारायणहिटी दरबारमा बस्न थालेपछि यसको प्रयोग कम हुँदै गयो । अहिले यसको प्रयोग राष्ट्रप्रमुखले जीवित देवी कुमारीको दर्शन र वसन्त श्रवण गर्दा मात्र हुन्छ ।

काष्ठमण्डप पुनर्निर्माण ८५ प्रतिशतभन्दा सम्पन्न
हनुमानढोका क्षेत्रको अर्को महत्त्वपूर्ण सम्पदाका रूपमा रहेको काष्ठमण्डप पुनर्निर्माण आगामी वैशाखमा सक्नेगरी भइरहेको छ । अहिले ८५ प्रतिशतभन्दा बढी काम सकिसकेको छ । यसको पुनर्निर्माणका लागि १९ करोड खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण समितिलाई आवश्यकत अनुरूप रकम प्रवाह गरिरहेको छ । पुनर्निर्माणका लागि १७ हजार ५८ घनफिट काठ आवश्यक पर्ने बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्