ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चिनी मिललाई उखु अभाव

२०७७ फागुन, ४  
सुदूरपश्चिम प्रदेश
Image Not Found

कञ्चनपुर । कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो ।

बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर इन्डष्ट्रिज र पुनर्वास नगरपालिकामा सञ्चालित भागेश्वर चिनी मिललाई सिजनमा ६० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङका लागि आवश्यक पर्दछ । दुवै मिलले सिजनमा मुश्किलले ४० लाख क्विन्टल उखु मात्रै क्रसिङ गर्दै आएका छन । उखु अभाव भएपछि निर्धारित समयअगावै मिल बन्द गर्नुपर्ने अवस्था आएको महाकाली सुगर इन्डष्ट्रिजका प्रबन्धक सिडी पाण्डेयले बताए । ‘किसानलाई नयाँ प्रविधितर्फ आकर्षित गरी उन्नत जातका उखु लगाएमा उत्पादन बढाउन सकिन्छ,’ उनले भने ।     

किसानलाई उन्नत जातका उखु लगाउन सहयोग गरिएको उनको भनाइ छ । ६ ओटा उपकेन्द्रमा आबद्ध किसानलाई अनुदानमा कृषि उपकरणसमेत मिलका तर्फबाट उपलब्ध गराइएको इन्डष्ट्रिजका अर्का प्रबन्धक राजेश्वर शाहले बताए । कृषि उपकरणसँगै उखुखेती गर्ने आधुनिक तरिका किसानलाई सिकाइएको छ ।

‘पहिले एक बिघा जग्गामा २०० देखि ३०० क्विन्टल उत्पादन हुँदै आएकोमा हाल ५०० देखि ७०० क्विन्टल उखु उत्पादन हुँदै आएको छ,’ उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतन राईले भने, ‘यद्यपि उखु लगाउने थोरै जग्गा हुँदा चिनी मिलको क्षमताअनुसार उखु उत्पादन हुन सकेको छैन ।’ चाहेको बेला रासायनिक मल र कीटनाशक विषादी नपाउँदासमेत उत्पादन बढाउन कठिनाइ रहेको उनको भनाइ छ ।

उखु उत्पादन गर्दै आएका किसानलाई मिलमा उखु बेचेको २४ घण्टाभित्रै अनलाइन प्रणालीमार्फत भुक्तानी दिने व्यवस्था गरिएको उनको भनाइ छ । ‘चिनी मिलले भुक्तानी दिएको ६ महीनापछि मात्रै सरकारले अनुदानबापतको रकम उपलब्ध गराउँछ,’ उनले भने, ‘सरकारी अनुदानको रकम छिट्टै उपलब्ध गराउने व्यवस्था गरिए खेतीप्रति किसानको लगाव
बढाउन सकिन्छ ।’

मङ्सिरदेखि चैतको अन्तिम सातासम्म उखु मिल सञ्चालन हुने गरेका छन् । एक क्विन्टल उखुबाट १० किलोको हाराहारीमा चिनी उत्पादन हुने गरेको छ । चिनी मिलसँगै गाउँमा उखु पेल्ने कोल्हु (खाँडसारी उद्योग) समेत सञ्चालनमा छन् । कोल्हु सञ्चालकहरूले उखु पेलेर गुड बनाउने गरेका छन् । गुड बनाउन झण्डै तीन लाखदेखि पाँच लाख क्विन्टल उखु खपत हुने गरेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार कञ्चनपुरमा पाँच हजार ६३ हेक्टर क्षेत्रफलमा दुई लाख २२ हजार ३५७ मेट्रिक टन उखु उत्पादन हुने गरेको छ । सोमध्ये २०० बिघा क्षेत्रफलमा रेडक्रसले मर्सिकोरको सहयोगमा एमरेड परियोजनाअन्तर्गत बगरमा उखु लगाइने गरिन्छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्