वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकमबाट वीरगञ्जमा विद्यालयको कक्षाकोठा थप्ने काम शुरू भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयको कक्षा कोठाको सोमवार शिलान्यास भएको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य प्रदीप यादवले शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा यादवले शिक्षा क्षेत्रको विकास भएमात्र देशको सापेक्ष विकास सम्भव हुने बताए । ठूला पूर्वाधार बनाए पनि समाज शिक्षित नभएसम्म भौतिक विकासको मात्र अर्थ नहुने उनको भनाइ थियो ।
कक्षाकोठा निर्माणका लागि यादवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको कोषबाट २५ लाख रुपैयाँ दिएका छन् । यो रकमबाट चारओटा कक्षाकोठा निर्माण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार टेमानीले जानकारी दिए ।