ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भीड परिचालनको अर्थतन्त्र

२०७७ फागुन, ४  
लेख | दृष्टिकोण
Image Not Found

नक्कली भीड देखाउने परिपाटीको इतिहास पुरानै भए पनि यो प्रायः व्यवसाय प्रयोजनको निमित्त प्रयोग गरिने गरिन्थ्यो । कुनै पनि मेलामा, वा पसलमा मान्छे खरीद गरेर चासो देखाएझैं गराउन, र आफ्नो वस्तु सबैले रुचाएझैं देखाउन यसको प्रयोग भएको पाइन्छ । विभिन्न रियालिटी कार्यक्रममा समेत यस प्रकारको नक्कली जमात देखाइने गरिन्छ । विगत केही समयदेखि राजनीतिमा पनि यस प्रकारको भीड देखिन थालेको छ ।

भीडले आगामी दिनमा राजनीतिक दलको सफलता निर्धारण गर्ने हो होइन समयले नै पुष्टि गर्ला । तर, सहभागी र आबद्धदेखि आयोजकसम्मलाई फाइदा नै पुर्‍याउँदै गर्दा अर्थतन्त्रसमेत चलायमान पारेको देख्न सकिन्छ ।

आन्दोलन वा भीड दुई प्रकारले सृजना हुन्छ – एउटा प्राकृतिक रूपमा जस्तै १९४७ मा भएको भारतीय स्वतन्त्रता संग्रामको भीड । अर्को अप्राकृतिक भीड, जस्तै अमेरिकामा २०१५ मा भएको चुनावी अभियानमा डोनाल्ड ट्रम्पले नक्कली भीड प्रयोग गरेको तथ्य बाहिरिएको थियो । आफ्नो अभियानमा साथ दिने व्यक्तिहरूलाई केही रकम ओबामाले २००८ मा प्रयोग गरेका थिए, रोन पलले २०१२ मा गरेका थिए । तर, पछिल्लो समय यसको प्रयोग विश्वव्यापी देख्न थालिएको छ । लस एन्जल्समा अवस्थित क्राउड अन डिमान्ड नामक संस्थाले कुनै प्रकारको र्‍याली वा विरोध प्रदर्शनको निमित्त भीड जुटाउने काम नै गर्ने गर्छ । २०१२ मा स्थापित यस संस्थाले औपचारिक रूपमै आफ्नो सेवा अमेरिकाको सन फ्रासिस्को, न्यूयोर्क सिटी, वाशिङटन डिसीलगायत ठाउँमा सेवा प्रदान गरिरहेको भेटिन्छ । डोनाल्ड ट्रम्पले आफ्नो अभियानमा साथ दिने र समर्थन गर्ने परिचित अनुहारहरूलाई एउटा कार्यक्रमबापत ५० डलरसम्म दिएको तथ्य बाहिर निस्किएकै हो ।

नेपालमा पनि विगत केही समयदेखि यस प्रकारको भीड सृजना गर्ने होडबाजी चल्न थालेको छ । मूलतः आफ्नो समर्थनमा धेरै संख्या देखाउन भीड प्रदर्शन गर्ने गरिन्छ र यसलाई ‘शक्ति प्रदर्शन’ नाम पनि दिइन्छ । विश्वव्यापी यस प्रकारको चलनले सामान्यतया सबैलाई लाभान्वित गरेको देख्न सकिन्छ – आयोजकलाई ठूलो भीड देखाउन र भीडमा समावेश हुनेलाई केही राहतको लाभ । काठमाडौंमा आयोजना हुने यस प्रकारको भीडको निमित्त नजिकैको तराईका जिल्ला– सर्लाही, महोत्तरी, तथा सिन्धुपाल्चोक, रामेछाप, दोलखा, नुवाकोट, धादिङजस्ता जिल्लाबाट मानिसहरू ल्याइएको छ । औसतमा गाडी खर्च, दुई छाक खाना र खाजा, र केही सय रुपैयाँ गर्दा प्रतिव्यक्ति रू. १२००–१५०० सम्म पर्ने हुन्छ । मानौं गाडी खर्च ५००, दुई छाक खाना र खाजा ३०० मात्र हो भने पनि झन्डा, रिचार्जदेखि केही नगदी प्रावधान आवश्यक त पर्छ नै । यदि १ लाख व्यक्ति यस प्रकारको कार्यक्रममा उतारिएको छ भने कम्तीमा १२ करोडजति खर्च भएको अनुमान लगाउन सकिन्छ । ३ लाख मानिस जम्मा भएको दाबी छ ।

अमेरिका जस्तो राष्ट्रमै यसरी केही नगदको निमित्त भीडमा सम्मिलित हुनेहरूको होडबाजी चल्छ भने नेपालमा यो स्वाभाविक मान्न सकिन्छ । राजनीतिक दलहरूले यत्रो रकम कहाँबाट ल्याउँछन् भन्ने विषय गोप्य राखिए तापनि यस प्रकारको शक्ति प्रदर्शनबाट आफै वास्तविकता बाहिर आउँदै छ । गाउँको एउटा किसान आफ्नै लगानीमा काठमाडौं कुनै राजनीतिक दलको भाषण सुन्न आउँछ भनि अथ्र्याउनु मूर्खता मात्र हो । दुई छाक जोहो गर्न गाह्रो हुने अवस्थाका नागरिक समूह गाडी रिजर्भ गरेर आफ्नै खर्चमा पक्कै आउँदैन । सत्ता भनेको सेवा नभएर व्यवसाय गर्ने थलो हुन थालेपछि, त्यहाँबाट भ्रष्टाचार शुरू भइसकेको हुन्छ । अवस्था सामान्य भएमा चुनावको समयमा खर्चिने रकम पनि यही भ्रष्टाचारबाट उठाइन्छ । यस प्रकारको भीड आयोजना गर्दा केही विषय सिकाइएको हुन्छ, कति रकम तिरेको भन्नेबारे कसैलाई जानकारी दिन पाइँदैन । मिडिया हुन सक्छन् – तिनीहरूसँग बोल्न हुँदैन, कोही बोल्न आउन खोज्ला, खोजिनिति गर्न खोज्ला – केही भन्नु हुँदैन भनी राम्रोसँग सिकाइएको हुन्छ, जसले गर्दा सबै विषय गोप्य नै रहन जान्छ ।

कालै धन भए तापनि यस प्रकारको कार्यक्रमले अर्थतन्त्र चलायमान राख्न भने सहयोग गरी रहेकै हुन्छ । एउटा नागरिकलाई काठमाडौँ घुम्ने अवसर, पशुपति दर्शन गर्ने अवसर, दुई छाक मीठो खान पाउने, शहर गएर गर्नुपर्ने थाती राखिएको काम सक्ने मौका र केही सय रुपैयाँबाट छोराछोरीलाई केही किनिदिने अवसर प्रदान गर्छ । कोरोनाको कारण घाटामा गएका यातायात व्यवसायीलाई पनि गाडी रिजर्भ हुदा ठूलो राहत पुगेको हुन्छ । होटल व्यवसायीलाई पनि ठूलो संख्यामा खाना खुवाउन पाउँदा राम्रो आम्दानी हुने हुन्छ । जसले समग्र आपूर्ति चक्रमा राम्रो योगदान दिइरहेको हुन्छ र अर्थतन्त्र चलायमान राख्न सहयोग गरिरहेको हुन्छ ।

राजनीतिमा नक्कली भीडले कत्तिको प्रभाव पार्छ पार्दैन, उक्त भीडले आगामी दिनमा राजनीतिक दलको सफलता निर्धारण गर्ने हो हैन समयले नै पुष्टि गर्ने होला । यसले मूलतः सबैलाई फाइदा नै गरेको देख्न सकिन्छ । सहभागी र आबद्धदेखि आयोजकसम्मलाई फाइदा नै पुर्‍याउँदै गर्दा अर्थतन्त्रसमेत चलायमान पारेको देख्न सकिन्छ । तर, कुरा त्यतिमा सीमित हुँदैन, भ्रष्टाचारको चरम सीमाबाट गुज्रिरहेको अवस्था पुष्टि गर्छ । कसरी नेतृत्व आफ्नो व्यक्तिगत स्वार्थको निमित्त जनता प्रयोग गर्छन् भन्ने पुष्टि गर्छ । कसरी आफ्नो शक्तिको निमित्त काठमाडौंको सडक अस्तव्यस्त पार्न तल्लीन छन् नेतृत्व भन्नेबारे पुष्टि गर्छ । आजको क्षणिक स्वार्थको निमित्त दिगो असरप्रति कसैको ध्यान नगएको बुझ्न सकिन्छ ।

विकास उन्मुख मुलुकमा राजनीतिक अस्थिरता सामान्य हो । आज यसको फाइदा एउटा समूहले लिँदै गर्दा भोलि आफ्नो सन्ततिको भविष्यबारे सोचिदिने कोही छैनन् । न हामीसँग कुनै विकल्प छ, न कुनै आधार, अनि जता फैलन्छ लहर, त्यतै बहनु हाम्रो बाध्यता हो ।

रेग्मी बैंकर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्