ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुध्रियो वीरगञ्ज भन्सार राजस्व

२०७७ फागुन, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । कोरोना महामारीले थलिएको उद्योग र व्यापारका गतिविधिले गति लिन थालेपछि त्यसको प्रभाव भन्सारबाट उठ्ने राजस्वमा देखिन थालेको छ । मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालयले गत माघ महीना लक्ष्यभन्दा बढी राजस्व उठाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव)२०७७/७८ को माघ महीनामा लक्ष्यको तुलनामा ८ प्रतिशत बढी राजस्व संकलन भएको छ । यो १ महीनामा भन्सारले करीब १५ अर्ब रुपैयाँ राजस्व उठाएको भन्सार अधिकृत रमेश सुकमनीले जानकारी दिए ।

वीरगञ्ज भन्सारले बितेको १ महीनामा १४ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । ‘यो तोकिएको कुल राजस्व लक्ष्यभन्दा ८ प्रतिशत बढी हो । वीरगञ्ज भन्सारले माघ महीनाका लागि १३ अर्ब ८३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य पाएको थियो,’ अधिकृत सुकमनीले आर्थिक अभियानसँग भने ।

चालू आवको ७ महीनामा यो भन्सारले ८८ अर्ब ५० करोड रुपैयाँ राजस्व उठाएको भन्सारको तथ्यांक छ । यो आँकडा भने कुल लक्ष्यको तुलनामा ११ प्रतिशत कम हो । आवको शुरूका २ महीनासम्म बन्दाबन्दी कायमै रहनु र त्यसपछि पनि वैदेशिक व्यापार लयमा फर्किन समय लागेकाले त्यसको असर समग्र राजस्वमा देखिएको भन्सार अधिकारीहरूको भनाइ छ । पछिल्ला महीना भने व्यापारमा सुधार आएको भन्सार अधिकृत सुकमनीको भनाइ छ ।

सात महीनामा वीरगञ्ज भन्सार भएर २ खर्ब ७९ अर्ब ३५ करोड रुपैयाँबराबरको कुल वैदेशिक व्यापार भएको सूचनाप्रविधि शाखाले जानकारी दिएको छ । यो अघिल्लो आव २०७६÷७७ को समीक्षा अवधिको तुलनामा ६ प्रतिशत कम हो । त्यसबेला वैदेशिक व्यापारको परिमाण २ खर्ब ९८ अर्ब ५ करोड रुपैयाँबराबर थियो ।

चालू आवको ७ महीनामा आयात कारोबार ७ प्रतिशतले घटेको छ । निर्यात भने ९ प्रतिशत बढेको भन्सारको तथ्यांकले देखाउँछ । गतवर्षको माघ महीनासम्ममा २ खर्ब ७७ अर्ब ५६ करोड रुपैयाँको आयात भएको थियो ।

चालू आवको तुलना अवधिमा आयातको आकार २ खर्ब ५६ अर्ब ९६ करोडमा झरेको छ । आयातित वस्तुमा मुख्य रूपमा इन्धन, सवारीसाधन र औद्योगिक कच्चा पदार्थ छन् । निर्यात २२ अर्ब ३८ करोड रुपैयाँबराबरको भएको देखिन्छ । अघिल्लो आवको शुरूका ७ महीनामा यस्तो परिमाण २० अर्ब ४८ करोड रुपैयाँबको थियो । निकासी हुने मुख्य उत्पादनमा भटमास र सूर्यमुखी तेल, जुस, कपडा, जुत्ता, धागो, गलैंचा, कार्पेटलगायत छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्