ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कृषि क्रान्तिका लागि प्रभावकारी योजना बनाउँदै मकवानपुरगढी गाउँपालिका

२०७७ फागुन, ४  
वाग्मती प्रदेश
Image Not Found

फागुन ४, हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले कृषिमार्फत नागरिकलाई समृद्ध बनाउन आकर्षक कृषि योजना बनाएर कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले कृषि क्षेत्रको बजेटलाई समेत वृद्धि गरेर गत वर्षको तुलनामा दोब्बर बनाएको छ । 

किसान क्रेडिट कार्डको कार्यान्वयन, बसाइँ सरी यस पालिकामा आएर कृषि गर्नेलाई प्रोत्साहन अनुदान, एक वडा एक कृषि तथा पशु प्राविधिकको व्यवस्थापन (प्राविधिक सेवा टेवा), कृषि पकेट क्षेत्र विकास प्रोत्साहन कार्यक्रम, माटो परीक्षण प्रयोगशाला स्थापना र सञ्चालन, कृषि यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रम, हरितगृह (प्लाष्टिक घर) भित्र तरकारी खेती प्रवर्द्धन कार्यक्रम, सहकारीमार्फत अनाज खरीदविक्री अनुदान कार्यक्रम, रैथाने बाली प्रवर्द्धन कार्यक्रम, कृषि प्रसार कार्यक्रम (कृषक समूह गठन दर्ता तथा कृषि फार्म दर्ता), बाँझो जग्गालाई सदुपयोगमा ल्याउन प्रोत्साहन, बाँदर प्रभावित क्षेत्रमा अदुवा बेसार खेती अनुदान कार्यक्रमजस्ता आकर्षक कार्यक्रम बनाएर गाउँपालिकाले किसानलाई उत्पादनमा लाग्न प्रेरित गरिरहेको छ । 

मकवानपुरगढी मकवानपुर जिल्लाको मध्यभागमा अवस्थित वाग्मती प्रदेशको राजधानी हेटौंँडासँग जोडिएको पहाडी गाउँपालिका हो । यस गाउँपालिका १४९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । साविकका मकवानपुरगढी, आमभञ्ज्याङ, बूढीचौर र सुकौरा गाविस समेटेर निर्माण भएको मकवानपुरगढी गाउँपालिकामा आठ हजार ९४२ हेक्टर जमिन खेतीयोग्य छ । 

गाउँपालिकाको कृषि शाखाका अनुसार खेतीयोग्य जमिनमध्ये पाँच हजार ८५६ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध छ भने तीन हजार ८६ हेक्टर पाखोबारी छ । कृषि तथा पशुपालन व्यवसायको आधारभूमि रहेको यस गाउँपालिकाले ‘शिक्षा, कृषि, पर्यटन र पूर्वाधार, मकवानपुरगढी गाउँपालिका समृद्धिको आधार’ भन्ने मूल नारा तय गरी कृषि तथा पशुपालन क्षेत्रलाई आर्थिक स्रोतको प्रमुख आधारका रूपमा बजेट विनियोजन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षमा ४ दशमलव ९७ प्रतिशत मात्र रहेको कृषि बजेटलाई बढाएर ८ दशमलव ८७ प्रतिशत पुयाएको पालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले जानकारी दिए । उनका अनुसार गत वर्ष कृषिको कुल बजेट रू. दुई करोड ६७ लाख ५९ हजार मात्र थियो भने चालू आवमा रू. पाँच करोड ७८ लाख ७५ हजार ५०० पुयाइएको छ । 

गाउँपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार यस गाउँपालिकामा एक हजार ३८४ हेक्टर जमिनमा वर्षेधान, ५० हेक्टरमा चैतेधान, तीन हजार २३५ हेक्टरमा मकै, ३०० हेक्टरमा कोदो, ६० हेक्टरमा दलहन, ७० हेक्टरमा तेलहन, १५० हेक्टरमा तरकारी र २५० हेक्टरमा आलु लगाइने गरिन्छ । 

त्यस्तै  ५० हेक्टरमा विभिन्न प्रजातिका फलफूल लगाइएको छ । पालिकाले चालु आवमा बालीतर्फ रू. दुई करोड ५४ लाख ८५ हजार र पशुपक्षीतर्फ रु तीन करोड २३ लाख ९० हजार ५०० रकम विनियोजन गरेको छ ।

बाँझो जग्गा सदुपयोगमा ल्याउन प्रोत्साहन 
कोभिड–१९ का कारण रोजगारी गुमाई घर फर्किएका नागरिकलाई लक्षित गरेर पालिकाले बाँझो जग्गालाई सदुपयोगमा ल्याउनेलाई प्रोत्साहन अनुदान दिने कार्यक्रम लागू गरेको छ । यसका लागि चालु आवमा रू. ४५ लाख रकम विनियोजन गरेको गाउँपालिकाले जानकारी दएको छ । 

गाउँपालिकाका अनुसार बाँझो जग्गा सदुपयोगमा ल्याउनेलाई बालीअनुसार प्रतिरोपनी रू. दुईदेखि पाँच हजारसम्म प्रोत्साहन अनुदान उपलब्ध गराउने नीतिगत व्यवस्था गरिएको छ । सोअन्तर्गत सूचना प्रवाह गरी निवेदन सङ्कलनको काम भइसकेको छ र उक्त कार्यक्रम कार्यान्वयनका लागि समितिमार्फत अनुगमन गरी प्रोत्साहन अनुदान रकम उपलब्ध गराइने पालिकाले जानकारी दिएको छ । 

बसाइँ सरी आउनेलाई अनुदान 
गाउँपालिकाले विभिन्न क्षेत्रबाट बसाइँ सरी यस गाउँपालिकामा आई कृषि तथा पशुपालन व्यवसायमा लाग्ने कृषकलाई अघिल्लो आवदेखि प्रतिकृषक परिवार रू. ५० हजारका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आइरहेको छ । 

विभिन्न जिल्ला तथा पालिकाबाट बसाइँ सरी यस गाउँपालिकाभित्र पाँच परिवारलाई प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको र यस वर्षसमेत यसलाई निरन्तरता दिइएको जानकारी दिइएको छ ।

किसान क्रेडिट कार्डको कार्यान्वयन

वित्तीय पहुँचमा पुग्न नसकेका साना किसानलाई लक्षित गरी किसान क्रेडिट कार्डमार्फत सरल र सहज तरिकाबाट बिनाधितो कृषि कर्जामा पहुँच पुर्याउने उद्देश्यले विभिन्न बैंक (पहिलो चरणमा मेगा बैंक) र दुग्ध उत्पादक सहकारी संस्था तथा कृषि सहकारी संस्थामार्फत साना किसानलाई कृषि कर्जा उपलब्ध गराउन यो कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईँ बताउँछन् ।

उनका अनुसार यस कार्यक्रममार्फत हरेक वडाका कम्तीमा १०० कृषक गरी आठ वडाका ८०० कृषकलाई रू. १६ करोड सहुलियत कृषि कर्जा उपलब्ध गराउने लक्ष्य छ । 

माटो परीक्षण प्रयोगशाला स्थापना 
गाउँपालिकामा वाग्मती प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोग र गाउँपालिकाको व्यवस्थापनमा माटो परीक्षण प्रयोगशाला सञ्चालनमा छ । 

प्रयोगशालाले माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडा मकवानपुरसँग समन्वय गरी नियमितरूपमा परीक्षणको काम गरिरहेको वडाध्यक्ष टीका दाहालले जानकारी दिए । प्रयोगशालाले यस वर्ष हरेक वडाबाट ५०/५० गरी जम्मा ४०० ओटा माटोको नमूना परीक्षण गर्ने लक्ष्य लिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्