ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तनहुँसुर ‘इको ट्रेक’ को सम्भावता अध्ययन

२०७७ फागुन, ४  
गण्डकी प्रदेश
Image Not Found

फागुन ४, दमौली । तनहुँको व्यास नगरपालिका–११ मा जैविक विविधता संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँसुर इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको छ । 

मूलपानीबाट तनहुँसुरसम्मको जैविक विविधता संरक्षण, पर्यटन प्रवर्द्धन, वातावरणीय सेवा र ऐतिहासिक धरोहरको संरक्षणका लागि इको ट्रेकको सम्भाव्यता अध्ययन गरिएको हो । 

वर्तमान समयमा भौतिक विकासबाट पर्यावरणमा प्रतिकूल असर पर्दै गइरहेको अवस्थालाई मध्यनजर गरी पर्यटनविज्ञसहितको टोलीले सो मार्गको सम्भाव्यता अध्ययन गरेको हो । प्राकृतिक एवम् ऐतिहासिक सम्पदा, धार्मिक र सांस्कृतिक धरोहरको संरक्षण गर्न सडक मार्गको विकल्पका रूपमा इको ट्रेक स्थापनाका लागि पहिलो चरणको सर्भे सम्पन्न भएको पर्यटनविज्ञ हरिसिं गुरुङले जानकारी दिए । 

मूलपानीदेखि तनहुँसुरसम्म ६ दशमलव ५ किलोमिटरको उक्त ट्रेक समुद्र सतहबाट ५०० मिटरको उचाइबाट शुरु हुने र एक हजार २५० मिटरको उचाइमा समाप्त हुनेछ ।

सो क्रममा ट्रेकिङ रुटमा पर्ने समुदायसँग छलफल, पर्यटकीय सम्पदाको पहिचान, नक्सांकन, वन्यजन्तु तथा वनस्पतिको वर्तमान वस्तुस्थिति विश्लेषण, पूर्वाधार विकास गर्नुपर्ने क्षेत्रको छनोट गरिएको छ । पर्यटकीय गतिविधि बढ्दै जाँदा प्राकृतिक र सांस्कृतिक वातावरण र स्थानीय पहिचान पनि संरक्षण होस् भन्ने हेतुले इको ट्रेकको अवधारणा अगाडि बढाइएको गुरुङले जानकारी दिए । 

ट्रेक स्थापनाका लागि विगत ६ महीनादेखि नै तनहुँसुरवासीलाई वन संरक्षण, वृक्षरोपण, स्थानीय उत्पादनलाई प्राथमिकता दिन, अग्र्यानिक खाना र सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनलगायतका विषयमा प्रशिक्षण दिइँदै आएको छ । स्थानीयवासीमा पर्यावरणसम्बन्धी सचेतना भए मात्र इको पर्यटनका गतिविधि सफलतापूर्वक सञ्चालन हुने भएकाले सचेतना अभिवृद्धिका कार्यक्रमलाई पहिलो चरणमा प्राथमिकता दिएको गुरुङले जानकारी दिए ।

तीन तहका सरकार, संघसंस्था र स्थानीयवासीको सहभागितामा आगामी वैशाखसम्म योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नयाँ वर्ष २०७८ को अवसरमा रुट परिचयात्मक कार्यक्रमसमेत राखी सञ्चालनको घोषणा गरिने बताइएको छ । रुट सञ्चालनपूर्व रुटको वरिपरि हरियाली र आकर्षक देखिने खालका वृक्षरोपण गर्ने, केही अप्ठ्यारो ठाउँ मिलाउने, साइन बोर्ड, सूचना पाटी राख्नेलगायतका काम गरिनेछ । 

उनका अनुसार धेरै लामो र  उकालो  नभई तेर्सो, साधारण उकालो र धेरै घाम र ओसिलो पनि नभएकाले यो रुट अति नै सजिलो भएकाले जोकोहीले ट्रेक गर्न सक्नेछन् । ‘हरियाली वातावरण, ठाउँठाउँमा पानीको स्रोत, सांस्कृतिक गतिविधि अवलोकन, धार्मिकस्थल, पुरातात्विक सम्पदा पनि समेटिएकाले यो रुट अति नै उत्कृष्ट हुनेछ’, उनले भने ।

उक्त रुटमा पर्ने चमेरो गुफा एवम् गुप्तेश्वर महादेव, भगवतीपानीलगायतका धार्मिक सम्पदालाई प्रकृतिसँग जोड्ने वनस्पति, हावापानी वन्यजन्तु र चराचुरुङ्गीलगायतका विविधतालाई संरक्षण गर्दै स्थानीयवासीको आयआर्जनमा टेवा पुयाउनु यस इको ट्रेकको प्रमुख उद्देश्य रहेको उनले बताए ।

संविधानसभा सदस्य रामचन्द्र पोखरेलले जैविक विविधताको संरक्षण अति महत्वपूर्ण भएकाले विकास गर्दा जैविक विविधतालाई विशेष ध्यान दिन आग्रह गरे । महीनादेखि स्थानीय सरकार र विभिन्न संघसंस्थाबीच यस क्षेत्रमा इको टे«ेकको विकास सम्बन्धमा अन्तरक्रिया र छलफल भइरहेको वडाध्यक्ष नीरबहादुर खड्काले बताए । 

डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले चमेरो प्राकृतिक दृष्टिकोणले अति नै महत्वपूर्ण भए पनि संरक्षणको अभावले लोप हुने खतरामा पुगेको बताउँदै जैविक विविधता संरक्षणको पाटोमा बेलैमा सचेत हुन नसक्ने हो भने धेरै गुणकारी प्रजातिहरु लोप भएर जाने खतरा बढेको बताए ।

स्थानीयवासीलाई व्यावसायिक कृषि, वन र पर्यटन विकाससँग सम्बन्धित क्रियाकलाप सञ्चालनका लागि व्यास नगरपालिका र एसजिपी, जिइएफलगायतका कार्यक्रममार्फत सहयोग भएकोे तनहुँसुर देवस्थल घरवास सञ्चालन समितिका सदस्य मनिषा रानाले जानकारी दिए ।

उक्त सर्वेक्षण टोलीमा संविधानसभा सदस्य पोखरेल, पर्यटनविज्ञ गुरुङ, डिभिजन वन कार्यालयका प्रमुख, ऊर्जा तथा वातावरण नेपालका अध्यक्ष कृष्णचन्द्र सुवेदी, व्यास नगरपालिका इञ्जिनीयर मिलन हड्खले, प्रवेश हड्खलेलगायत सञ्चारकर्मीको सहभागिता थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्