फागुन ४, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बरुण हाइड्रोपावर कम्पनीको हकप्रद शेयर निष्कासनका लागि दिएको आवेदन पाइपलाइनबाट हटाएको छ ।
उक्त कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विसं २०७५ साल जेठ २२ गते बोर्डमा निवेदन दिएको थियो । बोर्डले आवश्यक कागजात माग गर्दा समयमै उपलब्ध नगराएकाले आवेदन पाइपलाइनबाट हटाइएको जानकारी दिएको छ ।
कम्पनीको हकप्रद निष्कासन प्रक्रियाका लागि टिप्पणीसहित आवश्यक कागजात पेश गर्न निर्देशन दिएको ६ महीनासम्म पनि जवाफ नआएका कारण आवेदन पाइपलाइनबाट हटाएको बोर्डका सहायक प्रबक्ता रुपेश केसीले जानकारी दिएका छन् ।
हकप्रद निष्कासन प्रक्रिया अन्योलमा परेपछि मंगलवार कम्पनीको शेयरमूल्यमा नकारात्मक प्रभाव परेको छ । कारोबारको साढे २ घण्टाको अवधिसम्म कम्पनीको शेयरमूल्य ६ दशमलव ६७ प्रतिशत घटेको छ ।
*यसअघिको समाचारमा उक्त कम्पनीको हकप्रदको आवेदन रद्द भएको उल्लेख भएकोमा बोर्डले रद्द नभइ पाइपलाइनबाट मात्र हटाइएको बताएकाले सच्याइएको छ ।