ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हवाई पूर्वाधारमा सरकारको ३ वर्ष : विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति

२०७७ फागुन, ४  
समाचार
Image Not Found
सांकेतिक चित्र

फागुन ४, काठमाडौं । संघीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।

वर्तमान सरकार गठन भएको तीन वर्षको अवधिमा तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको नीतिगत सुधारदेखि पूर्वाधार विकास तथा सम्पदाको पुनर्निर्माणको कामलाई तीव्रता दिएको हो ।

पर्यटकीय पूर्वाधारको महत्वपूर्ण पाटो विमानस्थल निर्माण, विस्तार र स्तरोन्नतिका साथै भूकम्पबाट भत्किएका सम्पदाको पुनःनिर्माणमा आशाजनक काम भएका छन् । कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार छिटै सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थको भौतिक प्रगति ९८ दशमलव आठ प्रतिशत रहेको छ । 

यस्तै पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको हाल ७० प्रतिशत भौतिक प्रगति रहेको छ । यदि कोभिड महामारी नभइदिएको भए यी विमानस्थल यतिखेर सञ्चालनमा हुन्थे । पर्यटनमन्त्री भानुभक्त ढकालले निर्माणाधीन दुई अन्तरराष्ट्रिय विमानस्थल क्रमशः पोखरा र भैरहवाको निर्माणलाई तीव्रता दिई छिट्टै सञ्चालनमा ल्याउने गरी कार्य भइरहेको बताए । 

पर्यटनमन्त्री ढकालले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन दुई ओटा अन्तरराष्ट्रिय विमानस्थलमा बाँकी रहेको प्राविधिक काम पनि छिटै सक्ने योजनाका साथ काम अघि बढेको जानकारी दिए । ‘कोभिड–१९ का कारण प्राविधिक जनशक्ति अभावले केही काम बाँकी छ, त्यो समस्या पनि छिट्टै समाधान हुने गरी काम अघि बढाएका छौँ’, पर्यटन मन्त्रीले भने ।

मन्त्री ढकालका अनुसार भएका विमानस्थलको व्यवस्थित र स्तरोन्नति गरिने छ । क्षेत्रीय विमानस्थलको विकास र स्तरोन्नतिका साथै अन्य विमानस्थलको स्तरोन्नति गर्ने कार्य शीघ्र अघि बढाइने छ । उनले अन्तर प्रदेश हवाई उडानका साथै अन्य बाह्य मुलुकसँगको हवाई सम्पर्क सञ्जाल विस्तारका लागि मन्त्रालयले योजना बनाइरहेको जानकारी दिए ।

पर्यटन मन्त्रीले पछिल्लोपटक इजरायलसँग सिधा हवाई उडान सञ्चालनबारे नेपालका लागि इजरायली राजदूतसँग छलफल गर्नुभएको थियो । हाल नेपालले विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौतामा हस्ताक्षर गरिसकेको छ । असहज परिस्थितिमा पनि हवाई पूर्वाधारले फड्को मारेको छ ।

क्यानका महानिर्देशक राजन पोखरेलले कोभिड महामारीले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनामा केही असर परे पनि अहिले निर्माण कार्य पूर्ववत् अवस्थामा फर्किसकेको र पूर्वाधारका निर्माणको कामले गति लिएको बताए । अन्तरराष्ट्रिय विमानस्थल निर्माण तथा आन्तरिक विमानस्थलको व्यवस्थापन र सुदृढीकरणका लागि क्यानले योजनाबद्ध कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।

कोरोना भाइरस महामारीले झण्डै १० महीना मुलुकको विकास तथा आर्थिक क्रियाकलापमा नराम्ररी असर पर्‍यो । कोभिडबाट अर्थतन्त्रका अन्य क्षेत्र जस्तै सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्कने अवस्थामा छ । पर्यटनको महत्वपूर्ण पाटो आन्तरिक हवाई उडान पूर्ववत् अवस्थामा फर्किसकेको छ भने बढी मारमा परेको होटल क्षेत्रमा केही सकारात्मक सञ्चार छाएको छ । विदेशी पर्यटकको आवागमन विस्तारै बढ्दैछ । 

पर्यटनका अन्य व्यवसाय पनि शुरु भइसकेका छन् । पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटको भिडभाड हुन थालेको छ । कोभिड महामारीकैबीच गत असोज ५ गतेदेखि मुलुकको आन्तरिक उडान शुरु भएको थियो । त्यस्तै गत भदौ १६ देखि अन्तरराष्ट्रिय उडान खुलेको भए पनि उडान संख्या बढ्न सकेको छैन । 

कात्तिक महीनादेखि पर्वतारोहण र पदयात्रा खुलेको छ । मंसिरबाट पर्यटनका अन्य गतिविधि पनि पुनः सञ्चालन  भइसकेका छन् । तुलनात्मक लाभका दृष्टिकोणले मुलुकको अर्थतन्त्रलाई टेवा दिन पर्यटन क्षेत्रको समग्र विकास, परिवर्तित र आधुनिक परिवेश सुहाउँदो सेवा स्तरीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई प्रभावकारी रूपमा अघि बढाइएको छ ।

सरकारले पन्ध्रौँ पञ्चवर्षीय योजनाको आधारपत्रमा पनि नेपालको पर्यटन क्षेत्रलाई प्रमुख प्राथमिकतायुक्त क्षेत्रको रुपमा व्याख्या गरेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा हाल पर्यटन क्षेत्रको तीन प्रतिशत योगदानलाई बढाएर १० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

हवाई पूर्वाधारका यी उपलब्धि
सरकारको तीन वर्षे अवधिमा हवाई पूर्वाधारको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार सार्वजनिक गर्नु भएको सरकारको प्रगति विवरणअनुसार मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावन मार्ग पुनर्निर्माण गरिएको छ ।

विमानस्थलको धावन मार्गको जीर्णोद्वार गरिएको हो । यो पुनःनिमाण ४० वर्षपछि तोकिएको समयभित्रै सम्पन्न भएको आयोजना हो । यस अवधिमा नेपालका ५३ विमानस्थलमध्ये बाह्रै महीना सञ्चालन हुने विमानस्थलको संख्या २९ बाट ३६ पुगेको छ । 

यीमध्ये रात्रिकालीन उडानयोग्य विमानस्थलको संख्या आठ पुगेको छ । विराटनगर, सुर्खेत र महेन्द्रनगर विमानस्थललाई प्रदेश र स्थानीय तहसँग समन्वय गरी विस्तारको काम अघि बढाइएको छ । धनगढी, काठमाडौं, जनकपुर, विराटनगर र भद्रपुर विमानस्थलमा प्रतिकूल मौसमको समयमा पनि भूउपग्रहमार्फत उडान तथा अवतरण हुने प्रणालीको स्थापना गरिएको छ । 

क्यानको २२औं वार्षिक प्रगति विवरणमा आव २०७६/७७ मा पूँजीगत खर्चतर्फ रु ३४ अर्ब चार करोड ३७ लाख र कार्यसञ्चालन खर्च रू. आठ अर्ब १८ करोड ८४ लाख गरी जम्मा ३८ अर्ब २३ करोड ११ लाख व्यय अनुमान गरिएकामा पूँजीगत खर्च रू. १५ अर्ब ४१ करोड २९ लाख छ । चालू आव २०७७/७८ का लागि पूँजीगत खर्च तर्फ रू. २८ अर्ब ९२ करोड २७ लाख तथा कार्य सञ्चालनतर्फ रू. तीन अर्ब ६६ करोड गरी जम्मा रू. ३२ अर्ब ५८ करोड ९३ लाख विनियोजन गरिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्