फागुन ३, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मंगलवारसम्म १४ लाख ४४ हजार ५८८ जनाले आवेदन दिएका छन् ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार मंगलवार साँझ ५ बजेसम्म ती आवेदकहरुबाट २ करोड २४ लाख ८२ हजार ७२० कित्ताका लागि आवेदन परेको हो । जुुन मागभन्दा ५९ दशमलव ९५ गुणा बढी हो । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन फागुन ५ गते बुधवारसम्म रहेको छ ।
कम्पनीले माघ ३० गतेदेखि सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर सार्वजनिक निष्कासन गरेको हो । प्रतिकित्ता रू. १०० अंकित दरको कुल ४ लाख कित्ता आईपीओमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र २० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित राखेको छ ।
यो आईपीओमा आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म दिन सकिने व्यवस्था थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड रहेको छ ।
आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड पुग्नेछ । आर्थिक वर्ष २०७६/ ७७ सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५७ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. ३१३ दशमलव १६ रहेको छ ।
*कम्पनीले आईपीओ विक्रीको लागि सार्वजनिक गरेको सूचनामा विक्री बन्दको छिटो अवधि फागुन ४ गते उल्लेख गरेकोमा विक्री खुला भएकै दिन सोनाम ल्होसारको सार्वजनिक विदाको दिन परेकाले मिति थप गरी फागुन ५ गतेसम्म विक्री खुला हुने बताएकाले यसअघिको समाचार सच्चाइएको छ ।