फागुन ४, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १८ ओटा निर्जीवन बीमा कम्पनीहरुले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
उक्त वित्तीय विवरण अनुसार १८ ओटा कम्पनीहरुले चालू आवको दोस्रो त्रैमासमा कुल २ अर्ब ८ करोड १५ लाख नाफा कमाएका छन् । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २७ दशमलव ९८ प्रतिशतले वृद्धि भएको हो ।
१८ ओटा कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ६२ करोड ६५४ लाख नाफा कमाएका थिए । १८ ओटा कम्पनीमध्ये दुई ओटा कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कमी आएको छ । राष्ट्रिय बीमा कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको नाफामा कमी आएको हो ।
गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा राष्ट्रिय बीमा कम्पनीको नाफा ५६ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको १४ प्रतिशतले कमी आएको हो । यी दुवै कम्पनीको आम्दानीमा कमी आएकाले नाफा घटेको हो ।
बाँकी १६ ओटै कम्पनीको नाफामा वृद्धि भएको छ । सबैभन्दा बढी नाफा नेको इन्स्योरेन्स कम्पनीले कमाएको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. २६ करोड ४० लाख नाफा कमाएको हो । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएर रू. ४० दशमलव ०८ पुगेको हो । दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनीले रू. २४ करोड १४ लाख नाफा कमाएको छ ।
त्यसैगरी, १८ ओटा कम्पनीमध्ये सबैभन्दा थोरै नाफा युनाइटेड इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीको नाफा चालू आवको दोस्रो त्रैमासमा रू. २ करोड ७४ लाख पुगेको हो ।
१८ ओटा कम्पनीहरु मध्ये गत आवको मुनाफाबाट पाँच ओटा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । शिखर इन्स्योरेन्स कम्पनीले २७ दशमलव ७६९ प्रतिशत बोनस शेयर र १ दशमलव ४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यसैगरी प्रिमियर इन्स्योरेन्स कम्पनीले ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश, नेपाल इन्स्योरेन्स कम्पनीले ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेका छन् ।
तल उल्लेखित कम्पनीहरुमध्ये राष्ट्रिय बीमा कम्पनी र सिद्धार्थ इन्स्योरेन्सले प्रतिशेयर आम्दानी वित्तीय विवरणमा नराखेको कारण टेबलमा उल्लेख भएको छैन ।
स्रोत : कम्पनीद्वारा प्रकाशित दोस्रो त्रैमासीक वित्तीय विवरण र नेप्से (शेयरमूल्य फागुन ४ गते)