विश्वव्यापीकरणको आँधीबेरीले लपेटेको नेपालमा पनि मल बन्ने क्रम तीव्र भएको छ । त्यसले गर्दा संसारभरि प्रसिद्ध भएको मल कल्चर यहाँ पनि फैलँदो छ । हुनत मल शब्द नेपाल र नेपालीका लागि नयाँ होइन । खेतबारीमा हाल्ने गाईवस्तुका मल, रासायनिक मल र सहरबजारको खानेपानीमा समेत सराबरी मिसिने मानव मलको बारेमा नेपालीहरू जानकार नै छन् । तर सहरमा थपिएको यो नयाँ पसल मल अर्थात् मल व्यवसायको बारेमा भने नेपालीहरूले भर्खर भर्खर अलिअलि थाहा पाउन थालेका हुन् । नयाँ कुरा भएकाले होला मल ग्राहकलाई आकर्षित गर्न मल मालिकहरूलाई गाह्रो परिरहेको छ । त्यसैले मल मालिकहरू धनीलाई मात्र होइन, मध्यम वर्गका मानिसलाई समेत आकर्षित गर्न मरिमेटेर लागिरहेका छन् । तर सकिरहेका छैनन् । एक त नेपालीले बुझेका मलको अर्थ नै अलि अस्वाभाविक छ । त्यसमाथि टलक्क टल्केका ठूलाठूला सिसामहलका यी मलभित्र सामानको मोल धेरै पर्छ भन्ने सोचेर धेरै मध्यम वर्गीयहरू भित्र छिर्नै डराउँछन् । कोही छिरिहाल्यो भने उखरमाउलो गर्मीमा एकछिन भने पनि एयर कन्डिसनले जीउ शीतल पार्न पनि पाइने हुनाले मात्र केही समय टहलिन भित्र छिर्छन् ।
(तीतोमीठोबाट)
अंक ३८, २०६७, जेठ १०–१६