सप्तरी । जग्गा विवादका कारण राजविराज नगरपालिका–१ पड्रियामा निर्माणाधीन बाल उद्यान लामो समयदेखि अलपत्र परेको छ । स्थानीय तहले जग्गा विवादको गाठो नफुकाइदिँदा उद्यान निर्माणको अवधि सकिए पनि अहिलेसम्म करिब पाँच प्रतिशत पनि काम हुन नसकेको सघन शहरी तथा भवन निर्माण आयोजना राजविराजले बताएको छ ।
‘उद्यान निर्माणका लागि नगरपालिकाले दिएको ऐलानी जग्गामा पटक–पटक काम गर्न गए पनि स्थानीयवासीले जग्गाको विषयमा विवाद सृजना गर्दा काम अघि बढ्न सकेको छैन,’ सघन शहरी तथा भवन निर्माण आयोजना राजविराजका इञ्जिनीयर मदन रायले भने, ‘निर्माणस्थलमा देखिएको जग्गा विवादको गाठो फुकाइदिन पटक–पटक राजविराज नगरपालिकाका प्रमुख तथा वडाध्यक्षलाई लिखित र मौखिक रूपमा आग्रह गर्दासमेत अझै जग्गा विवाद सुल्झिन सकेको छैन ।’ जग्गा विवादकै कारण काम गर्न कठिनाइ हुँदै आएको उनको भनाइ छ ।
‘स्थानीयवासीले कहिले सडक कम भयो भन्छन् त कहिले उद्यानको क्षेत्रफल कम भयो भन्छन्,’ सघन शहरी तथा भवन निर्माण आयोजना राजविराजका प्रमुख सुरेन्द्र साहले भने, ‘काम गर्न खोज्नेबित्तिकै विभिन्न बहानामा अवरोध हुँदै आएको छ, जसका कारण काम गर्न सकिएको छैन ।’ समस्या समाधानतर्फ स्थानीय जनप्रतिनिधि अग्रसर नदेखिएको उनको गुनासो छ । राजविराजस्थित हटियाबजारसहितको प्याकेज योजनाअन्तर्गतको बाल उद्यान निर्माणका लागि रसुवा÷रोशन जेभी जनकपुरले ठेक्का लिएको छ । गत २०७४ पुस २८ गते सम्झौता भएको उद्यान निर्माण २०७७ पुस २७ मै सकिनुपर्ने थियो । निर्माणस्थल वरिपरिका स्थानीयवासीले जग्गाको विवाद झिकेर अवरोध पु¥याउँदै आएकाले उद्यान निर्माण अन्योलमा परेको बताइएको छ । राजविराज–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले उद्यान निर्माणमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको र छिट्टै निकास निस्किने जानकारी दिए । रासस