ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

व्यवस्थित बनाइँदै भेटेरिनरी अस्पताल

२०७७ फागुन, ५  
वाग्मती प्रदेश
NA

चितवन । चितवनको भरतपुरको भेटेरिनरी अस्पताललाई व्यवस्थित बनाइने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा छुट्टै व्यवस्थित मिनी अस्पताल बनाउन लागिएको हो । पशु सेवा विज्ञ केन्द्रभित्र नयाँ स्वरूपको भेटेरिनरी अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।

भेटेरिनरी अस्पताल तथा पशुरोग विज्ञ केन्द्रका प्रमुख डा. दयाराम चापागाईंका अनुसार केन्द्रमै रहेको पुरानो भवन मर्मत गरेर थप व्यवस्थित भेटेरिनरी अस्पताल बनाउन लागिएको हो । उक्त अस्पताल यही फागुन अन्तिमसम्ममा सञ्चालनमा आउने उनले जानकारी दिए । भेटेरिनरी अस्पतालका लागि २६ लाख बजेट विनियोजन भएको छ ।

अस्पतालमा उपचारकक्ष सहितको प्रयोगशाला अल्ट्रासाउण्ड प्रयोगमा ल्याउनुका साथै एक्सरे मेसिन पनि राखिने बताइएको छ । केन्द्रभित्रै रहेको भवनमा बन्न लागेको उक्त भेटेरिनरी अस्पतालमा रोग पहिचान गर्नेलगायत व्यवस्थित तालीम हल पनि निर्माण गरिनेछ । गतवर्ष सरकारद्वारा केन्द्रमा उपलब्ध गराएका सामग्री नै परिचालन गरी अस्पतालको सेवा थप व्यवस्थित एवं प्रभावकारी बनाइनेछ ।

‘सामान्य रूपमा अहिले केन्द्रले पशुको गोबर र दूध परीक्षण गर्दै आएकामा अब अस्पताल बनेपछि थप सेवासुविधा दिनेछौं,’ उनले भने । साथै अस्पताल बनेपछि पशु औषधिको प्रभावकारिता पनि परीक्षण हुनेछ । पशुलाई कस्तो औषधि दिने, कसरी खुवाउने भन्नेबारे पनि जानकारी दिइने चापागाईंले बताए ।

पशुपालन क्षेत्रको व्यावसायिकता विकास तथा पशु स्वास्थ्य सेवामा निरन्तर लागेको केन्द्रले पछिल्लो समय कृषक तथा पशुपालक व्यवसायीको हितमा काम गरिरहेको उनले बताए । ‘केन्द्रले किसानको सेवा, सुविधाका लागि थप सामान पनि माग गरेको छ,’ उनले भने । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्