ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ताल संरक्षणका लागि मन्त्रालयसँग साझेदारी

२०७७ फागुन, ५  
प्रदेश ०५
NA

नवलपरासी (बर्दघाट सुस्तापूर्व) । नवलपुरको कावासोती नगरपालिकास्थित टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सात करोड लागतमा कार्यक्रम गरिने भएको छ । कावासोती नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवा तालको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिएको हो । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत सात करोड बराबरको काम गर्न लागिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताइन् । ताल अहिले झारले ढाकेर जीर्ण बनेको छ । कावासोती–७ र ८ अन्तर्गत टरुवा ताल तथा सिद्धेश्वर क्षेत्र समेटेर पर्यटकीय विकासका कार्यक्रम गरिनेछ ।

नगरपालिकाकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको सम्भावनाका रूपमा रहेको टरुवा तालसहितको क्षेत्रमा आवश्यक पूर्वाधारको अभाव रहँदै आएको थियो । यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा अब काम अगाडि बढ्ने नगरप्रमुख पुनले बताइन् । नगरपालिकाको हरेक क्षेत्रको विकासमा आफूहरू नगरस्तरबाट लागेको भन्दै उनले प्रदेश र संघसँग समेत साझेदारीमा यहाँको विकासका लागि काम अगाडि बढाइएको जानकारी दिइन् । कावासोती नगरपालिका पर्यटकीय गन्तव्यको प्रबल सम्भावना भएको क्षेत्र भएकाले यसको थप विकासका लागि साझेदारीमा टरुवा क्षेत्रमा काम गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए ।     

टरुवा ताल क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने नगरको पहिल्यैकै योजना रहेको र सोहीअनुसार गुरुयोजनासमेत तयार गरिसकिएकाले अब ठेक्का प्रक्रियामार्फत तत्काल काम अगाडि बढाइने नगरपालिकाका आर्किटेक्ट इञ्जिनीयर पवन रूपाखेतीले बताए । मन्त्रालय र नगरपालिकाबीच साझेदारीमा पर्यटन पूर्वाधार विकासमा क्रमागत योजनाका रूपमा कार्यक्रम अगाडि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना शाखाका शाखा अधिकृत होमनाथ काफ्लेले जानकारी दिए । उनका अनुसार तीन वर्षसम्ममा साझेदारीमा काम सक्ने गरी कार्यक्रम अगाडि बढ्नेछ । मन्त्रालयको चार करोड ५५ लाख र कावासोती नगरपालिकाको दुई करोड ४५ लाख लागत साझेदारीमा काम अगाडि बढ्ने शाखा अधिकृत काफ्लेले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्