ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्यटन क्षेत्रलाई भ्याक्सिनमा प्राथमिकता

२०७७ फागुन, ५  
लेख | दृष्टिकोण
Image Not Found

नेपालमा पनि कोरोनाको भ्याक्सिन लगाउन शुरू गरिएको छ । भारत सरकारले सहयोग भ्याक्सिन अहिले लगाइँदै छ । अब चीन र विश्व स्वास्थ्य संगठनबाट पनि थप भ्याक्सिन उपलब्ध हुँदै छ । अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई दिने भनिएको यो भ्याक्सिन अहिले पत्रकार र बैंकरहरूलाई समेत दिन थालिएको छ । यस्तोमा नेपालमो अर्थतन्त्रमा ठूलो महत्त्व राख्ने पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिलाई पनि भ्याक्सिनका लागि उच्च प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । यसो भएमा पर्यटन व्यवसाय सुरक्षित रहेको सन्देश दिन सकिन्छ र पर्यटक आगमन बढाउन सकिन्छ ।

हुन त अहिले कोरोना महामारीको त्रास कम हुँदै गएपछि नेपालमा पछिल्लो समय विदेशी पर्यटकको आगमन केही मात्रामा भए पनि हुन थालेको छ । कोरोना त्रासकै बीच सरकारले गत कात्तिक १ गतेदेखि पर्यटन आगमन खुला गरेपछि नेपालमा विदेशी पर्यटक आउन थालेका हुन् । विभिन्न पर्यटकीय क्षेत्रमा फाट्टफुट्ट विदेशी पर्यटक देखिन थालेका छन् । भारतीय पर्यटकको संख्या त उल्लेख्य रूपमा नै देखापर्न थालेको छ । सरकारले पर्यटन आगमन खुला गरेपछि अक्टोबरमा २ हजार २५ जना विदेशी पर्यटक आएका थिए । त्यसपछि नोभेम्बरमा थोरै संख्याले घटेर १ हजार ९५३ जना आए पनि त्यसपछि भने बढ्दै गएको देखिन्छ । डिसेम्बरमा ४ हजार २४५ जना आएकोमा २०२१ जनवरीमा ८ हजार ८७४ जना विदेशी पर्यटक आएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । कोरोना संकटकै बीच अहिले भएको पर्यटक आगमनले आशाको सञ्चार गरेको छ । सामान्य अवस्थामा मासिक ८० हजारदेखि १ लाखसम्म विदेशी पर्यटक आउने नेपालमा अहिलेको संख्या निकै कम भए पनि कोरोनाबाट पूरै थलिएको पर्यटन क्षेत्र चाँडै नै पुनरुउत्थान हुने आशा गर्न सकिन्छ । ।

पछिल्लो समय विभिन्न मुलुकमा कोरोना खोपलगायत पनि शुरू भइसकेको छ । साथै, मास्क, स्यानिटाइजरको प्रयोगलगायत स्वास्थ्य सुरक्षा अपनाएर पनि कोरोनाबाट बच्न सकिन्छ भन्ने भन्ने विश्वास मानिसहरूमा पलाउन थालेको छ । त्यसमा पनि कोरोनाको भ्याक्सिन लगाउन शुरू गरिएकाले मानिसहरूमा घुम्न जाने प्रवृत्ति बढ्न थालेको छ । विश्वभरि नै आन्तरिक पर्यटकको चहलपहल हुन थालेको छ । नेपालमा पनि अहिले आन्तरिक पर्यटन चलायमान भइरहेको छ । सस्तोमा पर्यटकीय सेवा उपलब्ध भएकाले नेपालीहरूले यो अवसरको लाभ उठाइरहेका छन् । प्याराग्लाइडिङ होस् वा बन्जिजम्पिङ वा अन्य पर्यटकीय गतिविधि तिनमा नेपाली पर्यटक प्रशस्त बढेका छन् । कोरोना भ्याक्सिन लगाउन थालिएपछि विदेशी पर्यटकको आगमन पनि बढ्नु सुखद संकेत हो । विदेशी पर्यटन व्यवसायी एजेन्सीहरूले नेपालका पर्यटन गन्तव्यहरूको प्रचारप्रसार गरेकाले समेत पर्यटक आगमन बढ्ने देखिन्छ ।

ब्लुम्बर्गले यो वर्ष घुम्नका लागि नेपालका साथसाथै कोस्टारिका, अफ्रिका, इन्डोनेशियालगायत गन्तव्य सूची सार्वजनिक गरेको छ । विदेशी पर्यटक आगमन अत्यन्त न्यून रहेका बेला ब्लुम्बर्गले नेपाललाई २४ गन्तव्यभित्र समावेश गरेसँगै नेपालमा पर्यटक आउने सम्भावना अझ बढेको छ । पर्यटन क्षेत्रमा कार्यरत कामदार कर्मचारीलाई पनि कोरोना भ्याक्सिन लगाउन प्राथमिकतामा राख्ने हो भने पर्यटन आगमन बढाउन थप मद्दत मिल्ने देखिन्छ ।

नेपालमा पर्यटन क्षेत्रको सेवाग्राहीमध्ये भारतीय पर्यटक बढी छन् । नेपालमा पर्यटन क्षेत्र प्रायः सबै खुला भइसकेको अवस्थामा नाका पूर्ववत् नहुँदा भारतीय पर्यटक आउन सकेका छैनन् । त्यसैले सरकारले स्वास्थ्य मापदण्ड बनाई भारतीय पर्यटकलाई नेपाल भ्रमण गर्न मिल्ने सहज वातावरण बनाउनुपर्छ । हवाईमार्ग र स्थलमार्ग दुवैबाट सबैभन्दा बढी भारतीय नै आउँछन् । भारतीयहरूको रोजाइ लुम्बिनी, भैरहवा, पोखरा, चितवन, जनकपुर, मुक्तिनाथ, तानसेनलगायत रहेका छन् । भारतीय पर्यटक नेपाल आउन असहज मानिरहेका छन् । कोरोना भाइरसको जोखिम कम भइसकेको नेपाल र भारतमा खोप लगाउन शुरू भइसकेको छ । यो खोप पर्यटन क्षेत्रलाई पनि उपलब्ध गराएर त्यसको प्रचार गर्न सके पर्यटकहरू माझ सकारात्मक सन्देश जाने देखिन्छ ।

भारतीय पर्यटक आगमन बढे पनि त्यो ज्यादै न्यून छ । दुवै देशले दुवैतर्फ निर्बाध रूपमा पहिलेजस्तो मोटरसाइकल, कार, जीप, बस आउजाउ गर्न दिँदा भारतीय पर्यटकलाई नेपाल आउन सहज हुन्छ । तत्काल तेस्रो मुलुकका धेरै पर्यटक तान्न नसकिए पनि छिमेकी मुलुक भारत र चीनका पर्यटकलाई नेपाल भ्रमणमा आउने वातावरण बनाउन सकिन्छ । पूर्णरूपमा ठप्प रहेको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटनले केही थेग्ला, तर सम्हाल्न सक्दैन । त्यसैले स्वास्थ्य मापदण्ड अपनाई सीमा नाका पूर्णरूपमा खुला गरी भारतीय र चिनियाँ पर्यटकलाई नेपाल घुम्ने वातावरण बनाउनु आवश्यक छ । नेपालमा भारतको भ्याक्सिन लगाइएको छ । चीनबाट पनि भ्याक्सिन आउँदै छ । यसले ती देशका पर्यटकको विश्वास जित्न सहयोग पनि पुर्‍याउन सक्छ किनभने उनीहरूको देशमा पनि यही भ्याक्सिन लगाइएको छ ।

कोरोनाबाट धराशयी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले निजीक्षेत्रसँग सहकार्य गर्नैपर्छ । तर, सरकारले यस क्षेत्रलाई जति राहत दिनुुपर्ने हो, यस क्षेत्रको समस्या समाधान गर्न जति सक्रियता देखाउनुपर्ने हो त्यो गर्न सकेको छैन । सरकारले कम्तीमा पनि १ डेढ वर्षका लागि पर्यटन पुनरुत्थान नीति बनाएर विभिन्न प्याकेजका कार्यक्रम ल्याउनु जरुरी छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पनि विशेष नीति ल्याउनुपर्छ । निजीक्षेत्रले आफ्नो सेवा शुल्क कम गरेर आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न खोजेको बेला सरकारले होस्टेमा हैंसे गरेन भने यो क्षेत्र नराम्ररी थला पर्न सक्छ ।

नेपालको पर्यटन इतिहासलाई हेर्ने हो भने यस क्षेत्रले राम्ररी गति लिन पाएकै छैन भन्दा हुन्छ । पञ्चायत कालको अनुदार नीतिका कारण यसले व्यापकता पाउन सकेन । त्यसपछि माओवादी सशस्त्र द्वन्द्वले यसको प्रगति रोक्यो । हिंसात्मक आन्दोलन समाप्त भएपछि राजनीतिक अस्थिरतामै १ दशक बित्यो । त्यही बेला भूकम्पले पर्यटन क्षेत्रमा अर्को प्रहार गर्‍यो । अब पर्यटन क्षेत्रमा केही हुन्छ भनी आशा गरियो र भ्रमण वर्षको तयारी पनि भयो । तर, कोरोनाका कारण यो क्षेत्र नराम्ररी प्रभावित भएको छ । यसलाई जोगाउने काम सरकारको हो राज्यको हो । त्यसैले पर्यटक प्रवर्द्धनका कार्यक्रमका साथै कोरोना भ्याक्सिनमा उच्च प्राथमिकता दिएर पर्यटन क्षेत्र जोगाउन ढिला गर्नु हुँदैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्