ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शेयर कारोबारको हिसाब रुजू गर्न जरुरी

शेयर कारोबारको बिल लिनै समस्या

२०७७ फागुन, ५  
लेख | दृष्टिकोण
Image Not Found

दोस्रो बजारमा धितोपत्रको कारोबार गर्न आवश्यक पर्ने कुराहरू डिम्याट खाता, बैंक खाता, कारोबार खाता वा टीएमएस लगइन र मेरोशेयर लगइन लिइसकेपछि शेयर कारोबार गर्न जो कोही पनि सक्षम हुन्छ । शेयर कारोबार खाता (टीएमएस) लगइनमार्फत खरीद वा विक्री आदेश प्रविष्ट गर्न सकिन्छ र प्रविष्ट गरिएको आदेश सफलतापूर्वक सम्पन्न भएपश्चात् कारोबार राफसाफ तथा फर्छ्योट प्रक्रियामा जान्छ । यसै प्रक्रियामा ब्रोकरले दिने वा लिने रकम अनलाइनमार्फत नै ग्राहकको बैंक खातामा ट्रान्सफर हुन्छ भने शेयर डिम्याट खातामा ट्रान्सफर हुन्छ । तर, खरीद वा विक्री गरेको शेयर कारोबारको बिल वा कारोबार हिसाबको खाता (लेजर) पाउन दलालको कार्यालय धाइरहनुपर्ने बाध्यता अझै पनि छ । शेयर कारोबारीले आफूले गरेको शेयर करोबार हिसाब दुरुस्त छ वा छैन भनेर रुजू गर्नु आवश्यक हुन्छ । त्यसैले पनि कारोबारको बिल लिनु जरुरी हुन्छ । शेयर खरीद वा विक्री गरेपछि राफसाफ सदस्य (शेयर दलाल) ले ग्राहकबाट अग्रिम रकम प्राप्त गरेको भए सो समेत खुलाई बिल) जारी गर्नुपर्ने व्यवस्था धितोपत्र कारोबार राफसाफ तथा फछ्र्योट विनियमावली, २०६९ ले गरेको छ । विनियमावलीको विनियम, १६ र १७ मा भएको व्यवस्थाअनुसार धितोपत्र राफसाफ सदस्यले आफूले खरीद गरेको धितोपत्रबापतको खरीदमूल्य, त्यसमा लाग्ने बोर्ड दस्तुर, नेप्से कमिशन, राफसाफ सदस्यको कमिशन आदि ग्राहकबाट लिनुपर्ने व्यवस्था छ । यसरी रकम प्राप्त गरेपश्चात् ग्राहकलाई बिल दिनुपर्ने प्रावधान छ । राफसाफ सदस्यले आफूले विक्री गरेको धितोपत्रबापतको विक्री रकमबाट बोर्ड दस्तुर, नेप्से कमिशन, पूँजीगत लाभकर र आफ्नो कमिशन घटाएर आउने रकम विक्रीकर्ता ग्राहकलाई सीडीएससीले धितोपत्रहरू राफसाफ सदस्यको खातामा जम्मा गरी दिएपश्चात् यथाशीघ्र दिनुपर्ने व्यवस्था रहेको छ ।

दोस्रो बजारको विकास र विस्तार गर्न सम्बद्ध निकायहरू, सरोकारवाला पक्षहरूले यसभित्र भएका ससाना व्यावहारिक समस्यादेखि लिएर प्रविधिगत तथा नीतिगत व्यवस्थालाई समेत सरलीकृत गर्दै लग्नुपर्छ ।

शेयर विक्रीवापत प्राप्त हुने रकम ब्रोकरले बैंक खातामा पठाएको दुरुस्त छ भनेर ढुक्कले बस्ने अवस्था भने हुँदैन । खरीद गरिएको शेयर संख्या डिम्याट खातामा पठाएको ठीक छ भनेर ढुक्क हुने अवस्था पनि छैन । कहिलेकहीँ ग्राहकले कारोबार भएअनुसारको रकम वा शेयर क्रमशः बैंक खाता र डिम्याट खातामा जम्मा हुँदा चुस्तदुरुस्त नहुने गरेको पाइन्छ । अहिले शेयर कारोबारमा प्रयोग भइरहेको प्रणाली एकीकृत होइन, यहाँ भिन्दाभिन्दै टुक्रे प्राणालीहरूको प्रयोग गरिन्छ । खरीद विक्री आदेश दिन टीएमएसको प्रयोग हुन्छ । आदेश सम्पन्न भइसकेपछि धितोपत्रहरूको राफसाफ राफसाफ सदस्यहरूमार्फत केन्द्रीय निक्षेप प्राणाली (सीडीएससी) को प्रणालीमा हुन्छ । किनबेचबापतको रकम फछर्योट तथा राफसाफको काम तोकिएका बैंकहरू जस्तै प्रभु बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिद्धार्थ बैंकमार्पmत हुन्छ भने किनबेच कारोबारको बिल वा हिसाब (लेखा) दलालको सिस्टम (ब्याक अफिस)मा तयार हुन्छ । यसरी शेयर कारोबार भएर अन्तिम भुक्तानी हुँदा धेरैओटा सिस्टमहरू प्रयोग गरिएको हुन्छ जहाँ एक प्रणालीबाट अर्को प्रणालीमा मानिसले म्यानुअल रूपमा काम गर्नुपर्दा मानवीय त्रुटि हुने सम्भावना हुन्छ । हाल बजारमा यस्ता विभिन्न किसिमका समस्या छन् जुन ग्राहकको कारोबार रकम वा शेयर संख्यामा देखिने गरेको छ । त्यो हुनुको मूल कारण एकीकृत सिस्टम नहुनु वा मानिसले म्यानुअल कार्य गर्दा भएको हो ।

 कहिलेकहीँ एकै दिन विक्री गरिएको शेयरहरू पनि विभिन्न कारणले हस्तान्तरण नहुने (जस्तो कि नो ट्रान्सफर भएमा तोकिएको समयसम्म ईडीआईएस गर्न मिल्दैन) र पछि ईडीआईएस गरेको रहेछ भने त्यो शेयर विक्रीबापतको रकम पनि पछि नै प्राप्त हन्छ । यसरी एकै दिन विक्री गरिएको शेयरहरूको रकम पनि फरक दिन प्राप्त हुने हुँदा कारोबारीले शुरूमा बैंक खातामा आएकै रकममा आफूले पाउनुपर्ने सबै रकम पाइसकेजस्तो महसूस हुने हुन्छ । तर, रकमचाहिँ पाउन बाँकी नै हुन्छ । त्यो रकम पाउन शेयर दलाललाई ताकेता गर्नुपर्ने हुन्छ । ढिला रकम प्राप्त हुँदा त्यसले आर्जन गर्ने ब्याज वा पुनः लगानीबाट प्राप्त हुने मुनाफाको अवसर गुम्न पुग्छ । त्यसैले पनि शेयर दलालसँग दैनिक किनबेच कारोबारको बिल वा लेजर लिएर कारोबारको हिसाब रुजू गर्नु अत्यन्त जरुरी हुन्छ । शेयर कारोबार अनलाइनमार्फत हुने भनिए पनि कारोबारको बिल वा हिसाब (लेखा) लिन भने अझै पनि शेयर दलाल कार्यालय धाइरहनु परेको छ । यो समस्या समाधानका लागि टीएमएम लगइनमै कारोबारीको दैनिक किनबेच कारोबारको बिल वा लेजर उपलब्ध गराउनुपर्छ ताकि उसले तुरुन्त आफ्नो हिसाब हेर्न, रुजू गर्न वा कहीँकतै प्रमाणका रूपमा पेश गर्न सजिलै सकोस् ।

हाल सञ्चालित टीएमएसमा जसरी किनबेच भएको रकमको संक्षिप्त विवरण देखाउने सुविधा (फिचर्स) छ त्यहीँ राफसाफ भएपछिको बिल वा लेजर पनि डाउनलोड गर्न सकिने सुविधा उपलब्ध गराउनुपर्छ । यो सुविधा भएमा कारोबारीले दलाल कार्यालय धाउनुपर्ने अवस्थाबाट मुक्ति पाउँछ भने दलालले पनि आफ्नो कार्यालयमा जनशक्तिको खपतमा न्यूनीकरण गर्न सक्छन् । कारोबारको हिसाब बिल वा लेजर अनलाइनबाटै प्राप्त हुने हो भने काराबारीले आफूले बेचेको शेयरबापत कति कर, कमिशन तथा अन्य शुल्क बुझाउनु परेको रहेछ भनेर तुरुन्त थाहा पाउँछ भने किनिएको शेयरमा पनि केकस्ता शुल्क तथा कमिशन केकति तिरेको रहेछ भन्ने कुरा अनलाइनबाटै थाहा हुन्छ । यस्तो विवरण कहीँ कतै पेश गर्नुपर्ने भएमा तुरुन्त डाउनलोड गरेर बुझाउन पनि सजिलो हुन्छ ।

शेयर दलालहरूले आफ्ना ग्राहकले किनेको धितोपत्रबापतको खुद खरीद मूल्य टिप्लस १ वा भोलिसम्म भुक्तानी दिनु भनी एसएमएस पठाउँछन् तर ग्राहकले विक्री गरेको शेयरको खुद भुक्तानी पाउनुपर्ने रकम कति हो र कहिलेसम्म त्यो रकम ग्राहकले पाउने त्यो कुरा एसएमएसमा लेख्दैनन् । कारोबारको सूचना वा जानकारी दिनुपर्ने नियम धतोपत्र कारोबार राफसाफ तथा फछ्र्योट विनियमावली, २०६९ ले गरेको छ । तर, त्यसको कार्यान्वयन पक्ष फितलो छ । ग्राहकले पाउनुपर्ने सूचनाको हक दलाललाई तिर्नुपर्ने रकममा मात्र हुने तर ग्राहकले पाउनुपर्ने रकममा चाहिँ हुनु पर्दैन र ? शेयर दलालहरू ग्राहकसँग पैसा लिन निकै चनाखो रहन्छन्, कारोबार भएको भोलिपल्टै देखि फोन गरेर नपाएसम्म ताकेता गरिरहन्छन् तर ग्राहकलाई शेयर विक्री गरेबापतको पैसा दिन वा हिसाब दिन भने ग्राहकले ताकेदा नगरेसम्म वास्तै गर्दैनन् । कुनै कारणवश ग्राहकको बैंक खाता नमिलेमा वा कुनै त्रुटि भएर रकम ट्रान्सफर फेल नभएमा ग्राहकलाई फोन गरेर सोध्दैनन् । यदि ग्राहकले शेयर दलाललाई फोन गर्नुपरेमा र फोनबाटै यस्ता समस्याका समाधान गर्नु भनेको निकै ठूलो युद्ध जिते जस्तो महसूस गर्नुपर्ने अवस्था छ ।

दोस्रो बजारको विकास र विस्तार गर्न सम्बद्ध निकायहरू, सरोकारवाला पक्षहरूले यसभित्र भएका यस्ता ससाना व्यावहारिक समस्यादेखि लिएर प्रविधिगत तथा नीतिगत व्यवस्थालाई समेत सरलीकृत गर्दै लग्नुपर्छ । हाल भइरहेको कारोबार, राफसाफ तथा फछ्र्योटको कार्य एकीकृत प्राणालीबाट स्वचालित ढंगले भएमात्र शेयर कारोबारमा हुने मानवीय त्रुटिलाई न्यून गर्न सकिन्छ । शेयर दलाल र ग्राहकबीचको सम्बन्धमा सरल, सहज र प्रभावकारी सूचना आदानप्रदान हुने व्यवस्थालाई बढवा दिनु अपरिहार्य देखिन्छ ।

लेखक नागरिक लगानी कोषमा आबद्ध छन् ।

प्रतिक्रिया [2]
User Image

निरमान शाकय

[Feb 18, 2021 02:01am]

अनलाईन कारोबारमा आबद्ध लगानीकर्ताहरुले सामना गर्न परिरहेको समस्यालाई लिएर लेख्नु भएकोमा धन्यवाद। लगानीकर्ताहरुले हरेक कारोबारमा तिरेको पूंजीगत लाभकर सरकारी कोषमा जम्मा हुने गरेको छ भन्ने सुनिश्चित गर्न पनि यो समस्यालाई छिटो सल्टाउनु पर्छ। किनभने लगानीकर्ताहरुलाई सबै विवरण नदिने हो भने यसमा पछि अनियमितता नहोला भन्न सकिन्न। त्यसैले सम्बन्धित नियामक निकायले धितोपत्र कारोबार पछि कम्तीमा लगानीकर्ताहरुलाई पठाईने सन्देश मै भएपनि कति लाभकर, दलाल कमिशन, अन्य शुल्कहरु लाग्ने हो खुलाई पठाउने व्यवस्था अनिवार्य गर्न सके दलाललाई पनि यसको लागि समय धेरै नलाग्ने, लगानीकर्ताहरुलाई पनि तुरुन्तै सबै खर्चको विवरण प्राप्त हुने साथै स्मार्टफोनमा पछि सम्म अभिलेख रहीरहने हुन्छ। लगानीकर्ताहरुले तिरेको कर सरकारी कोषमा दाखिला हुने आधार पनि बलियो भयो।


User Image

Pushkar Silpkar

[Feb 17, 2021 12:08am]

लगानिकर्ता को पिडा ,ब्यथा स्पष्ट तवरले उजागर गर्नु भएकोमा धेरै धेरै धन्यवाद । हिजो कै कुरो हो मैले बेचेको शेयरको पाउनु पर्ने रकम मध्ये रु११०००/जति कम रकम जम्मा भयो ,सम्पर्क गर्यो फोन उठ्दैन । ब्रोकरको नजरमा लगानीकर्ता भनेको सिर्फ कमिसन तिर्नको लागि मात्र रहेछ। प्रत्यक्ष सम्पर्क गरेर आफ्नो समस्या राख्न पनि हामी काठमाडौं देखि धेरै टाढाको बसाई हुन्छ । यस्तो समस्याको समाधान के हो त? कहिले सम्म लगानिकर्ताहरु अन्याय सहेर पिडित भएर बस्ने ?


प्रतिक्रिया दिनुहोस्