फागुन ५, सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करीब रू. १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो ।
निर्माण सामग्री उद्योगमा ‘पायोनियर’ शंकर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ गतेदेखि क्लिंकर उत्पादन गरिरहेको शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए ।
क्लिंकर उत्पादन शुरु भइसकेको र सिमेन्ट पनि परीक्षण उत्पादन थालिएको उनले बताए । परीक्षण उत्पादन भएको केही समयमै गुणस्तर चिह्नका लागि आवेदन दिइने जानकारी दिइएको छ ।
सो उद्योगबाट ओपिसी, पिपीसी र पिएससी सिमेन्ट उत्पादन गरिने उद्योगले जानकारी दिएको छ । प्रविधिमार्फत धेरै काम गर्न सक्ने गरेर उद्योग तयार पारिएको छ ।
उद्योगमा रोबोटिक प्रयोगशाला भएकाले उद्योगमा चुनढुंगा आउनेबित्तिकै त्यसको नमूना परीक्षण स्वचालितरूपमा हुने उद्योगको दाबी छ । सिरहाकै गोलबजार नगरपालिकाको चोहर्वामा मारुती सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्दै आएको छ । रासस