फागुन ५, नयाँदिल्ली । विश्वकै सवैभन्दा ठूलो ई - कमर्स व्यवसायको रुपमा परिचित एमाजन र भारतको सबैभन्दा ठूलो कम्पनी रिलायन्स दुवैले फ्यूचर ग्रूप नामक अर्को कम्पनीसँग छुट्टाछुट्टै सम्झौता गरेपछि विवाद चुलिएको छ ।
अमेरिकी र भारतीय कम्पनीहरू बीच भारतमा व्यापार विस्तारको विषयलाई लिएर उत्पन्न भएको विवादले भविष्यमा भारतमा विद्युतीय व्यवसाय ई -कमर्सको अवस्था विकासलाई निर्धारण गर्न सक्ने सम्वन्धित क्षेत्रका जानकारहरुले बताएका छन् ।
एमाजन कम्पनीका संस्थापक जेफ बेजोसलाई संसारको सबैभन्दा धनी मानिस पनि बनाएको थियो। हाल बेजोस संसारका सबैभन्दा धनी व्यक्ति नभए पनि उनले स्थापना गरेको कम्पनीले संसारमा खुद्रा व्यवसायको स्वरूप नै परिवर्तन गरेको छ ।
केहि वर्षयता एमाजनले भारतमा तीव्र गतिमा व्यापार विस्तार गरिरहेको छ ।त्यहाँको बढ्दो ई - कमर्स बजारबाट फाइदा लिन कम्पनीले प्रयास गरिरहेको छ ।
रिलायन्सले पनि उस्को ई-कमर्स र दैनिक उपभोगका घरेलु सामग्रीको व्यवसाय विस्तार गर्ने योजना बनाएको छ।
फ्यूचर ग्रूपले यो वर्षको आरम्भतिर ३ दशमलव ४ अर्ब डलर बराबरको आफ्नो खुद्रा व्यापारसँग सम्बन्धित सम्पत्तिहरू रिलायन्सलाई बेचेको थियो। फ्यूचर ग्रूपको मातहतमा रहेको फ्यूचर कूपन्समा सन् २०१९ देखि एमाजनको ४९ प्रतिशत हिस्सा रहेको छ।
यसबाट उस्लाई फ्यूचर ग्रूपको अर्को अङ्ग फ्यूचर रिटेलको हिस्सामा अप्रत्यक्ष स्वामित्व हासिल एमाजनले त्यस्तो स्वामित्व खरीद सम्झौताको एक भागअन्तर्गत फ्यूचर ग्रूपले रिलायंससहित केही छानिएका भारतीय कम्पनीहरूलाई त्यस्तो हिस्सा विक्री गर्न पाउँदैन भन्ने तर्क गरेको छ।
फ्यूचर ग्रूपले कोरोना महामारीले नराम्रो असर परेको भन्दै व्यवसायलाई जोगाइराख्न रिलायन्सलाई कम्पनीको हिस्सा विक्री गर्न आवश्यक रहेको बताएको छ।
दुईपक्ष बीचको पछिल्लो कानूनी लडाइँ फ्यूचर ग्रूपको पक्षमा गएको बताइएको छ। गत सोमवार दिल्लीको उच्च अदालतले त्योभन्दा अघिल्लो हप्ता उक्त हिस्सेदारी खरीदविक्रीको प्रक्रियालाई स्थगित गर्न गरेको निर्णयलाई उल्टाइदिएको छ। एमाजनले त्यसका विरुद्ध पुनरावेदन भने गरेको छ। बीबीसी