फागुन ५, लमजुङ । लमजुङको बेंसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ ओटा सडक कालोपत्र सम्पन्न गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि २०६६/७७ सम्ममा नगरभित्रको विभिन्न २९ ओटा शाखा सडक कालोपत्र सम्पन्न गरेको हो ।
नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत लगानीमा नगरभित्रका विभिन्न शाखा सडक कालोपत्र सम्पन्न गरेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।
उनले भने, ‘हामीले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै आएको र तीन वर्षको अवधिमा नगरपालिकाले ३ दशमलव ६६ किलोमिटर सडक कालोपत्र गरेको छ । यतिका सडक कालोपत्र गर्नलाई करीब रू. चार करोड खर्च भएको छ ।’
नगरपालिकाका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा शून्य दशमलव ९९ किलोमिटर सडक अर्थात सात सडक कालोपत्र सम्पन्न भएको थियो । त्यस्तै आव २०७५/७६ मा १ दशमलव ४७ किलोमिटर अर्थात् १४ सडक र आव २०७४/७५ मा १ दशमलव ५ किलोमिटर अर्थात् आठ सडक कालोपत्र सम्पन्न भएको थियो ।
कालोपत्र सम्पन्न गरेकामध्ये आव २०७६/७७ मा रू. ४३ लाख ९७ हजार ८६१ आव २०७५/७६ मा रू. एक करोड ६३ लाख ८३ हजार ३१४ र आव २०७४/७५ मा रू. एक करोड ५० लाख खर्च भएको नगरपालिकाले जनाएको छ । स्थानीय तहको निर्वाचनपछि बेँसीशहर बजारका शाखा सडक ६०/४० को लागत साझेदारीमा कालोपत्र गरिएका हुन् ।
सडक विस्तार तथा कालोपत्र हुन बाँकी सडकको समेत काम हुने प्रक्रियामा रहेका छन् । केही सडकको निर्माण कार्य अघि बढिरहेको छ । नगरपालिकाले यस चालू आवमा नगरको विभिन्न स्थानका पाँच सडक कालोपत्र गर्न लागेको छ ।
यसका लागि चालू आवमा नगरपालिकाले रू. ५४ लाख ९८ हजार ३६९ विनियोजित गरेको छ । नगरपालिकाले नगरभित्रका सबै गाउँमा सडक सञ्जालले जोड्न लागेको छ । रासस