ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सम्पत्ति शुद्धीकरण निवारणको आवश्यकता

२०७७ फागुन, ६  
लेख | दृष्टिकोण
Image Not Found

गैरकानूनी रूपमा आर्जित आय वा कालो धनलाई धोइपखाली शुद्ध बनाउने कार्य तथा प्रक्रियालाई सम्पत्ति शुद्धीकरण भनिन्छ । सामान्य नेपाली बोलचालको भाषामा कालो धनलाई सेतो बनाउने कार्य नै सम्पत्ति शुद्धीकरण हो । विश्वभरि यसै कार्यलाई नै सम्पत्ति शुद्धीकरणको अपराधका रूपमा परिभाषा गरी यसलाई नियन्त्रण गर्ने कार्य वा प्रयास गरिएको छ । सम्पत्ति शुद्धीकरणमा सम्पत्तिको गैर कानूनी स्रोत लुकाउने वा छल्ने कार्य तथा प्रक्रिया हो । सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निःसर्ग, स्वामित्व वा सो सम्पत्तिउपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने कार्य अर्थात् सम्पत्ति शुद्धीकरणलाई एक मूलभूत अपराध मानिन्छ । गैरकानूनी कार्य गरी आर्जन गरेका सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, बदल्ने वा कारोबार छल्ने कार्य तथा प्रक्रियालाई सम्पत्ति शुद्धीकरणका भने गरिन्छ । सम्पत्ति शुद्धीकरणले सामान्यतया कानूनगत निषेधित उपायहरू अवलम्बन गरी कमाएको कुनै पनि आम्दानीलाई विभिन्न बहनामा सम्पत्तिमा बदलेर चोख्याउने वा शुद्ध पार्ने वा कानूनी रूपमा योग्य बनाउँछ । सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा गरिने लगानीलाई अन्तरराष्ट्रिय रूपमा नै सँगसगै राखेर हेर्ने र नियन्त्रण गर्ने प्रयास भइरहेको छन् । सम्पत्ति शुद्धीकरण अपराध विकसित, विकासशील तथा अल्पविकसित सबै ठूला साना राष्ट्रिय सीमाहरू नाघेर अन्तरराष्ट्रिय अपराधका रूपमा चिनिने गम्भीर फौजदारी अपराध र आतंकवादलाई समेत सघाउने अपराधका रूपमा उपस्थित भएको छ । सम्पत्ति शुद्धीकरणको चुनौतीको सामना गर्न अहिले विश्वव्यापी ऐक्यबद्धता, प्रतिबद्धता र अन्तरराष्ट्रिय कानूनी संयन्त्रको पनि निर्माण भइरहेको छ । सम्पत्ति शुद्धीकरण अपराधमा संलग्न हुने अपराधीहरूमा कतिपय निजीक्षेत्रका व्यक्तिहरू, लागू पदार्थका व्यापारीहरू, भ्रष्ट कर्मचारीहरू, आपराधिक संगठनका सदस्यहरू (माफिया) र राज्यसमेत रहने गरेका छन् । आतंककारी गतिविधिमा गरिने लगानीसम्बन्धी अपराधलाई सम्पत्ति शुद्धीकरणसँग सँगै राखेर नियन्त्रण गर्ने प्रयाश गरिए पनि सम्पत्ति शुद्धीकरणका लागि आवश्यक सम्बद्ध अपराधबाट आम्दानी गर्ने र त्यसरी अपराध गरी कमाएको धनलाई चोख्याउने किसिमको कार्य तथा व्यवहार आतंककारी गतिविधिमा गरिने लगानी सम्बन्धी अपराधमा हुँदैन । त्यसैले सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा गरिने लगानीसम्बन्धी अपराधको परिभाषा तथा यसले समेटने क्षेत्रहरूका बारेमा विभिन्न अन्तरराष्ट्रिय तथा क्षेत्रीय संयन्त्रहरूले समेत स्पष्ट पारेको छ ।

सम्पत्ति शुद्धीकरण ज्यादै गम्भीर र बहुचक्रीय प्रक्रिय अवलम्बन गरी गरिने वित्तीय अपराध हो । शुद्धीकरणकर्ताले यो अपराध गर्न विभिन्न बुद्धिमत्तापूर्ण तरीकाहरू अवलम्बन गर्छन् । सम्पत्ति शुद्धीकरणका प्रक्रिया तथा तरीका पहिचानका लागि विशिष्ट ज्ञान तथा शीपको जरुरत पर्छ । सम्पत्ति शुद्धीकरणपूर्व कुनै अपराध गरिएको हुन्छ । उक्त अपराधपश्चात् कुनै रकम तथा सम्पत्ति आर्जन गरिन्छ । त्यसरी गैरकानूनी क्रियाकलाप अर्थात् अपराधजन्य क्रियाकलापबाट आर्जित धन सम्पत्तिलाई लुकाउने, छिपाउने, स्वरूप बदल्ने अभिप्रायले त्यस्तो धन सम्पत्ति कहाँ राख्ने, थन्क्याउने जम्मा गर्ने जस्ता इन्तजामका कार्यहरू गरिन्छ । गैरकानूनी रूपमा सृजित र संकलित रकमलाई गहन रूपमा धुल्याउने हिसाबले विभिन्न व्यवसाय गरिन्छ । कुनै व्यापार व्यवसाय वा उद्योगमा लगानी गर्ने, शेयर तथा ऋण लगानी गर्ने, विभिन्न बैंकहरूमा स्थानान्तरण गर्नेजस्ता कार्यहरू सम्पादन गरिन्छ । यसरी अशुद्ध आर्जनलाई शुद्ध बनाइसकेपछि वैधानिक रूपमा एकीकरण गर्ने, विविध क्षेत्रमा उपयोग गर्ने र ऊर्जाशील सम्पत्तिमा रूपान्तरण गर्ने कार्यहरू सम्पन्न गरिन्छ ।

नेपाल सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०६६ ल्याएको छ । त्यस्तै नेपाल राष्ट्र बैंकलगायत संस्थाहरूले सम्पत्ति शुद्धीकरणको निर्देशनलगायत नीति तर्जुमा गरी लागू गरिएका छन् । यी नीतिगत तथा कानूनी प्रावधानहरू कार्यान्वयन गर्न गराउन तथा सम्पत्ति शुद्धीकरण एवम् आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुरको अनुसन्धान गर्न नेपाल सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग गठन गरेको छ । वित्तीय अपराधको सूचना व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकमा रहने गरी एक वित्तीय जानकारी एकाइको गठन गरिएको छ । सम्पत्ति शुद्धीकरणसँग सामान्यत संलग्न खतरनाक अपराधका रूपमा आज आतंककारी कार्यका लागि वित्तीय लगानी रहन गएको छ । सम्पत्ति शुद्धीकरणको मुख्य उद्देश्य अपराधजन्य कालो सम्पत्तिलाई सेतो बनाई खुला बजारमा सम्प्रेषण गर्नु हो, वित्तीय लगानीको मुख्य अभीष्ट वैध वा अवैध जस्तोसुकै स्रोतबाट प्राप्त सम्पत्तिलाई आतंककारी क्रियाकलापमा प्रयोग गर्नु । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी (मनी लाउन्डरिङ) निवारण ऐनमा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्न नहुने भनी उल्लेख गरिएको छ । यसमा कुनै व्यक्तिले आतङ्ककारी कार्यमा वा आतङ्ककारी व्यक्ति वा आतङ्ककारी सङ्गठनले पूर्ण वा आंशिक रूपमा प्रयोग गर्ने वा गर्न सक्ने कुरा थाहा पाउँदापाउँदै गैरकानूनी मनसायले स्वेच्छापूर्वक कुनै पनि माध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्पत्ति वा कोष उपलब्ध गराउन वा सङ्कलन गर्नु हुँदैन ।

कालो धनको चलखेलबाट राष्ट्रिय एवम् स्वाधीन अर्थतन्त्रको निर्माणमा बाधा उत्पन्न हुन्छ । बैंकिङ तथा वित्तीय संस्थाहरू सम्पत्ति शुद्धीकरणकर्ताको कब्जामा परेमा तिनको सुसञ्चालनमा अवरोध सृजना हुन जान्छ । गैरकानूनी एवम् आपराधिक ढंगबाट आर्जित आयलाई रोक्न र त्यस्तो आयबाट सम्पत्ति जोड्ने कार्यलाई कानूनी कारबाहीको दायरामा ल्याई दण्डित गर्न एवम् भविष्यमा त्यस्तो क्रियाकलाप हुन नदिई सम्पत्ति शुद्धीकरण निवारण गर्नुपर्छ । सम्पत्ति शुद्धीकरण राष्ट्रिय, क्षेत्रीय एवम् अन्तरराष्ट्रिय सञ्जालबाट सञ्चालित हुने अपराध भएकाले यसले देशको समग्र सामाजिक, आर्थिक एवम् राजनीतिक परिदृश्यलाई नै प्रत्यक्ष असर पार्ने र राष्ट्रको छवि पनि धूमिल पार्ने भएकाले यसको निवारणमा स्पष्ट सोच र पहल हुन जरुरी छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्