ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चिकित्सकको नयाँ परामर्श शुल्क सार्वजनिक

अनुभवको आधारमा न्यूनतम रू. ३७० देखि ८२५ सम्म निर्धारण

२०७७ फागुन, ६  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युशन नेपाल (अफिन)ले चिकित्सकहरूको नयाँ परामर्श शुल्क सार्वजनिक गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माघ ४ गते भएको सम्झौताबमोजिम परामर्श शुल्क कार्यान्वयनमा नआएको भन्दै संघ र अफिनले मंगलवार भएको बैठकको निर्णय अनुसार फागुन ४ गतेदेखि नै लागू हुनेगरी नयाँ शुल्क तय गरेका हुन् ।

उक्त संगठनहरूद्वारा बुधवार जारी गरिएको विज्ञप्तिअनुसार मेडिकल शिक्षामा डिप्लोमा गरेर ५ वर्षको अनुभव भएका चिकित्सकको ५१५ र सोभन्दा बढीको अनुभवी चिकित्सकको परामर्श शुल्क ५९० रुपैयाँ तोकिएको छ । साथै एमबीबीएस र बीडीएस ५ वर्ष अनुभव भएकाले ३७० र सोभन्दा बढी अनुभव भएका चिकित्सकको परामर्श शुल्क ४५० रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी डीएम र एमसीएच गरेर पाँच वर्षभन्दा बढीको अनुभव तथा एमडी, एमएस, एमएस गरी कम्तीमा १० वर्षको अनुभव भएका चिकित्सकले अब बिरामीबाट परामर्श शुल्क ८२५ रुपैयाँ लिन पाउनेछन् । डीएम र एमसीएच गरेर ५ वर्षको अनुभवी चिकित्सकको परामर्श शुल्क ७७० रुपैयाँ रहेको छ । यसैगरी एमडी, एमएस र एमडीएस गरी ५ वर्षको अनुभव भएका चिकित्सकको ६६० र ५ वर्षभन्दा माथि ९ वर्षको अनुभवी चिकित्सकको परामर्श शुल्क ७०० रुपैयाँ निर्धारण गरिएको छ ।

विज्ञप्तिमा नेपाल सरकारको २०५९ मङ्सिर २४ को निर्णय अनुसार स्तरीय नर्सिङ होम तथा अस्पतालहरूले उल्लिखित सबै शुल्कमा २० प्रतिशतसम्म थप शुल्क लिन पाउने उल्लेख छ ।

उक्त परामर्श शुल्क राष्ट्र बैंकको मुद्रास्फीति दर तथा परामर्श समितिले सिफारिश गरेको शुल्कलाई नै आधार मानेर निर्धारण गरिएको दाबी गरिएको छ । साथै निजीक्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थामा मासिक रूपमा नियुक्ति लिई सेवा पुर्‍याउने मेडिकल अफिसरहरूको पारिश्रमिक न्यूनतम रू. ४२ हजार कायम हुनेगरी कार्यान्वयन गर्न सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई सूचित गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्