ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

माथिल्लो चाकुखोला ‘ए’आयोजनाबाट परीक्षण उत्पादन हुँदै

२०७७ फागुन, ६  
वाग्मती प्रदेश
NA

सिन्धुपाल्चोक (अस) । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, फुल्पिङकट्टीमा निर्मित माथिल्लो चाकुखोला ‘ए’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थाल्ने भएको छ । २२ दशमलव २ मेगावाट क्षमताको उक्त आयोजनाको शतप्रतिशत काम सकिएर परीक्षण उत्पादनको तयारी भइरहेको प्रवद्र्धक शिवश्री हाइड्रोपावर कम्पनीका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए ।

‘आयोजनाको सम्पूर्ण काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘अबको दुई–तीन दिनभित्रै राष्ट्रिय प्रसारण लाइनमा जोडेर परीक्षण तथा नियमित उत्पादन थाल्नेछौं ।’ आयोजनाको आन्तरिक प्राविधिकबाट सम्पूर्ण परीक्षण सफल भइसकेकाले नेपाल विद्युत् प्राधिकरणको प्रतिनिधिसहित अन्तिम परीक्षणको तयारी भएको छ ।

२०७५ साल साउनमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शुरू गरिएको आयोजनाको काम २ वर्षभन्दा बढी ढिला भइसकेको छ । ‘हामीले जुरे पहिरो, भूकम्प र भोटेकोशी बाढीको समेत सामना गर्नुप¥यो,’ अध्यक्ष पौडेलले भने, ‘जसकारण समयमै निर्माण सामग्री आयोजना स्थलमा पु¥याउन सकेनौं र आयोजना केही समय ढिला हुन पुग्यो ।’ पटक–पटकको विपत्तिका कारण अरनिको राजमार्ग क्षतिग्रस्त हुँदा सामग्री ढुवानीमा बाधा परेकाले आयोजनामा ढिलाइ उनले बताए ।

आयोजनाको सबै काम सम्पन्न गरेर परीक्षणको तयारी गरिरहेकै बेला २०७६ असार २१ गते राति मार्मिङ खोलामा बाढी आउँदा आयोजनाको मुहानस्थलमा ठूलो क्षति पुगेको थियो । उक्त बाढीका कारण आयोजनामा कार्यरत दुई कर्मचारी समेत बेपत्ता भएका थिए भने दुईजना गम्भीर घाइते भएका थिए । घटनामा बेपत्ता भएका आयोजनाका एक इन्जिनियर र अर्का एक इलेक्ट्रिसियनको अवस्था अझै अज्ञात छ । त्यस्तै २०७५ चैत १० गते सोही आयोजनाको बाँधस्थलको कर्मचारी आवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा चार कर्मचारीको ज्यान गएको थियो । यी कारणले पनि निर्माण समय र लागत बढेको आयोजनाले बताएको छ ।

आयोजनाले २०७५ पुसमा आयोजना प्रभावित स्थानीयका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर जारी गरेको थियो भने आयोजनाको कर्मचारी र सर्वसाधारणका लागि २० लाख २३ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्