ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बिस्कुटको अवैध आयात : नेपाली उद्योगको उत्पादन ५० प्रतिशत कटौती

२०७७ फागुन, ६  
समाचार
Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गर्न बाध्य भएका छन् ।

कोरोनाको कारण सीमानाका पूर्णरूपमा बन्द हुँदा बिस्कुट उद्योगहरूले क्षमताको शतप्रतिशत उत्पादन गरेका थिए । तर, नाका खुल्नासाथ अवैध रूपमा बिस्कुट भित्रिन थालेपछि उत्पादन ५० प्रतिशत घटाउन बाध्य भएको उद्योगीहरूले बताएका छन् ।

पाँच वर्ष अघिसम्म नेपालभरि ३५ ओटा बिस्कुट उद्योगहरू सञ्चालनमा थिए । तर, भारतबाटै चिनी र मैदा ल्याएर नेपालमा बिस्कुट उत्पादन गरी भारतीय उत्पादनसँग नै बजारमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताका कारण २१ उद्योग बन्द भएका छन् ।

सरकारले बिस्कुट उद्योगमा प्रयोग हुने मैदा र चिनीलाई कच्चा पदार्थ मानेर भन्सार छूट नदिँदा सञ्चालनमा रहेका १४ उद्योगको अवस्था पनि कमजोर रहेको नेपाल बिस्कुट उत्पादक संघका उपाध्यक्ष तथा गुडलाइफ बिस्कुटका सञ्चालक महेश जाजूले बताए ।

जाजूका अनुसार बन्दाबन्दीको समयमा नेपाली उत्पादनले स्वदेशी बजारमा नै राम्रो खपत पाएको थियो । त्यो बेलामा माग बढी भएको कारण उद्योगहरूले नयाँ प्लान्ट थप्नुपर्ने अवस्था आए पनि अहिले भारतीय बिस्कुट भन्सार छलेर आइरहेकाले नेपाली बिस्कुटको खपत ५० प्रतिशत घटेको छ । जसको कारण उद्योगको उत्पादन पनि ५० प्रतिशतमा खुम्चिएको छ ।

जाजू भन्छन्, ‘नेपाली बिस्कुट उद्योगलाई जोगाउन सरकारले उद्योगले ल्याउने चिनीमा २० प्रतिशत भन्सार र मैदामा पनि त्यही अनुसारको छूट दिनुपर्छ ।’ आफूहरूले उद्योग सचिव र प्रदेश सरकारको समेत ध्यानाकर्षण गराए पनि बिस्कुटको अवैध आयात नरोकिएको उनले बताए ।

क्वालिटी बिस्कुटका सञ्चालक एवम् बिस्कुट उत्पादक संघका केन्द्रीय सदस्य नवलकिशोर कावरा भारतबाट अवैध बाटो भएर आउने बिस्कुट रोक्नुपर्ने र नेपाली बिस्कुट उद्योगहरूले ल्याउने चिनी र मैदालाई कच्चा पदार्थ घोषणा गरेर त्यहीअनुसारको भन्सार शुल्क तोक्नुपर्ने बताउँछन् ।

कावराले सरकारले नेपाली बिस्कुट उद्योगहरूको संरक्षणमा ध्यान नपुर्‍याउँदा राष्ट्रिय उत्पादनमा योगदान र हजारौंलाई रोजगारी दिँदै आएका उद्योगहरू बन्द हुने अवस्था आएको बताए ।

पाँच वर्ष अघिसम्म नेपालमा ३५ ओटा बिस्कुट उद्योग सञ्चालनमा हुँदा नेपाल बिस्कुटमा आत्मनिर्भर हुने अवस्था आइसकेको थियो । तर, यो अवधिमा २१ बिस्कुट उद्योग बन्द भइसकेकाले बिस्कुटमा परनिर्भरता बढ्न थालेको छ । चलेका केही उद्योगहरू पनि रुग्ण अवस्थामा रहेका नेपाल बिस्कुट उत्पादक संघ केन्द्रीय कार्यालयका सचिव अजय पराजुलीले बताए ।

नेपालमा भारतमा उत्पादित बिस्कुटकै गुणस्तरमा बिस्कुटहरू उत्पादन हुँदै आएका छन् । तर, भन्सार तिरेर नभई चोरीको बाटोबाट भारतीय बिस्कुटहरू पार्लेजी, गुडडे, हग्याप्पी ह्याप्पी, टफ लाइफजस्ता ब्रान्डका बिस्कुटहरू नेपाल भित्रिरहेका छन् । नेपाली बजारमा ती ब्रान्डका जति बिस्कुट भेटिन्छन् भन्सारको ग्रीन च्यानलबाट न्यूनमात्र आयात हुने गरेका छन् ।

नेपाली बजारमा चर्चित ब्रान्ड बनिसकेका धेरै बिस्कुट उद्योगहरू अहिले बन्द भएका छन् । मयुर बिस्कुट, चौतारी बिस्कुट, बबी बिस्कुट, सनसाइन बिस्कुट आदि अहिले बजारमा भेटिँदैनन् ।

केही समयअघि ती उद्योग भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण बन्द भएको बिस्कुट बजारीकरणको क्षेत्रमा काम गर्दै आएका छत्र बिष्टले जानकारी दिए । विराटनगर भन्सार कार्यालयका प्रवक्ता सन्तोष यादवले नियन्त्रणको प्रयास भइरहेको भए पनि खुला सिमाना नियन्त्रण गर्न भन्सारले मात्रै नसक्ने भएकाले सुरक्षा निकायसँग समन्वय गरेर अवैध पैठारी रोक्ने प्रयास भइरहेको बताए ।

१८ सय किलोमीटर सिमाना खुला रहेकाले पूर्णरूपमा नियन्त्रणमा लिन समेत कठिन हुने उनले बताए । ग्रीन च्यानलबाट समेत बिस्कुट आइरहेको उनले खुलाए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले स्थानीय प्रशासनसँग समन्वय गरेर चोरीपैठारीलाई नियन्त्रणका लागि आफूले पहल थाल्ने बताए । उनले बिस्कुटमा मात्रै नभएर अन्य वस्तुको आयातसमेत अवैध रूपमा नाका खुलेपछि बढेको गुनासो आएको उल्लेख गर्दै बिस्कुट उद्योगहरूले प्रयोग गर्ने चिनी र मैदालाई कच्चा पदार्थका रूपमा भन्सार शुल्क तोक्ने विषय सरकारको आर्थिक नीतिमा नै समावेश गर्नुपर्ने भएकाले आफूले त्यस विषयमा छलफल गर्ने बताए ।

बिस्कुट उद्योगहरू बन्द हुँदा यस अवधिमा ठूलो संख्यामा रोजगारी पनि गुमेको छ । एउटा बिस्कुट उद्योगमा न्यूनतम २०० देखि ४०० जनासम्म उत्पादनमा प्रत्यक्ष जोडिएका कामदारहरू हुन्छन् भने बजारीकरणको क्षेत्रमा त्यतिकै संख्यामा प्रत्यक्ष रोजगार पाउने कर्मचारीहरू हुन्छन् । ५ वर्षको अवधिमा बन्द भएका बिस्कुट उद्योगबाट मात्र झन्डै १५ हजारले रोजगारी गुमाएको अनुमान छ ।

भएका उद्योगहरू बन्द हुँदै जाने र तस्करी भएर पैठारी भएका विदेशी उत्पादनले बजार ओगट्ने अवस्थाले नेपाली आर्थिक क्षेत्रमा पनि नकारात्मक असर परेकोमा बिस्कुट उत्पादक संघले चिन्ता व्यक्त गरेको संघले अनधिकृत पैठारी रोक्न माग गर्दै ध्यानाकर्षणसमेत गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्