नेपालगञ्ज । बर्दियाको बढैयाताललाई पर्यटकीय स्थलका रूपमा विस्तार गर्ने उद्देश्यले हाल धमाधम काम भइरहेको छ । यो ताललाई सरकारले पर्यटकीय गन्तव्यको रूपमा समेत सूचीकृत गरेको छ ।
बढैयाताल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीले पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना अगाडि बढाएका छन् । तालक्षेत्रमा पिकनिक रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, भ्यूटावर निर्माण भइसकेका छन् भने थप संरचना निर्माणको काम पनि योजनामा परेको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए ।
विभिन्न प्रजातिका माछा, कमलको फूल, घाँसेमैदान, चराचुरुंगीको वासस्थानले ताललाई थप आकर्षक तथा रमणीय बनाएको छ । साथै ताल क्षेत्रमा अरेबियन सागरबाट चराहरू आउने भएकाले यसको आकर्षण अझै बढेको छ ।
केही वर्ष अघिसम्म तालमा ठेक्कामा माछापालन हुँदै आएको थियो । माछापालनले गर्दा तालको विकास पछि पर्दै गएको थियो । गाउँपालिकामा जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि अहिले तालको विकासले फड्को मारेको देखेर स्थानीयवासी पनि उत्साहित भएका छन् ।
यो ताल गाउँपालिका–५ र ४ का बीचमा रहेको छ । ताल क्षेत्रमा थारू समुदायको बाक्लो बस्ती छ । थारू समुदायको पहिचानसँगै बढैयातालको इतिहास पनि जोडिएको छ । बढैयातालको विकाससँगै तालमा थारू संग्रहालय बनाउने योजनाले स्थानीयवासीको चासो झन् बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यसैगरी नेपालगञ्जको ऐतिहासिक रानीतलाउ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । डेढ दशकअघि सम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज–८ स्थित प्रसिद्ध ऐतिहासिक रानी तलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनर्निर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेहरूको संख्या बढ्दै गएको छ । स्थानीय तह गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीय रूपमा विकसित गर्दै लगिएको नगरप्रमुख धवलशम्शेर राणाले बताए । उपमहानगरपालिकाको करीब २५ लाख लागतमा पुनर्निर्माण गरिएको पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिकसमेत आउने गरेको उनको भनाइ छ । रासस