फागुन ६, काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी ईक्वीटी फण्डको ८ करोड इकाई आवेदन खुल्ने भएको छ । कोषले बन्दमुखी योजनामा लगानी गर्ने लगानीकर्ताहरुका लागि फागुन १४ गतेदेखि प्रति इकाई मूल्य रु. १० दरको ८ करोड इकाईमा आवेदन खुल्ला गर्न लागेको हो ।
जसमध्ये न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धन कुमारी बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ६ करोड ८० लाख इकाई सर्वजनिक रुपमा विक्री गरिने कोषले जनाएको छ ।
आवेदन दिनुपर्ने न्यूनतम इकाई १०० रहेको छ भने अधिकतम इकाई ८० लाख रहेको छ । इकाई बिक्री बन्द फागुन १८ गते हुनेछ । तर, माग अनुरुम आवेदन नपरेमा फागुन २८ गतेसम्म आवेदन खुल्ला रहने छ । उक्त इकाई निष्कासन तथा विक्री प्रवन्धक तथा व्यवस्थापकमा कुमारी क्यापिटल रहेको छ ।
यो योजना बन्दमुखी योजना हो । योजना इकाई बाँडफाँड भएको मितिले १० वर्षमा परिपक्क हुनेछ । यो अवधिपश्चात योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई समानुपातिक हिसाबले प्रचलित कानून बमोजिम वितरण गरिनेछ ।