फागुन ६, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले सूचीकृत कम्पनीहरुको वित्तीय विवरण सार्वजनिकका लागि कडा व्यवस्था लागू गरेको छ । बोर्डले कम्पनीहरुको प्रमुख वित्तीय परिसूचकहरु अनिवार्य आफ्नो वेबसाइटमा राख्न निर्देशन दिएको हो ।
कम्तीमा पछिल्लो पाँच आर्थिक वर्षको संस्थाको पूँजी, वार्षिक आम्दानी खर्च, जगेडा कोष, प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रतिशेयर नेटवर्थ र लाभांश लगाएत महत्वपूर्ण परिसूचकहरुको विवरण चार्ट सहितको प्रोफाइल बनाई वेबसाइटमा राख्न बोर्डले निर्देशन दिएको हो ।
धितोपत्रमा लगानी गर्नका लागि सूचना अति आवश्यक हुने भएकाले सूचीकृत कम्पनीहरुल नेप्सेमा पेश गरेका वार्षिक प्रतिवेदन लगायतका विवरण अनिवार्य नेप्सेले पनि अनिवार्य आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था बोर्डले गरेको छ । नेप्सेले उक्त विवरण समयमै प्राप्त गरी कम्तीमा पाँच वर्षसम्म आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था समेत बोर्डले गरेको हो ।
बोर्डले सूचीकृत कम्पनीहरुले उल्लेखित वित्तीय विवरणहरु आफ्नो वेवसाइटमा राखे नराखेको एकिन गर्न भने नेप्सेलाई जिम्मेवारी दिएको छ । बोर्डले फागुन मसान्तदेखि यो व्यवस्था कार्यन्वयन गरे नगरेको अनुगमन गर्ने जानकारी दिएको छ ।
निर्देशन पालना नगरेको पाईएमा धितोपत्र सम्बन्धि ऐन, २०६३ को दफा १०१ बमोजिम कारबाही तथा दण्ड जरिवाना गर्ने समेत बोर्डले प्रष्ट पारेको छ ।
बोर्डले सूचीकृत कम्पनीहरुको वित्तीय प्रतिवेदनहरु सार्वजनिकका विषयमा कडाई गर्दै आएको छ । यसअघि पनि वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण बोर्ड तथा नेप्सेलाई समयमै उपलब्ध नगराएको भन्दै बोर्डको निर्देशनमा १३ कम्पनीको शेयर कारोबार रोक्का गरिएको थियो ।
सूचीकृत संगठित संस्थाहरुले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिनाभित्र बोर्ड र नेप्सेलाई वार्षिक प्रतिवेदन उपलब्ध गराईसक्नु पर्नेछ ।